दुनो मात्र सोझ्याउने झण्डा महाकाल बाबालाई चढाए हुन्छ

Girl in a jacket

बक्रदृष्टि

निरज जिम्बा, आर.बी. राई, अमर लामा जो पनि बङ्गाल सरकारको कुशासनको विरूद्ध चुनाउ लड्नु हुनेछ, जनतासामु एक भएर लड्नुहोस्। एक आपसमा छलफल होस्, राजनैतिक सहमतिको वातावरण बनोस्, जनता भ्रममा नपरोस्। सरकार विरोधी शक्तिहरूलाई फुटाएर कमजोर बनाउँन सत्ताधारीहरूसँग सयकडौं योजनाहरू हुन्छन्। यति सानो चाल पनि हामीले बुझेनौं र आफ्नै दुनो मात्र सोझ्याउने हो भने त्यस्तो दलहरूले झण्डा महाकाल बाबालाई चढाए हुन्छ।


पुरण छेत्री


लोकसभा चुनाउको हावा राम्ररी सेलाउन नपाउँदै दार्जीलिङ विधान सभा क्षेत्रको रिक्त भएको आसनमा उपचुनाउको घोषणा चुनाउ आयोगले गरिहाले। चुनाउ आयोगको घोषणा के भएको थियो, पहाडका सम्पूर्ण राजनैतिक दलहरू न्वारणदेखिको बल लगाएर मैदानका ओर्लिए। संसद चुनाउबाट निकै उत्साहित भएका जनता फेरि राजनैतिक दलहरूको अर्को सर्कस हेर्न तयारी छन्।

पहाड वास्तवमा भन्ने हो भने चुनाउमा जान सक्ने अवस्थामा थिएन। चुनाउ अघिसम्म सत्तासिन दल बाहेक कसैले बोल्न नपाउँने, लेख्न नपाउँने, राज्य सरकारको विरोध गर्न नपाइने वातावरण थियो। एक प्रकारले अघोषित राजतन्त्रनै चलिरहेको बङ्गालको यो मुकुटमा चुनाउ आयोगले विशेष सक्रियताका साथ चुनाउ सम्पन्न गराए।

लगभग दुइ वर्षसम्म बोल्न नपाएको कुण्ठा जनताले राम्रैसँग पोखे। लोकसभामा सत्तासिन दल तृणमूलको विरूद्धमा भाजपाले गोजमुमो (बिमल), गोरामुमो, क्रामाकपा, गोरानिमो, अभागोली (प्रताप), जीएसएसएस, कृषक कल्याण साथै अरू सानातिना सामाजिक सङ्घ संस्थाहररूको सहयोगमा व्यापक जन समर्थन बटुले।

बङ्गलामा भानु जयन्ती मनाउनु, विभिन्न बोर्डहरूको अनावश्यक गठन, कालेबुङ जिल्लाको गठन, जीटीएको सम्झौता अनुसारको क्षमता पहाडलाई नदिनु, पहाडबासीको मखैमा बङ्गभङ्ग होबेना भन्नु जस्ता कुराहरूले पहाडबासीमा एकप्रकारको असन्तुष्टि छाइरहेकोबेला हामीलाई हेपेरै बङ्गला भाषा अनिवार्यताको कुरा निकाले।

अति भए पछि खति हुन्छ, २०१७ को विरोध र आन्दोलन यसैको उपज हो। ज्वालामुखी बनेर बसेको जनआवाज आँधी भएर सडकमा ओर्लिए।

ममताले लगभग घुँडा टेकिसकेको अवस्थामा, विनय-अनित तामाङ ममताको मसिहा बनेर आए। जनताको त्याग र बलिदानको सौदा भयो। शहिदहरूको रगतको व्यापार गरे। जन आकांक्षा बेचिपठाए। जनताको मौलिक अधिकारको सुरक्षा गर्छु भन्ने दलहरूलाई बोल्न दिएनन्। पुलिस, प्रशासन र अदालतको डर देखाएर जनताको मुख थुने।

लेखक र पत्रकारहरूको कलम भाँचेर आगो तापे। सामाजिक सङ्गठनहरूको जिब्रो थुते। हजारौंको संख्यामा गोर्खाल्याण्ड समर्थकहरूलाई खेदुवा लगाए। आफ्नै घर आँगनमा हाम्रा दाज्यु-भाईलाई खुट्टा टेक्न दिइएको छैन। यसमा बङ्गाल सरकारलाई कसले सघारहेको छ? जनतालाई थाहा छ।

राजनैतिक दल भनेको जनताको हक र हितको निम्ति बोल्ने हुनुपर्छ। जनताको प्रजातान्त्रिक मूल्य र मान्यताहरूको हनन् हुन्छ भने राजनैतिक दलहरू विभिन्न दिशामा होइन तर सहकार्य गरेर यस्तो सङ्कटबाट जनतालाई बचाउने उत्तरदायित्व लिन सक्नुपर्छ। हालैको संसदीय चुनाउमा जनआन्दोलन पार्टीले दार्जीलिङमा जनसभा गर्न नपाउनु, प्रशासनले हाम्रै अनेकताको अनेकताको फायदा उठाएको प्रस्टै देखिरहेका छौं। हाम्रो मुद्दा र राजनीति एकातिर छ भने प्रशासनको हामीमाथि सानी आमाको व्यावहार यथावत छ।

कुनै पनि दलको आवाज सडकमा आउनु र सदनमा पुग्नुलाई गणतान्त्रिक परिवेश अपरिहार्य हुनुपर्छ। हाम्रो दलगत सिद्धान्त, विश्वास, मुद्दा र कार्यशैली फरक होला तर दार्जीलिङको विधानसभा उपचुनाउले हाम्रो अघि प्रजातान्त्रिक परिवेशको सृजना गर्ने एउटा चुनौती खडा गरिदिएको छ।

निरज जिम्बा, आर.बी. राई, अमर लामा जो पनि बङ्गाल सरकारको कुशासनको विरूद्ध चुनाउ लड्नु हुनेछ, जनतासामु एक भएर लड्नुहोस्। एक आपसमा छलफल होस्, राजनैतिक सहमतिको वातावरण बनोस्, जनता भ्रममा नपरोस्। सरकार विरोधी शक्तिहरूलाई फुटाएर कमजोर बनाउँन सत्ताधारीहरूसँग सयकडौं योजनाहरू हुन्छन्। यति सानो चाल पनि हामीले बुझेनौं र आफ्नै दुनो मात्र सोझ्याउने हो भने त्यस्तो दलहरूले झण्डा महाकाल बाबालाई चढाए हुन्छ।

अहिलेलाई हाम्रो समस्या भनेको कमसेकम पहाडमा गणतान्त्रिक परिवेशको पुनःस्थापना हो। त्यसपछि मात्र हामी हाम्रो सैद्धान्तिक लडाई प्रजातान्त्रिक ढङ्गमा उठान गर्न सक्छौं । यस्तो विकट परिस्थितिमा पनि राजनैतिक दलहरू एक हुन नसक्नु भनेको गोर्खाहरूको ठूलो दुर्भाग्य नै मान्नु पर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया