जिएसएसएसको विद्रोहको कारण र यथार्थ

स्पष्टिकरण

क्षेत्रीय चुनावको महत्व विभिन्न समस्याको समाधान गर्नमा मात्र होइन तर हाम्रो आस्तित्व जगेराको निम्ति पनि अनिवार्य छ।  क्षेत्रीय स्तरमा हामी आफै चुनाव लडेर जित्ने विश्वास पनि आफैमा राख्दैनौं भने कसरी हामी यस क्षेत्रको स्वामित्वको दाबी गर्न सक्छौं? भन्ने हाम्रो चिन्ता हो। भोलि गोर्खाल्याण्डको राजधानी हुने, गोर्खाल्याण्डको मुटु, एउटा प्रमुख निर्वाचन क्षेत्र दार्जीलिङमा नै  विधायकको चुनावमा पनि राष्ट्रीय पार्टीलाई चिट्ठी लेखेर चुनाव चिन्ह माग्दैछ भने यी नेतृत्वहरूले भोलि गोर्खाल्याण्ड क्षेत्रभित्रको निर्वाचन क्षेत्र मतिगड़ा, नक्सलबारी, फाँसीदेवा, चोपडा तिर हाम्रो अस्तित्वको रक्षा कसरी गर्ला भन्ने चिन्ता लागेको हो हामीलाई।


किरण बीके


जिएसएसएसको विरोध कुनै व्यक्तिलाई होइन, कुनै प्रत्याशीलाई होइन, कुनै पार्टीलाई पनि होइन, जिएसएसएसको असन्तोष भनेको राष्ट्रीय पार्टीको चरणमा क्षेत्रीय राजनीतिको समर्पणमाथि हो।

हामी गोर्खाहरूको समस्या २ प्रकारको छ, एउटा राष्ट्रीय समस्या, एउटा क्षेत्रीय समस्या। राष्ट्रीय समस्यामा देशका विभिन्न कुनामा बसेका गोर्खाहरूको राष्ट्रीय चिन्हारी र राजनैतिक सुरक्षा सुनिश्चित गर्न हेतु छुट्टै राज्य गोर्खाल्याण्डको निर्माणको कुरा प्रमुख छ।

प्रस्तावित गोर्खाल्याण्ड राज्य लगायत देशका  विभिन्न राज्यहरूतिर बसोबास गर्ने गोर्खाहरूको भिन्न किसिमको समस्याहरू छन्। यी राष्ट्रीय समस्याहरूलई सम्बोधन गर्नको निम्ति हामी प्रतिनिधि पठाउने गर्छौ, सांसद बनाएर। अहिले आधा नेतृत्व राज्यको शरणमा र आधा नेतृत्व केन्द्रको शरणमा पुगेपछि  हाम्रो प्रतिनिधि वा सांसद आफै बनाएर पठाउने हुतिकार पनि हाम्रोमा रहेन।

अब रह्यो क्षेत्रीय मुद्दाको कुरो, क्षेत्रीय स्तरमा त मुद्दाको भरमार नै छ। यसलाई सम्बोधन गर्नको निम्ति यस्तो प्रतिनिधि पठाउन जरूरी छ जसको जवावदेही मात्र जनताप्रति होस्, कुनै बाध्यताले बाँधिएको नहोस्, हाईकमानको आदेशमा मात्रै चल्नुपर्ने बाध्यता नहोस् तर उसको हाईकमान नै जनता होस् भन्ने हाम्रो आकांक्षा हो।

क्षेत्रीय चुनावको महत्व विभिन्न समस्याको समाधान गर्नमा मात्र होइन तर हाम्रो आस्तित्व जगेराको निम्ति पनि अनिवार्य छ।  क्षेत्रीय स्तरमा हामी आफै चुनाव लडेर जित्ने विश्वास पनि आफैमा राख्दैनौं भने कसरी हामी यस क्षेत्रको स्वामित्वको दाबी गर्न सक्छौं? भन्ने हाम्रो चिन्ता हो।

भोलि गोर्खाल्याण्डको राजधानी हुने, गोर्खाल्याण्डको मुटु, एउटा प्रमुख निर्वाचन क्षेत्र दार्जीलिङमा नै  विधायकको चुनावमा पनि राष्ट्रीय पार्टीलाई चिट्ठी लेखेर चुनाव चिन्ह माग्दैछ भने यी नेतृत्वहरूले भोलि गोर्खाल्याण्ड क्षेत्रभित्रको निर्वाचन क्षेत्र मतिगड़ा, नक्सलबारी, फाँसीदेवा, चोपडा तिर हाम्रो अस्तित्वको रक्षा कसरी गर्ला भन्ने चिन्ता लागेको हो हामीलाई।

एकसमय सिलगढी हाम्रो सत प्रतिशत वर्चस्व भएको जग्गा थियो। जब हामीले राज्य र राष्ट्रका पार्टीहरूलाई आफ्नो राजनीति समर्पण गर्दै गयौं क्षेत्रीय पार्टीहरू हराउँदै गए।  हामी क्षेत्रबासी पनि अल्पसंख्यक हुँदै गयौं। सिमाना घटेर सुकुना नाग्यो र आज हाम्रा नानीहरूको निम्ति कथा मात्र भयो। इतिहास साक्षी छ, प्रत्यक्ष छ। हाम्रो अस्तित्व र हाम्रो मुद्दालाई ज्युँदो राख्नको निम्ति क्षेत्रीय पार्टी बाँच्नुपर्छ। आफ्नो बुतामा लडेर क्षेत्रीय चुनावहरू जित्नुपर्छ भन्ने हाम्रो तर्क हो। क्षेत्रिय वर्चस्वको अनिवार्यता र आवश्यकता बुझ्नु हो भने त्रिपुराको वर्तमान स्थिति साथै त्रिपुरीहरू को स्थितिको निर्क्योल गऱ्यौं भने कुरो छर्लङ्ग बुझिन्छ।

जनताले जुन प्रकारको विश्वास विगत लोकसभा चुनावमा देखाएर आफ्नो दायित्व निर्वाह गरे उनीहरूको निम्ति विश्वासघात  हुनुहुँदैन। प्रमुख क्षेत्रीय पार्टीहरूले एक एकवटा निर्वाचन क्षेत्र बाँडेर एक अर्कालाई सघाएको भए एकता पनि कायम रहने थियो, हाम्रो आस्तित्व पनि अक्षुण्ण रहने थियो।

हामीले कसैलाई जिताउनु मात्र ठुलो कुरो होइन। त्यो जितमा भोलि बोल्ने बाटो पनि हुनुपर्छ। यो भोटको मात्र होइन नाकको लडाईँ पनि हो। हाम्रो बर्चस्वको लडाईँ हो गोर्खाको निम्ति।

लेख्दै जानु हो भने यस्ता थुप्रै कुराहरू छन् तर, विशेष कुरा भने हाम्रो अस्तित्वको नै हो।  आफ्नो घरभित्र आफ्नै दबदबा हुनुपर्छ। आफ्नो नियन्त्रणमा हुनुपर्छ। छिमेकीलाई आफ्नो घर चलाउनु दियो भने समाजले राम्रो भन्दैन र टेर्दैना पनि। ड्राइभरले गाडी भिरतिर लाँदैछ भनेर बुझाउने मान्छेलाई जाति विरोधी र माटो विरोधी को नाम दिएर तर्कलाई दबाउनु हुँदैन।

पेसेन्जर हामी सबै हौं, खतरा सबैलाई हुन्छ। स्वस्थ बहस हुनुपर्छ। राजनीति गर्दा अगाडिको ५ साल २० साल ५० साल लाई हेरेर गरिनु पर्छ। २३ मई २०१९ लाई मात्र हेरेर राजनीति गरिनु हुँदैन। अदुरदर्शी राजनीतिले भविष्य अन्धकार बनाउँछ। हर मोडमा दुर्घटना लिएर आउँछ। २००७ देखिको क्षेत्रिय राजनीतिमा आफू सक्रिय रहेर भित्र साथै बाहिर पनि बसेर हेरेपछि यी यथार्थहरू जनतालाई बुझाउन म आफ्नो जिम्मेवारी सम्झन्छु।

अरू जनता जनार्दनको हातमा नै छ र जनताले पनि २३ मई मात्र नहेरे मुद्दाको सिपाही बनेर विवेक मतदान गर्ने अपील गर्दछौं।

एकता हुनुपर्ने र बङ्गाललाई हराउनु पर्ने मात्र ठूलो प्रश्न होइन  तर  यो एकतालाई निरन्तरता दिँदै अझ सशक्त कसरी गर्ने साथै यसको उर्जालाई कहाँ र कसरी प्रयोग गर्ने भन्ने प्रश्न पनि प्रमुख हो अनि बङ्गाललाई घुँड़ा टेकाए पछि हामी उभिनु पर्ने जग्गा पनि तय हुनु पर्छ।

किनकि यो भन्दा पहिला पनि एकता भएकै हो एकछत्रीय शासन चलेकै हो। बङ्गाललाई पनि बारम्बार हराएकै हो तर साधारण जनताले त्यसको प्रतिफल के पायो त्यो प्रत्यक्ष नै छ।

जिएसएसएसले लामो अन्तरालदेखि गर्दै आएको जातीय एकता र जाति उन्मुक्तिको कार्यलाई नै निरन्तरता दिनेछ। चुनावको माहोलमा जिएसएसएसलाई भेटे पनि नभेटे पनि चुनाव पछि रणभूमिमा जिएसएसएस फेरि साथमा हुनेछ र शसक्त हुनेछ।

 

(बिके जिएसएसएसका अध्यक्ष हुन्)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया