अब पार्टीको होइन जातिको प्रतिनिधित्व गरौं, अब पाँच वर्ष दिल्लीमा एक भएर जुटौं-विमल गुरुङ

‘अब दिल्लीले बोलाएको जति पनि वार्ता हुन्छ 23 तारिकको चुनावी फलाफलपछि एउटै मुद्दा बोकेर जाऔं,’ उनले भने, ‘दिल्लीमा केही पनि कुरा गर्नुपर्छ भने, एक भएर जाऔं।  हरेक पार्टीको दुइदुइजना प्रतिनिधि होस्। जुन दिन  दिल्लीमा वार्ता तय गर्छौं, त्यसमा जापको होइन, मोर्चाको होइन, क्रामाकपाको होइन, गोरामुमोको होइन अथवा कुनै दलको होइन जातिको प्रतिनिधि भएर जाऔं।’


कालेबुङ, 4 मई


भारतीय जमता पार्टीले चुनावी मेनिफेस्टोमा गोर्खाहरूको लागि भनेर दुइवटा बुँदाको उल्लेख गरेको छ। एउटा 11 जातलाई जनजातिको मर्यादा प्रदान गरिने अर्को गोर्खाहरूको समस्याको स्थायी राजनैतिक सामाधान गर्ने।

लोकसभा चुनाउमा तृणमूल काङ्ग्रेस, गोजमुमो-2 र केही दलबाहेक पहाडका प्रभावकारी विपक्षका दलहरू भने भाजपाका उम्मेदवारको लागि सङ्गठित बने। तर त्यो एकता विधानसभा उपचुनाउमा आइपुग्दा भत्कियो। लोकसभाका लागि एक भएका दलहरू विधानसभा उपचुनाउसम्म आइपुग्दा यसरी भत्कियो, जसले दलहरूबीच विभिन्न वौमन्सयता उत्पन्न गरिसकेको छ।

लोकसबाका मित्रहरू विधानसभामा दुश्मन बनिसकेको छ। जो मुद्दा र जातिको लागि स्वस्थकर छैन।

चौकीसम्म पुग्नलाई दलीय एकता नै तोड्न थालेपछि जनतामा राम्रो सन्देश गइरहेको छैन। यसैबीच गोजमुमो विमल गुरुङले फुटेर होइन जुटेर काम गरौं भन्ने आह्वान सबै दलसित गरेका छन्। उनले अब केन्द्रसित वार्तामा कुनै एउटा दल होइन सबै दलको प्रतिनिधि जानुपर्ने आह्वान गरेका छन्।

अब दिल्लीमा हुने वार्ता र मुद्दाहरूमाथि हुने छिनाफानाको श्रेय एउटा दलले होइन सबै दलले, एउटा दलले होइन जातिले वा सबै जनताले लिनुपर्ने पनि जनाएका छन्।

उनले भनेका छन्, ‘हिजोसम्म सबै दलले आआफ्नो महत्वाकांक्षा पूरा गर्न जनतालाई गुमराह गऱ्यौं होला, तर अब त्यसो गर्न उचित हुने छैन।’

उनीअनुसार भाजपाद्वारा यसपल्ट दार्जीलिङको जनकांक्षा सम्बोधन हुनेगरी गोर्खाहरूको मुद्दालाई मेनिफेस्टोमा सम्बोधन गरिएको छ। यसैलाई केन्द्रमा राखेर नै दार्जीलिङका दलहरूले उप्रान्त रणनीति तयार गर्नुपर्छ। उनी अनुसार यो दार्जीलिङका गोर्खाहरू र दलहरूले पाएको अवसर पनि हो। दार्जीलिङका दलहरू अहिले नै फुट्न थाले जनताले दलहरूकै कमजोरीको कारण यो अवसर पनि गुमाउने छन्। अब पहाडका दलहरूबाट यस्तो गल्ती हुनुनहुने गुरुङको जिकिर हो।

उनले गोजमुमो-2 र तृणमूलबाहेक पहाडका सबै विपक्षका दलहरूसित यस्तो आह्वान गरेका हुन्।

‘हिजोसम्म आआफ्नो झण्डा बोकेर एकार्कालाई दोष्यायौं। गुनासो गऱ्यौं। सबैले आआफ्नो पार्टीको गरिमा बँचाउन आआफ्नै काम गऱ्यौ तर स्वाधिनता भएको यतिका वर्षसम्म पनि गोर्खाहरूले भने न्याय पाएनन्,’ गुरुङले भनेका छन्, ‘यसैलाई हेरेर अब पहाडका सबै दलले एउटा योजना र रणनीति बनाएर काम गर्न अनिवार्य छ। अब एकजुट हुन अनिवार्य छ।’

उनले नयाँ योजना र रणनीतिबारे पनि खुलाएका छन्। उनले आफूले मोर्चाको पक्षबाट पहाडका सबै दलसित आह्वान गर्दै भनेका छन्, ‘समय धेरै बितिसक्यो, यद्धपि हाम्रो राजनीति गर्ने शैली उस्तै छ। अब स्वार्थको राजनीति छोडौं। अब दिल्लीमा काम गर्नुपर्ने सबै दलको दायित्व आयो। यो सही समय पनि हो। अब पाँच वर्ष समयलाई खेरो नफालौं। सबै दलले दिल्लीमा हुने सबै वार्तामा सहभागी बनौं। नयाँ आउने सरकारसित बस्ने वार्तामा सबै दलको अनुहार देखिएको हुनुपर्छ।’

अब दिल्लीमा विभिन्न मुद्दा लिएर होइन एउटै मुद्दा लिएर सबै दल एक भएर जानुपर्ने, एउटै मञ्च, एउटै भाषा बोकेर जानुपर्ने बताउँदै कुनै पनि दललाई पर राखेर होइन सबैलाई समेटेर एउटा साझा मञ्च बनाएर अबको दिनमा दिल्लीमा हुनै सबै प्रतिनिधिहरू जानुपर्ने आह्वान उनले गरेका हुन्।

‘अब दिल्लीले बोलाएको जति पनि वार्ता हुन्छ 23 तारिकको चुनावी फलाफलपछि एउटै मुद्दा बोकेर जाऔं,’ उनले भने, ‘दिल्लीमा केही पनि कुरा गर्नुपर्छ भने, एक भएर जाऔं।  हरेक पार्टीको दुइदुइजना प्रतिनिधि होस्। जुन दिन  दिल्लीमा वार्ता तय गर्छौं, त्यसमा जापको होइन, मोर्चाको होइन, क्रामाकपाको होइन, गोरामुमोको होइन अथवा कुनै दलको होइन जातिको प्रतिनिधि भएर जाऔं।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया