‘गोर्खाल्याण्डको मुद्दा त हरायो हरायो अब गोर्खा शब्द भएका सङ्गठन र राजनीति दलहरू हराउने किसिमको डर हुँदैछ’

“यो पालि हामीलाई जिताउनुहोस्। हामीलाई मौका दिनुहोस्। दार्जीलिङ पहाड़मा बाँचेको क्षेत्रीय पार्टी र क्षेत्रीय मुद्दा बोकेको पार्टी एउटै जनआन्दोलन पार्टी रहन्छ”


जनसंवाद, दार्जीलिङ, २९ अप्रेल


जन आन्दोलन पार्टी (जाप) –का उम्मेदवार अमर लामाले आउँदो दार्जीलिङ विधानसभाको उपचुनाउका लागि सोमबार नामाङ्कन पत्र बुझाए। नामाङ्कन-पत्र बुझाउनअघि जाप समर्थकहरूले दार्जीलिङ शहरदेखि जिल्लापाल कार्यालयसम्म ऱ्याली निकालेका थिए।

ऱ्यालीमा जापका शीर्षस्थ नेताहरू अनमोल प्रसाद र नयन प्रधान र नोर्देन पेम्पा हिस्सेलगायत अन्य उपस्थिति थिए। यसभन्दा अघि आज बिहानै लामा आशीर्वाद लिन महाकालस धाम पुगेका थिए, जहाँ उनले पूजा अर्चना गरे।

अर्कोतिर नामाङ्क पत्र बुझाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै जाप उम्मेदवार अमर लामाले गोर्खा स्वाभिमान बचाउने समय आएको बताए। गोर्खा नाम भएका क्षेत्रीय राजनीतिक पार्टीहरू राष्ट्रिय र राज्यका पार्टीको आशीर्वादबिना चल्ने नसक्ने भएकोले क्षेत्रीय समस्याको उठानको प्रश्न पनि सङ्कटमा परेको बताए।

लामाले भने, “क्षेत्रीय पार्टीहरू नरहेको खण्डमा क्षेत्रीय मुद्दाहरूको उठान पनि हुनेछैन। अहिले दार्जीलिङमा नयाँ ट्रेन्ड देखिँदैछ,- गोर्खाल्याण्डको मुद्दा त हरायो हरायो अब गोर्खा शब्द भएका सङ्गठन र राजनीति दलहरू हराउने किसिमको डर हुँदैछ।”

उनले जनआन्दोलन पार्टीको अघि गोर्खा शब्द जोड़िएको नभए तापनि जापको उद्देश्य क्षेत्रीय मुद्दाको उठान रहेको खुलाए। “यो चुनाउमा जाप मात्र एउटा क्षेत्रीय राजनीतिक पार्टी रहेकोले हामीले हाम्रा क्षेत्रीय समस्याहरू र गोर्खाल्याण्डको मुद्दा निर्धक्कसँग उठाउन सक्छौं”, जाप उम्मेदवार लामाले थपे, “हामीले बारम्बार भन्दै आएका छौं, हाम्रो हाइकमान भनेको जनता हुन्। अरू राजनीतिक पार्टीहरूको हाइकमान दिल्ली र कोलकातामा छ। उनीहरूले कुन मुद्दा उठाउँदा र केही कुरामा बोल्नु अघि ती राजनीतिक पार्टीहरूलाई आ-आफ्नो हाइकमानको आदेश चाहिन्छ, तर जापलाई यस्तो बाध्यता छैन। किनभने जापको हाइकमान भनेकै दार्जीलिङ पहाड़का जनता हुन्।”

उनले जनताको आदेश र आशीर्वाद पाउनकै लागि आफूले उपचुनाउमा उम्मेदवारिता दिएको बताए। साथै गोर्खा स्वाभिमानलाई अब जनआन्दोलन पार्टीले बचाएर राख्ने दाबी गरे।

लामाले आफ्नो चुनावी मुद्दा, पहाड़का मानिसहरूका लागि उनीहरूको जमिनको मालिकाना हक, चियाश्रमिकहरूको न्यूनतम रोज अधिनियन लागू, १०५ दिने बन्दको चियाश्रमिकहरूलाई क्षतिपूर्ति आदि हुने बताए।

एक प्रश्नको उत्तरमा विनय तामाङले १०५ दिने बन्दको क्षतिपूर्ति चियाश्रमिकहरूले पाउनुपर्ने माग राज्यको मुख्यमन्त्रीसमक्ष राख्नै नसकेको पनि ठोकुवा गरे। साथै पर्जापट्टाको माग पनि ठूल्ठूला कुरा गरेर दार्जीलिङमा कमिटी बनाएको तर मुख्यमन्त्रीसमक्ष भने नराखेको दाबी गरे।

आफूले जितेर विधानसभा पुगेको खण्डमा बीचको बाटो (मिडल पाथ) अपनाएर यी समस्याहरूको समाधान गर्न पहल गर्ने बताए। यी कुराहरू पहाड़वासीका लागि अधिकार रहेकोले स्वाभिमानसँग माग गर्ने पनि स्पष्ट पारे।

उनले जनतालाई आफ्नो पक्षमा मतादन गरी विजयी बनाउने अपील पनि गरे। “यो पालि हामीलाई जिताउनुहोस्। हामीलाई मौका दिनुहोस्। दार्जीलिङ पहाड़मा बाँचेको क्षेत्रीय पार्टी र क्षेत्रीय मुद्दा बोकेको पार्टी एउटै जनआन्दोलन पार्टी रहन्छ”, लामाले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया