फानी आतङ्क : बंगालमा प्रवेश गरेसँगै त्यसको असर कम

बंगालमा प्रवेश गरेसँगै त्यसको असर कम हुँदै गएको बताइएको छ । यसले बंगालका कोलकातालगायतका हुग्ली, झारग्राम, मेदिनिपुरलगायतका जिल्लामा प्रभाव पार्ने बताइएको छ । यसलाई ध्यानमा राख्दै कोलकाता विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएकोछ भने सयौंको संख्यामा रेल पनि स्थगित गरिएको छ भने तटीय क्षेत्रमा प्रवेश गरेसँगै राज्य सरकारले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आहृवान गरेको छ ।


बंगालको खाडीमा विकसित शक्तिशाली समुद्री चक्रवात फानीका कारण  पूर्वी तटीय राज्य उडिसामा तीनजनाको मृत्युका हुनुका साथै ठूलो धनमालको क्षति भएको छ । बुधबार बिहान बंगालको खाडीको विकसित फानी शुक्रबार बिहान १० बजे उडिसाको तटीय क्षेत्रमा प्रवेश गरेको थियो ।

त्यसको असर स्वरूप करिब २ सय किमि प्रतिघन्टाको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा तीन जनाको मृत्युका हुनुका साथै ठूलो मात्रामा भौतिक क्षति पुगेको हो ।सर्वसाधारणमा सामुदि्रक आँधीबाट हुन सक्ने क्षतिको पर्याप्त मात्रामा चेतावनीसहितको पूर्वसूचना प्रवाह गरिएका कारण धेरैको ज्यान भने भएन । तर, अत्यधिक तीव्र गतिको आँधीका कारण ठूलो मात्रामा धनमालको पनि क्षति भने भएको छ ।

भारी वर्षा सहित आएको हुरीले ठुल्ठूला रुखहरू ढाल्नुका साथै पक्की पर्खालहरूसमेत ढालेको छ । त्यसैगरी ठूलो संख्यामा बिजुली पोल, टेलिफोनका टावरहरूमा पनि क्षति पुगेको छ । रेडियोका टावरहरू पनि ढलेका छन् । फानी उडिसाको पुरी छेउको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो । साथै दर्जनौं गाउँ डुबेका छन् ।

फानीकै कारण उडिसा भएर जाने सबै फ्लाइट र ट्रेनलाई स्थगित गरिएको छ । प्रभाव क्षेत्रमा तत्काल उद्धारका लागि सरकारले जल र वायु सेनालाई विशाखापटनममा तयारी अवस्थामा राखेको थियो । साथै मानवीय क्षति हुन नदिन तटीय क्षेत्रका करीब १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको थियो ।

सञ्चारमाध्यमहरूका अनुसार जल सेनालाई सामुद्रिक आँधीको असर कम भएसँगै औषधि र खाद्य सामग्रीलगायतका अत्यावश्यक राहत सामग्री पुर्‍याउनका लागि तीनवटा जहाजलाई तयारी अवस्थामा राखेको जनाएका छन् । मौसम पूर्वानुमान विभागले फानी उडिसाको खुर्दा, कटक, बलासोर, भद्रा, भुवनेश्वर हुँदै पश्चिम बंगालतर्फ सोझिएको जनाएको छ ।

बंगालमा प्रवेश गरेसँगै त्यसको असर कम हुँदै गएको बताइएको छ । यसले बंगालका कोलकातालगायतका हुग्ली, झारग्राम, मेदिनिपुरलगायतका जिल्लामा प्रभाव पार्ने बताइएको छ । यसलाई ध्यानमा राख्दै कोलकाता विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएकोछ भने सयौंको संख्यामा रेल पनि स्थगित गरिएको छ भने तटीय क्षेत्रमा प्रवेश गरेसँगै राज्य सरकारले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आहृवान गरेको छ ।

साथै, पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले ट्वीट गर्दै फानीबाट हुन सक्ने क्षति र उद्धारको प्रत्यक्ष निगरानीका लागि आफ्नो चुनावी अभियानलाई दुई दिनका लागि स्थगित गरेको जनाएकी छन् ।त्यसपछि यो बंगलादेशतिर जाने सम्भावना छ । त्यही भएर बंगलादेशमा पनि सावधान रहन सूचना जारी गरिएको छ ।  मौसम पूर्वानुमान विभागले आसाम, अरुणाचल, मेघालय, मिजोरम, मणिपुर र त्रिपुरालगायतका राज्यमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

फानीकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारका लागि तय गरिएका झारखण्ड राज्यका चुनावी र्‍यालीहरू स्थगित गरेका छन् । भारत सरकारले फानी प्रभावित क्षेत्रमा उद्धारका लागि करिब १ हजार करोड  दिने घोषणासमेत गरेको छ । सञ्चारमाध्यमहरूका अनुसार फानी  पछिल्लो दुई दशकमा आएको सबभन्दा शक्तिशाली आँधी हो ।

यसअघि सन् १९९९ मा सामुद्रिक आँधीले करिब १० हजारभन्दा बढीको ज्यान लिएको थियो । सामुद्रिकआँधी उडिसाको तटीय क्षेत्रमा प्रवेश गरेकै समयमा जन्मेकी एक बालिकाको नाम फानी राखिएको छ । भारतीय रेल्वेकी कर्मचारी ३२ वर्षीया महिलाले भुवनेश्वरकै रेल्वेको अस्पतालमा बालिकालाई जन्म दिएकी हुन् । फानीले उडिसामा छिरेलगत्तै जन्मिएकी हुँदा बालिकाको नाम फानी राखिएको सञ्चारमाध्यमहरूले परिवारलाई उद्धृत गर्दै जनाएका छन् ।-कान्तिपुर

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया