क्रामाकपाले आफ्नो उम्मेदवार नदिने : वैकल्पिक उम्मेदवारलाई सर्वदलीय समर्थन : उपचुनाउमा त्रिकोणीय शक्ति सङ्घर्ष

आफूहरूले उम्मेदवार नदिए पनि कुनै एउटा शक्तिशाली उम्मेदवारलाई भने समर्थन गर्ने भन्दै प्रधानले सोही उम्मेदवारको  समर्थनमा अन्य राजनैतिक दलहरूको समर्थन जुटाउनेसमेत निर्णय गरिएको जनाएका छन्। ‘सोही शक्तिशाली उम्मेदवारलाई शक्तिमा रुपान्तर गरेर अघि बढ्ने छौं,’ उनले भने, ‘भोलि हामी उम्मेदवारको नाम घोषणा गर्नेछौं। हाम्रो गठबन्धनबारे पनि भोलि नै खुलासा गर्नेछौं।’


कालेबुङ, 28 अप्रेल


क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले भाजपा उम्मेदवार निरज जिम्बालाई समर्थन नगर्ने घोषणा गरेपछि लोकसभा चुनाउको निम्ति बनेको दलीय एकता धरासयी बनेको छ। लोकसभा चुनाउसम्म राष्ट्रीय पार्टीलाई समर्थन गर्न सकिने भए पनि विधानसभा चुनाउमा भने क्षेत्रीय दलबाट नै उम्मेदवार गए क्षेत्रीय पार्टीको अस्तित्व नरहने क्रामाकपाको अडान छ।

आज एउटा बैठक गरेर क्रामाकपाले आफ्नो रणनीति सार्वजनिक गरेको छ। क्रामाकपा नेता किशोर प्रधानले भनेअनुसार क्रामाकपाले विधानसभा उपचुनाउमा आफ्नो उम्मेदवार दिने छैन। ‘हामी वैकल्पिक उम्मेदवार शक्ति विस्तार प्रक्रियामा छौं,’ प्रधानले भने, ‘यसैले क्रामाकपाले विधानसभाको उपचुनाउमा उम्मेदवार दिने छैन। बरु एउटा शक्तिशाली उम्मेदवारलाई समर्थन गर्ने छ।’

आफूहरूले उम्मेदवार नदिए पनि कुनै एउटा शक्तिशाली उम्मेदवारलाई भने समर्थन गर्ने भन्दै प्रधानले सोही उम्मेदवारको  समर्थनमा अन्य राजनैतिक दलहरूको समर्थन जुटाउनेसमेत निर्णय गरिएको जनाएका छन्।

‘सोही शक्तिशाली उम्मेदवारलाई शक्तिमा रुपान्तर गरेर अघि बढ्ने छौं,’ उनले भने, ‘भोलि हामी उम्मेदवारको नाम घोषणा गर्नेछौं। हाम्रो गठबन्धनबारे पनि भोलि नै खुलासा गर्नेछौं।’

यता जन आन्दोलन पार्टीका उम्मेदवार अमर लामाले एक अन्तरवार्तामा आफूलाई तत्कालै नामाङ्कन पत्र नभर्न केही राजनैतिक दलले आग्रह गरेको खुलाएका छन्। ‘उनीहरूले साझा उम्मेदवारकोरूपमा मलाई समर्थन गर्ने भनेका छन्,’ लामाले भनेका छन्, ‘यसैले मैले जापबाट नामाङ्कन पत्र भरिहालेको छैन। उनीहरूले सल्लाह गरेर मलाई आफ्ना निर्णय दिने सुझाएका छन्।’

लामा लोकसभा चुनाउदेखि नै साझा उम्मेदवारको पक्षमा अडिग जापका नेता हुन्। लोकसभा चुनाउमा साझा उम्मेदवारको निम्ति साझा सहमति नबनेपछि उनी पार्टीमा निष्क्रिय बसेका थिए।

उनले आफ्नै दलका उम्मेदवार हर्कबहादुर छेत्रीको प्रचारप्रसारमा समेत सघाउ पुऱ्याएनन्। क्रामाकपाले शक्तिशाली उम्मेदवारलाई समर्थन गर्ने अनि उनैको निम्ति सर्वदलीय समर्थन जुटाउनेसमेत जनाइसकेको छ।

यता विमल खेमा गोजमुमो र गोरामुमोले संयुक्तरूपले भाजपाका उम्मेदवार निरज जिम्बालाई समर्थन गरेको छ। गोरामुमो र गोजमुमोले निरज जिम्बालाई भाजपाको उम्मेदवारकोरूपमा समर्थन गरेपछि क्रामाकपाले लोकसभामा दिएको समर्थन निरन्तर राखेन। यता निरज जिम्बालाई जिएसएसएसले पनि समर्थन गरेन। गोरामुमो र गोजमुमो दुवै खेमामा निरज जिम्बालाई भाजपाको उम्मेदवार बनाएकोमा व्यापक निराशा छाएको छ। गोरामुमोको आफ्नै वर्चस्व हुँदाहुँदै निरज जिम्बालाई भाजपाको उम्मेदवार हुन कुन बाध्यता छ? यो प्रश्न अहिले सबैतिर उठिरहेको छ।

क्रामाकपाले एक शक्तिशाली उम्मेदवारलाई सर्वदलीय समर्थन जुटाउने कुरा अघि आएपछि दार्जीलिङमा त्रिकोणीय शक्ति सङ्घर्ष हुने स्पष्ट भएको छ। एकातिर विनय तामाङ, अर्कोतिर निरज जिम्बा अनि अर्कोतिर क्रामाकपाको सर्वदलीय समर्थनवाला उम्मेदवारबीच दार्जीलिङको विधानसभा उपचुनाउ गर्मिने स्पष्ट छाँट देखापरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया