विशाल नाल्बोका तीन कविता

तीन कविता

विशाल नाल्बो


डियर चिम्सी

पानी परिहेको थियो

छेउको रेडियोमा

बजिरहेको थियो

गुलाम अलीको प्रेमिल गीत

 

तिमी घरको बलेसीमा झरेको पानीको

थोपाभित्र कुन्नी के के खोजिरहेकी थियौ

र हेरिरहेकी थियौ

आँगनतिर एकोहरो।

 

हो त्यै बेला त हो

मैले तिमीलाई सब भन्दा बेसी हेरेको।

 

अहिले तिमी छैनौ मसँग

तर जब पानी पर्छ

सब भन्दा पहिले म तिमीलाई सम्झिन्छु

यो सानो सानो पानीको थोपाहरूले बोकेर ल्याइदिन्छ

ठूलो ठूलो तिम्रो याद।

 

ओ! डियर चिम्सी

त्यो पल कति रोमाण्टिक थियो हगी?

जब कपमा चिया रित्तिँदै गर्दा

बल्ल हाम्रो गफ सुरू हुन्थ्यो।

 

त्यो दिन

मनले भनेको थियो-

बरू नरोकियोस् पानी

तिमी उसैगरि पानीको थोपाहरू हेरेर टोलाइरहनू

र म हेरिरहूँ तिमीलाई एकोहरो।

 

तर के सुन्थ्यो अट्टेरी मौसमले मनको कुरा

र त रोकिदियो पर्दै गरेको पानी

अनि भत्काइदियो मैले गरिरहेको कल्पनाको पर्खाल।

 

डियर चिम्सी

जब जब तिम्रो सम्झनाले धेरै सताउँछ नि

तब लाग्छ पानी परिदियोस्

कि म पानीको थोपाहरूलाई छोएर

गर्न सकूँ तिम्रो यादको स्पर्श।


लभ फेरवेल

तिमीले छोडी राखेको सम्झनाको

पोको बाहेक अरू त अब के छ र मसँग।

 

साँची नुमा

तिमी त जान्छु नभनी गयौ

जस्तो कि आउँछु नभनी आउँछ

छाती फुटाउने गरी तिम्रो सम्झना।

 

कमसेकम तिमीले

जानेको इशारा हातले नै दिएकी भए पनि

गर्थे हुँला तिम्रो यात्रा सफलताको कामना

फिर्ता माग्थे हुँला तिमीले मसँग खाएको कसम

र गएर सुनाउनेथे हुँला

हाम्रो प्रेम असफल भएको कुरा देउरालीलाई।

 

साँची नुमा

तिमी त जान्छु नभनी गयौ

जस्तो कि आउँछु नभनी आउँछ

भयानक आँधीबेह्री।

 

तिमी गएदेखि

क्यै क्यै क्यै ठिक् ठाक् छैन

सपना ठिक् ठाक् छैन

विपना ठिक् ठाक् छैन

जिन्दगी ठिक् ठाक् छैन

मन ठिक् ठाक् छैन।

 

साँची नुमा

तिमी त जान्छु नभनी गयौ

जस्तो कि आउँछु नभनी आउँछ

धर्ती तर्साउने भुइँचालो।

 

मलाई लागिबस्छ

फेरि फर्केर आउनु नि त्यो जिन्दगी

फर्केर आउनु

स्कूलको पछिल्लो बेन्चमा बसेर

तिमीलाई हेरेको त्यो पहिलो नजर

 

फर्केर आउनु

आफैसँग लजाउँदै तिमीलाई लेखेको

त्यो पहिलो प्रेम पत्र

 

फर्केर आउनु

अम्लिसोको सेन्टा तिखारेर

हातमा खोपेको तिम्रो नाउँको त्यो पहिलो अक्षर

 

फर्केर आउनु

तिमीलाई प्रेम प्रताव राखेर

तिम्रै डरले एक हप्तासम्म स्कूल नगएको

अबोध समय।

 

साँची नुमा

तिमी त जान्छु नभनी गयौ

जस्तो कि आउँछु नभनी आउँछ

घरि घरि तिम्रो झझल्को।


किसान स्केच

जब गाउँमा अनिकाल पस्छ

ठिक त्यो बेला

कि त दिल्लीले खान्छ

कि त चेन्नईले खान्छ

गाउँको रणमायाहरूको अर्ग्यानिक सपना।

 

किसान रामबहादुरहरूले

आत्माहत्या गरेको भोलिपल्ट

अच्छे दिन आइगएको घोषणा गर्छ सरकार

र खोस्छ किसान नागरिकता

अनि चलाउँछ डिजिटल इण्डिया अभियान

 

त्यो खबर टिभीमा देखिपछि

मरी मरी हाँस्छ हर्कमान गोठाले

र भन्छ, नाथु सरकार

खुन पिएर के के बोल्छ बोल्छ

बौलिएर के के गर्छु भन्छ भन्छ।

 

आमाले जीवनको दुइ एपिसोड

यै खेत खनेर बिताइन्

जहाँ अहिले बनिएको छ

सयदिनेको आधा कल्चो बाटो।

 

कृषक सन्चवीर लिम्बुको

कोदोबारीको भितामा झुण्डाइएको छ

एजुकेसन इज् लाइफ अफ लाइट्

एण्ड एजुकेसन फर्र अल

लेखिएको सर्वशिक्षा अभियानको बोर्ड

त्यै बोर्डको फेदमा बसेर

सोधिबस्छ सन्चवीर लिम्बु

अक्षर भनेको कस्तो हुन्छ?

स्कूल भनेको कस्तो हुन्छ?

 

जब जब यो देशको शिक्षा आयोगले

सर्वशिक्षा अभियानको घोषणा गर्छ

तब तब नै किन अनपढ हुन्छन् हँ

गाउँको सन्चवीर लिम्बुहरू?

 

अदुवा कुहेर अचेत भएको चेतनालाई

ब्ल्याकमेल गर्छ कुच्चोको भाउ

जब सुकाउरो परेर मर्छ अलैंची

गाउँको दिलमाया दिदीहरूको बैशालु सपनाले

सुसाइड गर्छ अलैंचीकै पातमा झुण्डिएर।

 

फल्दैफल्दैन ग्यारेण्टी बिनाको कोदो

दश रूप्पे केजीबाट माथि

कहिल्यै उक्लिँदैन कुच्चोको भाउ

र अभावले जहिले समातिबस्छ

किसानहरूको स्कूल जाने छोरा छोरीको खुट्टा

यो कण्डोमको एड् देखाउने टिभी च्यानलले

किन देखाउँदैन हँ अलैंचीको बजार?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया