‘बाजारु हल्लीखल्ली सकिएपछि पनि बाँच्ने सामर्थ्य फातसुङ-मा छ’

दार्जीलिङमा गोर्खा जातिनाममा हरेक जातगोष्ठी सङ्गठित छन्। तर मार्क्सवादी कम्युनिष्ट पार्टीले जनगणनाबाट गोर्खा हटाएर सबैलाई जात-जातमा झारेर गोर्खा एकता टुटाउने कुटनीति अप्नायो। त्यही टुटाइएका जातहरूको भाषिक, सामाजिक, सांस्कृतिक सम्वर्धन भन्दै तृणमूल काङ्ग्रेसको सरकारले विकास बोर्डहरू दिएपछि पछिल्लो समय हरेक जातले ‘गोर्खा’-जातिले आफूहरूमाथि विभेद गरेको भन्ने डिस्कोर्स शुरु गर्न थालेको छ। फातसुङ निस्किएदेखि नै छुदेनले पनि यही डिस्कोर्सको टेकोमा आफ्ना कुराहरू राख्दै आएका छन्। कवि प्रदीप लोहागुणले यही सन्दर्भ कोट्याए। ‘गोर्खा भन्ने छाता हो भने त्यो छाताको सबै करङ बराबर हुनुपर्ने हो, तर मैले बराबर देखिन,’ छुदेनले प्रदीपको प्रश्नको उत्तर दिए, ‘दार्जीलिङको हरेक क्षेत्रको नाम लेप्चा भाषाबाट बनिएको छ। तर लेप्चाहरू आफैँ चाहीँ कसरी बाँचेका छन्। त्यो गोर्खा छातामुनि लेप्चाहरूको उपस्थिति कहाँ छ, त्यो देखाउने कोसिस गरेको हुँ।’


कालेबुङ, 2 मई

‘फातसुङ हाम्रो लागि ‘पाथ ब्रेकिङ’ उपन्यास हो,’ शुरुमा नै कवि सुधीर छेत्रीको यस्तो घोषणा थियो। फाइनप्रिन्ट नेपालका अजित बरालको कुरा पनि उस्तै थियो। ‘फातसुङले नेपाल-भारतका लेखकहरूबीच पुल बनाउने काम गर्नेछ,’ उनले भने।

सम्बोधन प्रकाशनका मालिक सुरज रोसुरीले त फातसुङ-लाई पछ्याएर नयाँ पुराना लेखकहरू अघिआउने समेत बताए। ‘फातसुङमाथि मेरो यो भरोसा हो। यसैले मैले यो उपन्यास प्रकाशित गरेको हुँ’, रोसुरीले भने।

फातसुङ छुदेन काविमोद्वारा लिखित यस्तो उपन्यास हो, जसलाई नेपाल र भारतमा दुइ अलगअलग प्रकाशनले प्रकाशित गरेको छ। नेपालको लागि फाइनप्रिन्ट र भारतको लागि सम्बोधन प्रकाशनले यो कृति बजारमा ल्याएको हो।

यही फातसुङको बुधबार कालेबुङमा लोकार्पण गरियो। कवि मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, मोहन ठकुरी अनि कथाकार उदय थुलुङले कृति लोकार्पण गरेका हुन्।

कवि सुधीर छेत्रीले उपन्यास पाठकप्रिय र गहन रहेको ठहर गरे। उनी कृतिबारे बोल्न मञ्चमा थिए। ‘सुबास घिसिङले आन्दोलन सम्झौता गरेको एकवर्षपछि जन्मिएका छुदेनले उतिबेलाको आन्दोलनलाई जस्ताको त्यस्तै कसरी टिपेको होला, मलाई अचम्भै लाग्यो,’ उनले भने, ‘छुदेनले आन्दोलनको इतिहास लेखेको भए बिर्सिएर जान सक्थ्यो, तर आख्यान लेखे, यो उपन्यास जुकजुक बाँच्नेछ।’

उनले फातसुङ अहिले प्रकाशकहरूको पुस्तक हल्ला र बाजारू हल्लीखल्लीबीच रहेको भएपनि हल्लीखल्लीहरू सकिएपछि पनि बाँच्ने सामर्थ्य उपन्यासले बोकेको किटानसमेत गरे।

आख्यानकार छुदेन काविमोसित संवाद गर्दै प्रदीप लोहागुणले उपन्यास लेखनका अघिपछिका सन्दर्भ कोट्याए। छुदेनको भनाई थियो, शुरुमा उनलाई छत्रे सुब्बाको कथा लेख्न मन लागेको थियो। तर छत्रे सुब्बाले आन्दोलनका चाखलाग्दा कुरा नै चिप्लाएनन्।

उनलाई लेख्नु त थिँदैथियो, यसैले पछ्याए छत्रे सुब्बाका निकटकाहरूलाई। ‘झन्डै दुईसयजस्ता मानिसहरूसित सोधीखोजी गरेपछि बल्ल उपन्यासको खाका बनियो,’ छुदेनले सुनाए, ‘मैले आफूले देखेको समाज लेख्ने कोसिस गरेको हुँ।’

दार्जीलिङमा गोर्खा जातिनाममा हरेक जातगोष्ठी सङ्गठित छन्। तर मार्क्सवादी कम्युनिष्ट पार्टीले जनगणनाबाट गोर्खा हटाएर सबैलाई जात-जातमा झारेर गोर्खा एकता टुटाउने कुटनीति अप्नायो। त्यही टुटाइएका जातहरूको भाषिक, सामाजिक, सांस्कृतिक सम्वर्धन भन्दै तृणमूल काङ्ग्रेसको सरकारले विकास बोर्डहरू दिएपछि पछिल्लो समय हरेक जातले ‘गोर्खा’-जातिले आफूहरूमाथि विभेद गरेको भन्ने डिस्कोर्स शुरु गर्न थालेको छ।

फातसुङ निस्किएदेखि नै छुदेनले पनि यही डिस्कोर्सको टेकोमा आफ्ना कुराहरू राख्दै आएका छन्। कवि प्रदीप लोहागुणले यही सन्दर्भ कोट्याए।

‘गोर्खा भन्ने छाता हो भने त्यो छाताको सबै करङ बराबर हुनुपर्ने हो, तर मैले बराबर देखिनँ,’ छुदेनले प्रदीपको प्रश्नको उत्तर दिए, ‘दार्जीलिङको हरेक क्षेत्रको नाम लेप्चा भाषाबाट बनिएको छ। तर लेप्चाहरू आफैँ चाहिँ कसरी बाँचेका छन्। त्यो गोर्खा छातामुनि लेप्चाहरूको उपस्थिति कहाँ छ, त्यो देखाउने कोसिस गरेको हुँ।’

छुदेनले आफ्नो आउँदो कृति पनि उपन्यास नै हुने जनाएका छन्।

यसैबीच आख्यानको सम्भावनाबारे कवि राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा अनि जय क्याक्टससित कवि टीका भाइले बहस चलाए। राजेन्द्र भण्डारी र मनप्रसाद सुब्बाको कुरा थियो, अस्सीको दशकको राजनैतिक समाज लेख्ने जोखिम कुनै सर्जकले उठाउन सकेनन् किनभने त्यतिखेर सर्जकहरू राजनीतिले उत्पन्न गरेको भयबाट मुक्त बन्नै सकेनन्।

जय क्याक्टसलाई उनीहरूको कुरा सही लागेन। ‘आन्दोलनलाई सर्जकीय दृषिकोणले हेर्न नसकेकैले नलेखिएका हुन्,’ क्याक्टसले लेखकहरूको क्षमतामा नै आक्रमण गरे, ‘लेखनलाई राजनीतिले नलेख्नको लागि प्रभाव पार्दैन। त्यतिखेरका लेखकहरूले त्रास हटाउनै सकेनन्, यद्धपि आजका सर्जकहरूले हरेक आन्दोलनलाई लेखनका स्पेसबाट हेर्ने गर्छन्।’

उनले उदाहरण नै दिए, छुदेनले 1986 लेखे, फातसुङ लेखे। तर जसले आन्दोलनलाई प्रत्यक्ष भोगे उनीहरूले लेखिदिएनन्। आफूले लेख्न नसक्नुको दोष राजनीतिलाई खन्याउन नमिल्ने उनको तर्क थियो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया