विनयको राजनीति कोमातिर

Girl in a jacket

अचम्म लाग्छ, विनय तामाङ राजनीति शास्त्र पढेका व्यक्ति हुन्। तर अचेल यस्तो चरित्र देखाइरहेका छन्, मानौं उनी विमल गुरुङजति पनि पढेलेखा होइनन्। गणतन्त्रमा उनकै स्वास्नीलाईसमेत आफ्नो रुचीको उम्मेदवारलाई भोट दिने अधिकार संविधानले दिएको छ। उनको स्वास्नीको छनोटमा विनय तामाङ परेन भने के उनले आफ्नै स्वास्नीलाई पनि 24 मई पछि ‘हेर्ने’ त?


मनोज बोगटी


यो सोच्दा पनि मुख्यमन्त्रीले विनय तामाङ र अनित थापालाई नै दार्जीलिङको ‘मालिक’ बनाइराख्ने हो भने पहाडका तृणमूलका नेताहरूको के काम? शारदा राई सुब्बा, विन्नी शर्मा, राजेन मुखिया, एलबी राईहरूले तृणमूलको लागि दिलोज्यान दिनुको के अर्थ?

विनय तामाङ र अनित थापाकै निर्देशमा काम गर्नु हो भने उनीहरू तृणमूल काङ्ग्रेसको हुनु नै किन र? यसो त शारदा राई सुब्बाले निकालेकी भडास् पहाडमा तृणमूल पार्टीको अस्तित्वसितै जोडिएको सवालबाट निस्किएको हो। जम्मै क्षमता विनयको हातमा सुम्पेर तृणमूललाई हुने फाइदा चाँही के हो त? प्रश्न त स्वाभाविकरूपले उठ्ने नै हो।

वास्तवमा विमल गुरुङलाई पदच्युत गर्ने र काँटाफरुवालाई ‘हतियार’ देखाएर ‘देशद्रोही’ भन्दै ‘सोमोटो मुद्दा’ लादेर पहाडबाट खेदाउन चाहिने ‘औजार’-कोरूपमा ममता व्यानर्जीले विनय तामाङ र अनित थापालाई प्रयोग गरेकी हुन्। आफूले गरेको ‘प्रयोग’ छोप्न जिटिएको पद दिनै पऱ्यो। जिटिएमार्फत ‘धन’ दिनै पऱ्यो। केही ‘क्षमता’ दिनै पऱ्यो। तर पद र धन पाउने वित्तिकै विनय तामाङको मनोविज्ञानमा ‘हिटलरी’ चरित्र छिर्नु स्वाभाविक हो। सत्ताले सबैलाई अन्धो बनाउँछ नै।

आफूले पालेको घरेलु जन्तुलाई मालिकले पोषिलो ‘दाना’ दिनु स्वाभाविक नै हो। तर ‘दाना’ खाएर बलियो हुने वित्तिकै बदमासी गर्न थाल्यो भने जन्तुको ठेगाना गोसखानतिरै हो। यो त राजनीतिमा स्वाभाविक क्रिया हो। यो क्रिया को ‘प्रक्रिया’- चरित्रलाई राजनीतिज्ञले ठिम्याउने हो। विनय तामाङले ठिम्याउन नसक्नुको अर्थ हो, उनी बनिएको राजनीतिज्ञ होइनन्, बनाइएका कठपुतली मात्र हुन्।

अहिले विनय तामाङमा जुन सत्तामात छ, त्यो पहाडको जनताको लागि स्वास्थ्यकर छैन। यसो त उनको नयाँ अवतार जाति र मुद्दाको किनबेचले जन्माएको हो। इतिहास साक्षी छ, बन्द डाक्ने उनी नै। जिएमसीसीमा हस्तक्षेप गर्ने उनी नै, आन्दोलनको रणनीति बनाउने उनी नै। उनकै रणनीतिअनुसार बङ्गालले पुलिस लगायो। गोली ठोक्यो। ममताले पनि मौकाको फाइदा उठाइन्। यस्तो बेला पनि दार्जीलिङमा क्याविनेट बैठक डाकिन। स्पष्ट थियो, क्याविनेट बैठक आन्दोलनकारीहरूले बिथेल्ने छ। बिथोल्यो। क्याविनेट बैठकमा नै हामाला भएपछि केन्द्रिय फोर्स माग्न सजिलो भयो।

ममताले बढो चनाखोसित बुनेको रणनीति सफल भयो। एउटा राज्यको सञ्चालनसित जोडिएको बैठकमा खलल पुऱ्याउने शक्ति रोक्न केन्द्रिय बल मागेपछि केन्द्रले कसरी नपठाउन मिल्छ?

पुलिस र केन्द्रिय बल क्याविनेट सुरक्षाको लागि होइन आन्दोलन दबाउन ममताले प्रयोग गरिन्। इमान्दार रणनीतिसित आन्दोलनमा गएको भए पो ममताको कुटनीति बुझिन्थ्यो। गएन, बुझेन। यद्धपि ममताको रातको निद्रा बिग्रिसके कै थियो। केन्द्रले त्रिपक्षीय वार्ताको चाप दिएको दिएकै थियो। यस्तो संवेदनशील बेलामा आन्दोलनलाई सम्झौतामा लैजाने विनय तामाङ र अनित थापा नै। जिटिएको खेस्रा जलाएर जिटिएमा नै फर्किने उनीहरू नै।

यो जाति र मुद्दाको लागि गरिएको काम हो र?

को को आन्दोलनकारी हुन्, बङ्गालको पुलिसले अनुहार चिन्छ र? तर हरेक आन्दोलनकारीको ठेगाना दिएर पुलिस पठाउने उनी नै। आन्दोलनकारीलाई जेल हाल्ने, पक्राउ गराउने उनी नै। आफैले जेल पारेकाहरूलाई बाहिर निकाल्नुको अब के अर्थ? विनय तामाङले यस्तो प्रचार गरिरहेका छन्, मानौं सबै जेल परेकालाई बाहिर निकाल्नुलाई उनले गोजीको पैसा खर्च गरेको होस्। जनताको पैसा जनतालाई बाहिर निकाल्न खर्च गरेको कुराको प्रचार किन?

अचम्म लाग्छ, विनय तामाङ राजनीति शास्त्र पढेका व्यक्ति हुन्। तर अचेल यस्तो चरित्र देखाइरहेका छन्, मानौं उनी विमल गुरुङजति पनि पढेलेखा होइनन्। गणतन्त्रमा उनकै स्वास्नीलाईसमेत आफ्नो रुचीको उम्मेदवारलाई भोट दिने अधिकार संविधानले दिएको छ। उनको स्वास्नीको छनोटमा विनय तामाङ परेन भने के उनले आफ्नै स्वास्नीलाई पनि 24 मई पछि ‘हेर्ने’ त?

संविधानमा कतै लेखेको छैन, विनय तामाङबाट नोकरी पाएका, विनय तामाङले जेल मुक्त गरेका, रोज वृद्धि पाएका, विनय तामाङबाट भत्ता पाएका, पैसा पाएका, क्यामेरा पाएका, ल्यापटप पाएका, विज्ञापन पाएका, ठेकेदारी पाएकाहरूले विनय तामाङलाई भोट हाल्नैपर्छ।

तर, विनय तामाङ यस्तो फर्मान गरिरहेका छन्, मानौं, उनी दार्जीलिङका मालिक हुन्, जजसले मालिकको कुरा सन्दैन उसको दिन सकियो। दार्जीलिङका जनता बोल्नेलाई विश्वास गर्दैनन्। गर्ने भए क्रामाकपाले भन्दै आइरहेका हुन्, ‘हामीलाई मौका देउ हामीलाई मौका देउ।’

दियो त जनताले मौका?

दिएन, किन भने जनता बोलीभन्दा धेर उसको काममा विश्वास गर्छ। पहाडको कुनै पार्टीको काम यस्तो हुनुपऱ्यो, जसमा विश्वस्त हुन सकियोस्। यस्तो रणनीति हुनु पऱ्यो, जसमा भरोसा गर्न सकियोस्। ढुक्क बस्न सकियोस्। भयमुक्त बस्न सकियोस्। तर जनतामा यस्तो मनोविज्ञान निर्माण नै गर्न सकेनन् सकेनन्।

शुरुमा एकप्रकारले विनय तामाङले गरेको ‘काम’ ठिकै होलाजस्तो सबैलाई लाग्दैथियो तर जति समय बित्दै गयो, उति मानिसले बुझ्न थाले, विनय तामाङले त आफ्नो सुरक्षाको लागि आन्दोलनलाई नै बेचेका हुन्। सम्पूर्ण दोष विमल गुरुङमा खन्याएर कति दिन विनयले टाउको जोगाउन सक्छन्?

विमल गुरुङसित रणनीति थिएन रे, रणनीति बनाउन विनय तामाङलाई कसल रोकेको थियो त? आन्दोलनलाई सम्झौतामा लान सक्नेले रणनीतिले आन्दोलनलाई अघि लैजान सक्दैन थियो त?

जनताको मनमा बिझेको कुरालाई विनय तामाङले पुलिस लगाएर पनि निकाल्न सक्दैनन्।

शारदा राई सुब्बाका आरोपहरू यसकारण पनि महत्वपूर्ण छन्, किन भने तृणमूलको गोल भनेको पहाड शान्त गर्नु मात्र पनि होइन। पहाडमा भ्रष्टाचारमुक्त विकास संस्कृतिको निर्माण गर्नु पनि हो। त्यसै विश्वासमा विनय तामाङहरूले मागे जति सबै दिइएकोछ। तर त्यसको प्रयोग?

त्यसको प्रयोगमा नै व्यापक धाँधली छ। नत्र विनय तामाङहरूले बनाएको सडक एक महिनामा नै कसरी उप्कियो? विनय र विमलको विकास संस्कृतिको भेद छुट्याउने रेखा कुन हो? त्यही पर्सन्टेज, त्यही घुस्। त्यही भत्किजाने विकास, त्यही आफ्नो चेप्ने कार्यप्रणाली। त्यही धम्की, त्यही हेपाई। त्यही दादागिरी। जै जै गर्नेलाई काख, आलोचना गर्नेलाई पाखा।

विनय तामाङको हातमा जिटिए जिम्मा लगाउँदा ममता व्यानर्जीलाई फाइदा भयो नै के?

जिटिएले गऱ्यो नै के?

शिक्षक नियुक्ति बङ्गालले नै दियो। पैसा बङ्गालले नै दियो। युनिभर्सिटी बङ्गालले नै दियो। आइटीआई, कलेज बङ्गालले नै दियो। पुलिस बङ्गालले नै दियो। सिभिक पुलिस बङ्गालले नै दियो। सबै कुरा त बङ्गालले नै दिइरहेको छ, यस्तोमा विनय तामाङहरूलाई हिरो बनाइबस्नुको के औचित्य?

यही कुरा बुझेका तृणमूल नेताहरूले बारम्बार फरक मत राख्दै आइरहेकै हो। जिटिएको मियाद बढाउँदा मिरिकमा झमेला किन भयो त? किन राजेन मुखिया, बिन्नी शर्माहरू मौन छन्? किन एलबी मुखिया धेरै महिना ठुस्किए? किन पहाडका तणमूल नेताहरूको महत्व पार्टीमा हुँदैन?

आखिर तृणमूल नेताहरूले कति दिन विनय तामाङ र अनित थापालाई बोक्नुपर्ने हो त?

वास्तवमा विमल गुरुङको वर्चस्व भर्खरैको बाघडोगरा घटनाले पुष्टि गरेको हो। जनता विनयको पक्षमा होइन, विमल गुरुङकै पक्षमा छन्, यो ममता व्यानर्जी पनि जान्दछन्। विस्तारै विमल गुरुङको खेदो गर्न बङ्गाल पुलिसले कम गरिरहेकै छ। नत्र दिल्लीमा रहेका विमल गुरुङ पक्राउ गर्न ममता व्यानर्जीलाई कसले रोक्न सक्छ?

तर ममताले कुरा बुझ्न थालेकी छन्। किनभने केन्द्रले पहाडको स्थायी राजनैतिक सामाधान गर्ने मन बनाइसकेको छ। आखिर कति दिन सीमा क्षेत्र अशान्त राख्न सकिन्छ त?

दागोपाप, जिटिए दिएर पनि दार्जीलिङको जनता किन सडक नै उर्लिरहन्छन्? यसको अर्थ पहाडको समस्या विकाससित सम्बन्धित होइन भन्ने कुरा केन्द्रले बुझिसकेको छ भन्ने निस्किन्छ। ढिलोछिटो न हो, आखिर केन्द्र र राज्यले दार्जीलिङको समस्याको स्थायी सामाधान गर्नै पर्ने हुन्छ।

किन भने छिमेकी नेपालमा आन्तरिकरूपले द्वन्द्व सकिएको छैन। उनीहरूले नेपालको भूभागको दाबी गर्न छोडेका छैनन्। विस्तारै चीनले नेपाललाई अद्यौगिक केन्द्रमा रुपान्तर गरिरहेको छ। भारतको लागि नेपाल र भोटान ठूलो बजार हो। नेपालको बजार चीनको हातमा जावोस्, त्यो भारतलाई सह्य छैन। भोटानमा भारतीय वर्चस्व बिलाओस्, केन्द्र त्यो चाहँदैन।

सबैभन्दा ठूलो कुरा दार्जीलिङको जनताले ‘हामीलाई भारतीय नागरिक बनाऊ’ भनिरहेको छ। किन भने यसका ऐतिहासिक चुक्तिहरूबारे भारत अहिलेसम्म मौन छ। यसको अन्तराष्ट्रीय अर्थ निक्कै जोखिमपूर्ण बन्दछ। दार्जीलिङका जनताले गरिरहेको दाबी भारतभित्र गोर्खाहरूको अलग राज्य हो। दार्जीलिङको गोर्खाहरूको देशप्रेम र इमान्दारिता यसैले प्रमाणित गरिरहेको छ। यद्धपि, यहाँको चलखेललाई कुनै ठूलो र अन्तराष्ट्रीय शक्तिले दुरुपयोग गरिदिए हानी कसलाई हुन्छ?

त्यसैले पनि चिकन नेकमा धेरै लामो समयसम्म द्वन्द्व भइरहनु देशको सुरक्षाको हिसाबमा राम्रो होइन भन्ने कुरा केन्द्रले बुझिसकेको छ, राज्यले बुझ्दैन त?

यो कुरालाई मुख्यमन्त्री ममता व्यानर्जीले स्वीकार गर्नुपर्ने दिन आउँदैन भन्न सकिन्न। यसै पनि दार्जीलिङ अद्यौगिकरूपले पनि धेरै सम्भावना र क्षेत्र बोकेर बसेको ठाउँ हो। विश्वकै 8 वटा औषधीय बनस्पतिहरूको हटस्पट जोनमा दार्जीलिङको हिमालय क्षेत्र पनि पर्छ। उत्तरपूर्वी हिमालय क्षेत्रमा दार्जीलिङलाई अन्तरभुक्तिको माग यसैले त उठिरहेको छ। टि, टिम्बर र टुरिज्म आर्थिक सम्भावना बोकेको ठाउँ छँदैछ। चिकन नेक हुनुपनि अन्तराष्ट्रीय सम्बन्धको लागि निक्कै संवेदनशील कुरा हो। चिकननेकबाट केन्द्र सरकारले विदेश नीतिहरूमार्फत देशको फाइदाको लागि धेरै काम गर्न सक्छ।

यसैले कुनै न कुनै बेला दार्जीलिङको समस्याको स्थायी राजनैतिक सामाधानको बाटो खोज्न केन्द्र र राज्य सरकार आफै बाध्य पर्ने हो। त्यो बाध्यताको निर्माण दार्जीलिङमा भइरहेको पहिचानको लडाईँले नै गरिरहेको छ। यद्धपि, दार्जीलिङजस्तो सुनको अण्डा दिने हाँस हातबाट गुम्ने भयलाई राज्य सरकारले राजनीति गरिरहेको मात्र त हो। त्यो कतिवर्षसम्म गर्न सक्छ त?

राजनीतिलाई हेर्ने दष्टिकोण आजको पुस्तामा अर्कै छ। जबसम्म पुरातन राजनीतिक व्यापारीहरू राज्य र केन्द्रमा रहन्छ, तबसम्म दार्जीलिङको समस्या जिउँको त्युँ होला, तर त्यो स्थायी कुरा होइन। नयाँ पुस्ताले राजनीतिको पुरानो काँचुली निकालेको दिन स्थिति अर्कै रहन सक्छ। भाजपा निक्कै दुरदर्शी पार्टी देखिन्छ, यस्तो मामिलामा। दार्जीलिङको समस्याबाट भविष्यमा निम्तिन सक्ने समस्यालाई अहिलेदेखि नै सम्बोधन नगरे भूल हुनेछ भन्ने भाजपाले बुझिसकेको हो कि भन्ने कुरा अनुमान गर्न सकिन्छ।

विनय तामाङहरूको हिटलरी शासनले भोलिको आन्दोलनको बीज रोपिरहेको छ। शुरुवात शारदा राई सुब्बाले नै गरिन्। जो नजिक छन्, उसैलाई आनाबानी थाहा हुन्छ। जुन आनाबानी आफूहरूको अस्तित्वको निम्ति स्वस्थकर छैन भने किन विद्रोह गर्ने त?

जनताले त लोकसभा चुनाउ र विधानसभा उपचुनाउमा आफ्नो ‘मत’-बाट विद्रोह गरिसकेकै छन्। यद्धपि, दलीयरूपमा शारदा राई सुब्बाको विद्रोह शुरुवात हो। भोलि सुब्बालाई पार्टीबाट उम्मेदारी फिर्ता लिने चाप हुनै सक्छ, त्यो अर्को कुरा हो तर उनले जुन जुन कारण देखाएर उम्मेदारी दिइरहेका छन्, यसले विनय तामाङो राजनीति कोमातिर गइरहको सङ्केत भने दिएको छ। दिएको छैन त?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया