निरज जिम्बाको महत्वाकांक्षा बाहिरियो : बाहिरियो क्रामाकपा र जिएसएसएस पनि

सिलगढी, 27 अप्रेल


लोकसभाको दलीय एकतालाई विधानसभा उपचुनाउले भत्काइदियो। विमलपन्थी मोर्चा र गोरामुमोको तार्गेट हो-निरज जिम्बामार्फत बङ्गालको विधानसभामा पहाडको पक्षबाट  भाजपाको खाता खोल्ने। यसैले भाजपाको उम्मेदवारकोरूपमा जिम्बाको नाम भाजपा हेडक्वार्टरमा पठाइएको छ।

यता जिम्बाको नाम भाजपाको उम्मेदवारकोरूपमा आएलगत्तै लोकसभा चुनाउमा सहमति दिने दल र सङ्गठनहरू ‘दलीय एकता’-बाट बाहिरिन शुरु भएको छ।

यसै त गोरामुमो र गोजमुमो विमल खेमाको निर्णय भाजपलाई ‘खुस’ पार्नेलगायत लामो कुटनीतिको एउटा हिस्साकोरूपमा देखापरेको छ। यद्धपि, पहाडका अधिकांश दल र सङ्गठनहरू विधानसभामा क्षेत्रीय दलबाट नै उम्मेदवार गएको चाहन्छन्। लोकसभाकोलागि पहाडको सबै विपक्षका दलले भाजपालाई समर्थन जनायो। तर विधानसभामा निरज जिम्बाको नाम आउने वित्तिकै सबैभन्दा पहिले क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले साथ छोड्यो।

क्रामाकपा चुनाउ कमिटीका संयोजक किशोर प्रधानअनुसार क्रामाकपा क्षेत्रीय राजनीतिका लागि क्षेत्रीय पार्टीकै प्रतिनिधित्व हुनुपर्छ भन्ने अड़ानमा छ। क्रामाकपाले यो अड़ान अन्य दलहरूमा पनि राखिसकेको छ। क्रामाकपाको अडान पछिल्तिर ‘यदि क्षेत्रीय राजनीति राष्ट्रिय पार्टीको हातमा गए क्षेत्रीय मुद्दाहरू गौण बनिन्छ’ भन्ने मत छ।

क्रामाकपाको कुरा मान्नु हो भने निरज जिम्बाको महत्वाकांक्षा विधानसभा उपचुनाउमा नै बाहिरियो। किन भने क्रामाकपालाई गोरामुमोले झुक्यायो। गोरामुमोको अजय एडवर्डले दार्जीलिङमा सर्वदलीय बैठकमा बोलाए। बैठकमा एडवर्ड र जिम्बा गायब थिए। किन गायब थिए?

स्पष्ट छ, जिम्बालाई भाजपाको उम्मेदवार बनाउने गोरामुमोले कुटनीति बुन्न नै उनीहरू गायब थिए। प्रधानको कुरा स्पष्ट छ, निरज जिम्बालाई क्रामाकपाको समर्थन छैन। क्रामाकपाले छिट्टै पार्टीको अडान अघि ल्याउनेछ।

यता गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले पनि जिम्बालाई समर्थन नरहेको कुरा खुलायो। जीएसएसएसका अध्यक्ष किरण बिकेअनुसार विधानसभा भनेको क्षेत्रीय मुद्दाहरू उठाउन गर्नुपर्ने ठाउँ हो। यसैले यसमा क्षेत्रीय पार्टीकै प्रतिनिधि हुनुपर्छ। राष्ट्रिय पार्टीले पहाडको क्षेत्रीय मुद्दाहरूलाई बोक्न सक्दैन।

“हाम्रो विरोध नीरज जिम्बालाई लिएर होइन, तर भाजपाको टिकटमा उनी उम्मेदवार भएकोले हो। किनभने दार्जीलिङको विधानसभाबाट भाजपालाई नै उम्मेदवार बनाएर पठाउँदा हाम्रा क्षेत्रीय मुद्दाहरू सम्बोधन हुनेछैन’, जीएसएसएस अध्यक्षले थपे “भाजपाले भाजपाकै राष्ट्रिय मुद्दाहरूलाई बोक्नेछ। दार्जीलिङको विधानसभा चुनाउमा क्षेत्रीय पार्टीहरूले एकमतमा आएर आफ्नै दममा चुनाउ लड़्न सक्नेथिए, तर त्यसो हुनसकेन। विधानसभा चुनाउमा पनि भाजपालाई अघि लगाउनु दुर्भाग्यको कुरा हो।’

राष्ट्रियस्तरमा गोर्खा प्रतिनिधिको सवाल रहेकोले  लोकसभा चुनाउमा भाजपालाई जीएसएसएसले समर्थन गरेको पनि स्पष्ट पारेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया