विनयले लुक्ने दुलो खोज्दा भयो : राजु विष्ट

‘विनय तामाङले जाति, मुद्दा, आन्दोलन र सपना बेचेको खुसीमा भाजपाले मेनिफेस्टोमा गोर्खाहरूको लागि खासखास प्रतिबद्धता हालेको होइन।  जनतालाई देवता मान्ने र जनताको लागि जे पनि गर्न चाहने गोरामुमो र गोजमुमोको प्रतिबद्धता र क्षेत्रीय आकांक्षा पूरा गर्न हालेको हो। जनताले यति कुरा बुझ्छ। विनय तामाङले लोकसभा चुनाउ हारिसकेका छन्। हाऱ्यो भने ममता व्यानर्जीले डण्ठ्याउँछिन् भन्ने थाहा छ, बाँच्नको लागि उपचुनाउ उठ्दैछन्। उनलाई मान्छे किनेर भएपनि जित्छु र बाँच्न पाउँछु भन्ने लागेको छ। तर अब विनयले लुक्ने दुलो खोज्दा भयो। जनताले उनलाई जुनै दुलोबाट पनि निकाल्ने छन्। बलियो दुलो खोज्नु पऱ्यो लुक्नलाई। जाति बेच्नेलाई जनताले भोट दिने छैन।’


दार्जीलिङ, 29 अप्रेल


भाजपाका उम्मेदवार निरज जिम्बाले नामाङ्कन पत्र भरे। लोकसभा उम्मेदवार राजु विष्ट पनि जिम्बासितै थिए। यसैबीच राजु विष्टले निरज जिम्बालाई भाजपाको उम्मेदवार बनाउँदा क्षेत्रीय आकांक्षा मिचेको भनेर लाग्दै गरेको आरोपको जवाब पनि दिए।

‘भाजपा राष्ट्रीय दल भएर पनि क्षेत्रीय आकांक्षालाई कदर गरको छ। र नै त मेनिफेस्टोमा क्षेत्रीय मुद्दाप्रतिको प्रतिबद्धता हालेको छ। रिजनल एस्पिरेसनबारे हामी बुझ्छौ,’ उनले भने। उनले यसपल्ट राजु विष्ट र निरज जिम्बालाई दिइने भोट जाति, मुद्दा र जनसपनाको लागि हुने बताए।

‘एकातिर जाति, मुद्दा र जनताको सपना बेचेर ममताको शरणमा पर्ने, पैसा कमाउने, जनतालाई पुलिसको डर देखाउने, भोट हालेन भनेर धम्की दिने, गोर्खाल्याण्ड भन्नेलाई जङ्गल खेदाउने विनय तामाङ छन्,’ उनले भने, ‘अर्कोतिर जाति, मुद्दा र जनताको सपना बँचाउन जङ्गल पस्ने विमल गुरुङ र जनताको मुद्दा बँचाउने गोरामुमो छ। जनताले कसलाई भोट दिनुपर्ने हो, त्यो जान्दछन्।’

गोजमुमो र गोरामुमोले जनताको सपना, जनताको मुद्दा र जातिको लागि हात मिलाएर सुझबुझसित काम गरेकोले नै भाजपाले मेनिफेस्टोमा लिखित प्रतिबद्धता हालेको पनि उनले बताए।

‘विनय तामाङले जाति, मुद्दा, आन्दोलन र सपना बेचेको खुसीमा भाजपाले मेनिफेस्टोमा गोर्खाहरूको लागि खासखास प्रतिबद्धता हालेको होइन,’ विष्टले भने, ‘जनतालाई देवता मान्ने र जनताको लागि जे पनि गर्न चाहने गोरामुमो र गोजमुमोको प्रतिबद्धता र क्षेत्रीय आकांक्षा पूरा गर्न हालेको हो। जनताले यति कुरा बुझ्छ।’

उनले विनय तामाङ विधानसभा उपचुनाउमा उठ्नु नै लोकसभा चुनाउ हार्नुको सङ्केत रहेको पनि विष्टले जनाए। ‘विनय तामाङले लोकसभा चुनाउ हारिसकेका छन्। हाऱ्यो भने ममता व्यानर्जीले डण्ठ्याउँछिन् भन्ने थाहा छ, बाँच्नको लागि उपचुनाउ उठ्दैछन्,’ उनले भने,  ‘उनलाई मान्छे किनेर भएपनि जित्छु र बाँच्न पाउँछु भन्ने लागेको छ। तर अब विनयले लुक्ने दुलो खोज्दा भयो। जनताले उनलाई जुनै दुलोबाट पनि निकाल्ने छन्। बलियो दुलो खोज्नु पऱ्यो लुक्नलाई। जाति बेच्नेलाई जनताले भोट दिने छैन।’

यता नामाङ्कनपत्र बुझाएपछि निरज जिम्बाले आफू पार्टीको मात्र नरहेर जातिको प्रवक्ता बन्न चाहेको भन्दै आफू राजनीतिको जण्डा झाँक्री रहेको जनाए। आफूहरूले पहिले तृणमूल काङ्ग्रेसलाई सघाए पनि तृणमूलले जनमुद्दाको लागि केही नगरेको जनाए।

‘2014 देखि तृणमूलसित थियौं तर हुँदाहुँदा पछिबाट तृणमूलको इन्टेन्सन बुझ्यौं। लोकसभा, विधानसभा, नगरपालिका सबैमा सघाउनु मात्र पर्ने रे। हाम्रो मुद्दा त कता पुग्यो पुग्यो,’ उनले भने, ‘भाजपालाई सघाएको मात्र थियौं मेनिफेस्टोमा गोर्खाहरूको लागि दुइवटा बलियो प्रतिबद्धता आयो। यो त ऐतिहासिक प्राप्ति हो। काङ्ग्रेस, तृणमूल कसैले पनि गर्न नसकेको भाजपाले गरेको छ।’

यता क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले राष्ट्रीय दलबाट उम्मेदवार दिँदा क्षेत्रीय दलको अस्तित्व नरहने भनेको सन्दर्भमा बोल्दै जिम्बाले भने, ‘वास्तवमा हामीले राष्ट्रीय दलसित गम्भीर र गहिरो सम्बन्ध नबनाएकोले नै दुःख पाएका हौं। एउटा उपचुनाउमा राष्ट्रीय दललाई समर्थन गर्दा दार्जीलिङका पार्टीहरू मर्दैन। बरु मुद्दा र जातिको लागि धेरै काम गर्न सक्ने ठाउँ बन्छ। क्रामाकपाले लोकसभामा समर्थन गरेको हो। विधानसभामा नगर्ने भन्ने आउँदैन। हामी निरन्तर कुराकानी गरिरहेका छौं।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया