‘मैले देखेको आन्दोलन साहित्यमा देखाउनको निम्ति मात्रै फातसुङ लेखेको हुँ’

संवाद

फाइन प्रिन्टले नेपालको बजारमा ल्याएको छुदेन काबिमोका उपन्यास फातसुङ  यता भारतमा पनि सम्वोधन पब्लिकेशनले चाँड़ै सार्वजनिक गर्न लागेको छ। यसै सिलसिलामा  उन्यासकार छुदेनसित गरेको कुराकानी यहाँ प्रस्तुत छ


 लीलाबहादुर छेत्री


मार्केट प्रिपेयरेशन हो फातसुङको यति ढिलाई?

खासमा 2018 को शुरूमा नै मैले उपन्यास लेखिसकेको हुँ। सोंचेको थिएँ, 27 जुलाई 2018 मा किताब पाठकसम्म आइपुग्नेछ। त्यस्तो भएन तर। शुरूमा हाम्रो योजना भारतको निम्ति मात्रै थियो। सम्वोधन पब्लिकेशनले किताब छाप्नेवाला थियो। तर, पछि नेपालको निम्ति फाइनप्रिन्ट-ले फातसुङ

छाप्ने भयो। पहिलो उपन्यास, त्यो पनि नेपालको फाइनप्रिन्टले छाप्ने ? त्यो मेरो निम्ति ठूलै सपना र सौभाग्य थियो। अब सपना पूरा गर्नाको निम्ति सानातिना सङ्घर्ष त गर्नु पऱ्यो नि होइन र? मैले फेरि रिराइटको काम शुरू गर्नु पऱ्यो। यहाँबाट फाइनल भएर नेपाल पुगेको किताबलाई झण्डै पाँचचोटी फाइनल गर्नु पऱ्यो त्यसपछि फाइनप्रिन्टले फेरि अर्को सपना थपिदियो, ‘किताब राम्रो छ, यसको कभर पनि राम्रो बनाउनुपर्छ।’ अनि, फेरि दुइचारचोटि कभर रिजेक्ट भयो। तब त बल्ल फातसुङ-को काम सकियो।

फातसुङमा के छ र पाठकलाई तड़्पाइँदैछ?

पाठकलाई कदापि तड़पाइएको होइन। अलिकति धेर मेहेनत गरिएको मात्रै हो।  नेपालको बजारमा किताब आइसकेको छ। आगामी 1 मईदेखि यता नि आइहाल्ने हो। यति चैं पर्खाएँ।

फातसुङमा दार्जीलिङको राजनीति नै किन?

1986 को आन्दोलनपछि दार्जीलिङमा नयाँ राजनैतिक संस्कार शुरू भयो। अर्कै सिस्टम पोलिटिक्समा घुस्यो। यहाँको राजनीतिले महामहिम, मुकुमटविहीन राजा र कूलश्रीहरू जन्माउन थाले। दलहरूले जनताको सपनासँग व्यापार गर्न लागे। आज दार्जीलिङ यस्तो बन्यो, जहाँ हरथोकमा समस्या छ। र त्यो समस्याको जड़ कोट्याउन थाल्नुहोस्, तपाईँ राजनीतिसम्म नै पुग्नु हुनेछ। अर्थात दार्जीलिङको हरेक समस्याको जड़ राजनीति बनेको छ। जुन राजनैतिक संस्कार शुरू भएको 1986 को गोर्खाल्याण्ड आन्दोलनबाट नै हो। मैले यसकारण पनि त्यो समयको आन्दोलनको कथा लेखेँ। किनकि मैले बाँचेको समाजको बनौट तयार गर्नुमा त्यो राजनीतिको अहम् भूमिका छ।

संयोग कि कसरत हो दुवै मुलुकबाट आउँदैछ नि फातसुङ?

मान्छेको जीवनमा कहिलेकाहीं, नसोंचेको कुरा फ्याट्ट भइदिन्छ। शायद हामी त्यसैलाई ‘संयोग’ भन्छौं। तर, संयोग उसकै जीवनमा हुने हो, जसले अलिअलि कसरत गरेकै हुन्छ। नेपाल-भारत दुवै मुलुकबाट फातसुङ आउनु संयोग र कसरत दुवै हो।

नेपालहुँदीका आख्यानहरू नै लोकप्रिय छ नि यता। यस्तोमा आफैचाहिँ फातसुङको भविष्य कस्तो देख्नु हुन्छ ?

अघिल्ला पुस्ताले भन्थे, ‘दार्जीलिङले आज जे सोंच्छ, त्यो नेपालले भोलि सोंच्छ।’ तर समय बदलियो। आज दार्जीलिङ, नेपाल भन्दा साहित्यमा निकै पछि पऱ्यो। नेपालमा आख्यानको लहर चल्दा, यता भारतीय नेपाली आख्यानमा ठूलो ग्याप आइरहेको छ। यस्तोमा चुनौतिसँग नै मैले उपन्यास लिएर आएको छु।

फातसुङको भविष्य मैले होइन, पाठकले तय गर्ने हो। अनि अर्को कुरा, काठमान्डौमा पुस्तक विमोचन भएपछि म दुई दिन झोक्रिएँ। किताबलाई लिएर पहिलो समस्या आफ्नै नाम थियो। जसलाई नेपालले धेरै जान्दैनथियो। नचिनेको लेखकको किताब पढ़्ला के ता ? चिन्ता यही थियो। त्यसैले दिमागमा टेन्शन बोकेरै म हिँड़िरहेँ। टेन्शनकै कारण विमोचनमै पनि धेर बोल्न सकिनँ। तर, भारत फर्किएपछि बुझें, नेपालबाट धेरै राम्रो रेस्पोन्स पाइसकेको रहेछु। त्यहाँका पाठकहरू धेरै स्पीड रहेछन्। लेखकहरू भन्दा दुइगुणा अघि उनीहरू हुँदा रहेछन्। अहिले रेस्पोन्सलाई लिएर धेरै डराएको छुइनँ। नेपालको रेस्पोन्स भनेको रिटन परीक्षामा पाएको राम्रो अङ्क जस्तै लागेको छ। दार्जीलिङ त आफ्नै ठाउँ पऱ्यो नि। ओरल इक्जाममात्रै पास गर्नु अब गाह्रो नहोला नि, होइन ? यसैले अब फातसुङको भविष्यलाई लिएर म खासै चिन्तित छैन।

आन्दोलन, जन आन्दोलन लिएर नेपालमा आख्यान लेखिने ट्रेण्ड छ, त्यसकै सिको हो फातसुङ ?

नेपालका जम्मै आख्यानमा जन आन्दोलन छ भन्ने होइन। मलाई लाग्छ, नारायण वाग्लेको पल्पसा क्याफे-बाट यो हिँड़ाई नेपालमा शुरू भएको हो। जसले एउटा ट्रेन्ड ल्याएको पक्का हो। भारतेली नेपाली भाषीहरूका समस्या अर्कै हो। यहाँ चरणवद्ध रूपमा अलग राज्यको निम्ति आन्दोलन भइरहन्छ। तर, आरोप घरिघरि उठिरहन्छ, यताका लेखकहरूले उक्त आन्दोलनहरूबारे आख्यान नै लेखेनन्। एकदम कम लेखिए।

तपाईँको यो प्रश्न पनि खासमा त्यही गुनासो हो भन्ने मलाई लाग्यो। अनि फातसुङ- कसैको सिको गर्नको निम्ति होइन। मैले बाँचेको समाज, मैले बुझेको अलिअलि राजनीति र मैले देखेको आन्दोलन साहित्यमा देखाउनको निम्ति मात्रै लेखेको हुँ। खासमा मेरो लेखनको उद्देश्य भनेको दार्जीलिङभित्र बाँचेका सानासाना दार्जीलिङहरूको कथा लेख्नु थियो। जसको सपनालाई जहिले राजनीतिले कुल्चिरहेको हुन्छ।

छुदेनले बुझेको दार्जीलिङको राजनीति असलमा के हो ?

दार्जीलिङको राजनीति भनेको अलिकति भावना हो। अलिकति आवेग हो। अलिकति आक्रोश हो। आवेग  आक्रोश र भावना बिनाको राजनीति यहाँ चल्दैन। चले पनि धेर टिक्दैटिक्दैन। पछिल्ला समयमा यहाँको राजनीति धेरै बिजिनेस पनि बनिसकेको छ। युवाहरूको निम्ति रोजगार छैन। योग्यहरूको निम्ति नोकरी छैन। तब युवाहरूले के गर्ने ? राजनैतिक दलको झण्डा पक्रिएर फेसबुकमा समर्थनको वकालती शुरू गर्ने हो। दार्जीलिङको राजनीति अब यस्तै त भयो नि । खासमा दार्जीलिङको निम्ति राजनीति भनेको हरेक थोक हो।

कथापछि उपन्यास लेखन लहड़ कि आवश्यकतावोध ?

1986- लेखिसकेपछि धेरैको सुझाउ आयो, यही आन्दोलनमाथि किन उपन्यास नलेख्ने ? धेरैको गुनासो पनि आयो। आन्दोलनमाथि उपन्यास लेखिएकै छैन, छुदेनले किन नलेख्ने ? यही गुनासो र सकसकहरूको कारण नै मैले उपन्यासको ड्राफ्ट लेख्न शुरू गरेको हुँ। पहिले गजल लेख्दा लाग्थ्यो, ‘गजल मार्फत् आफ्नो जम्मै पीड़ा पोख्न सकिन्छ।’ होइन रहेछ। कथा लेख्न थालेपछि बुझियो, ‘हरेक मान्छेसँग त आफ्नै कथा हुन्छ। आफ्नो समस्या त कथा मार्फत् नै भन्ने हो।’ त्यसपछि बल्ल उपन्यास लेखियो। अनि बुझियो, ‘होइन, समाज त मान्छे मान्छे मिलेर बन्ने हो नि। अर्थात लेखकले बाँचेको समाजको कथा ता उपन्यास मार्फत् नै ढुक्कले लेख्न सकिने हो।’ यसो भनौं न, ‘कथा भनेको फूलको थुङ्गा मात्रै रहेछ। उपन्यास भनेको पूरै बुक्के नै हो।’ अहिले म त्यही फूलको बुक्के बोकेर रमाइरहेको छु। भावुक पनि छु। खासमा उपन्यास लेखन लहड़ भन्दा धेर आवश्यकता पनि हो। भारतेली नेपाली साहित्यमा आख्यानको जुन ग्याप बनिएको छ, त्यसलाई टार्न सकिन्छ कि भन्ने कोशिश पनि हो।

नयाँ केही लेखिँदैछ ?

नयाँ के लेख्ने होला ? अबको सबभन्दा ठूलो समस्या र चुनौती यही हो मेरो लागि। खासमा लेखक त्यही बन्ने हो, जसले के लेख्ने हो ? भन्दा पनि धेर, के चैं नलेख्ने हो ? भनेर चयन गर्न सक्छन्। मैले अहिले त्यही चयन गर्न सकिरहेको छैनँ। तीनवटा मुख्य विषय मेरो दिमागमा घुमिरहेको छ। त्यस मध्ये कुन चैं अहिले नलेख्ने हो ? त्यसमा म क्लियर हुनसकिरहेको छैनँ। सबै क्लियर हुनसाथ म नयाँ लेखनमा फर्किहाल्छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया