मोदीको उत्तर बन्यो बङ्गालमा तीर, तृणमूल घाइते

यता ममताले विपक्षलाई राजनैतिक वयानमार्फत जवाब दिँदै भनेकी छन्, ‘जो पनि मेरोमा आउँछन्, उसलाई म चिया र मिठाई खुवाउँछु। यो हाम्रो परम्परा हो। हामी चिया पिलाउँछौं, रसगुल्ला खुवाउँछौं तर भोट चाँही पटक्कै दिन्नौं।’


कोलकाता, 28 अप्रेल


केहीदिनदेखि अक्षय कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वाता देशमा चर्चित छ। त्यही अन्तरवार्तामा अक्षय कुमारले मोदीलाई सोध्छन्, ‘विपक्षका नेताहरूसित तपाईँको सम्बन्ध कस्तो छ?’

मोदीले सामान्यरूपले त्यसको उत्तर दिन्छन्। भन्छन्, ‘विपक्ष दलहरूमा मेरा धेरै राम्रा साथीहरू छन्। ममता दिदी आजसम्म पनि वर्षमा एकपल्ट मेरो लागि एकदुइ कुर्ता र मिठाई पठाउँछिन्। बङ्गलादेशकी पिएम शेख हसिनाले पनि वर्षमा तीनचारपल्ट ढाकाबाट मिठाइ पठाइदिछन्….’

जब यो अन्तरवार्ता भाइरल बन्यो, बङ्गालमा सनसनी फैलियो।

सबैको मुखमा एउटै कुरा झुण्डियो- ‘मञ्चमा उत्रेर खोइरो खन्ने ममता दिदीले वर्षमा एकपल्ट मोदीलाई कुर्ता र मिठाई पठाउने कुरा साँचो हो त?’

बङ्गालका विपक्षका नेताहरूले भन्न थालेका छन्, बाहिर एउटा भित्र अर्को रूप दुवैले (ममता-मोदी)ले देखाइरहेका छन्। दुवै मिलेर जनतालाई भने लोप्पा खुवाइरहेका छन्।

यता ममताले विपक्षलाई राजनैतिक वयानमार्फत जवाब दिँदै भनेकी छन्, ‘जो पनि मेरोमा आउँछन्, उसलाई म चिया र मिठाई खुवाउँछु। यो हाम्रो परम्परा हो। हामी चिया पिलाउँछौं, रसगुल्ला खुवाउँछौं तर भोट चाँही पटक्कै दिन्नौं।’

तर विपक्ष ममताको यस्तो घुमाउरो उत्तरसित सन्तुष्ट छैनन्। मार्क्सवादी कम्युनिष्ट पार्टीका राज्य सचिव डा. सूर्यकान्त मिश्रा भन्छन्, ‘प्रधानमन्त्रीले जानअन्जानमा नै होस्, कुर्ता र मिठाइ पठाउने कुराले स्पष्ट पार्छ, दुवै उस्तै हुन्। उनीहरू मिलिभगत राजनीति गरिरहेका छन्।’

तर ममताका निकट सांसद अभिषेक व्यानर्जी भने मोदीप्रति निक्कै आक्रमक बनेका छन्। ‘मोदी दिल्लीमा एउटा कुरा गर्छन्, कोलकातामा एउटा कुरा,’ उनले भनेका छन्, ‘मोदीसित त्यति साहस छ भने यही कुरा कोलकत्तामा आएर भनुन्।’

अभिषेक बङ्गालका आफ्ना समर्थकहरूलाई मोदीसित ममता व्यानर्जीको त्यस्तो (मोदीले भनेकोजस्तो) सम्बन्ध छैन भन्न सबै प्रकारका प्रयास गरिरहेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया