हरेक चुनाउ हरेक किस्सा

वरपर

बिमल गुरूङलाई सघाइरहेका एकजना युवा नेताले फेसबुकमा खतरनाक टिप्पणी हानेँ, शिक्षाभन्दा खतरनाक कुरा दुनियामा के छ ? शिक्षित मान्छे छन् र त बनिन्छ न्यूक्लियर बम र एटम बम । शिक्षित छन् र नै त अशिक्षितहरूको शोषण हुन्छ । आदि इत्यादि । आजभोलि सुन्छु ती जुझारू युवा नेता आफै एक शिक्षक छन् । उनले नानीहरूलाई के पढाइरहेका होलान् ?


लेखनाथ छेत्री


कुनै पनि किस्सा लेख्न बस्दा मेरो आँखा अगाडि झलझली आउने अनुहार कवि विनोद प्रधानको हो । प्रसङ्ग निस्केपछि उनीसँग भन्नलाई कुनै न कुनै किस्सा हुन्छ नै । साधारण घटनालाई असाधारण तरिकाले भनेपछि उनी वरिपरि उनको अनुहार हेरेर बस्नेहरू हाँस्न बाध्य हुन्छन् ।

कवि विनोद लामा गाउँका हुन् । लामा गाउँमा अत्याधिक इस्कुस फल्छ । इस्कुसको सिजनमा साम्सुको टुप्पाबाट लामा गाउँलाई हेर्दा इस्कुसको मचानले यस्तो रूप दिन्छ मानो इस्कुसको हरियो समुद्रमा तैरिरहेका छन् मसिना देख्ने ठूल्ठूला घरहरू ।

आन्दोलनको समय इस्कुस बाहिर पठाउन प्रतिबन्ध लागेपछि मान्छेहरूले फलको भारबाट मचान जोगाउनको लागि जिब्रो निकालिसकेको इस्कुसलाई टिप्दै फालेको किस्सा मैले कहीँ सुनेको छु ।

एकचोटि बात गर्दैजाँदा चुनाउको प्रसङ्ग निस्केपछि भोटिङ मशिनमा इस्कुसको चिन्ह नभेटेर उनका गाउँ एक किशान रिसले आमाचाकारी गाली बक्दै झटारिएर पोलिङ बुथबाट बाहिर निस्किएको कुरा उनले आफै पेट मिचिमिची हाँसेर सुनाएका थिए । थाहा छैन यसलाई सत्य मान्नु कि एक बिल्लामात्र ।

मसँग चुनाउका केही किस्साहरू छन् । फ्रेस किस्साहरू । त्यसै त विनोद प्रधान हराइरहन्छन् । गुफामा बसेर ध्यान नैं गरिरहेको भएपनि कवि विनोदले यी किस्सा पढिदिन्छन् कि ?

अर्को एउटा दुखको कुरा छ ।  दुखका कुरा के भने यिनीहरू सबका सब सत्य हुन्।

हातको चिन्ह

काकाको होश त्यतिबेला हराएको थियो जतिबेला दार्जीलिङमा कंग्रेसको बोलाबाला थियो । उनले अन्तिमचोटि हातको चिन्हमा भोट लगापछि होश हराए । सुबास घिसिङको आन्दोलन शुरू हुँदाहुँदै काकाको मानसिक सन्तुलन यति धेरै बिग्रियो, उनले न आफैलाई सम्हाल्न सके न कसैले उनलाई ।

बेलाबेला दस – पन्द्रह दिनको लागि अचम्म तरिकाले काकाको होश आउँछ । होश आएको बेला दाह्री काट्छन् । ऐना हेरेर मुसुमुसु हाँस्छन् । लुगा – फाटा अलि सुकिलो लगाउँछन् । हात गोडा यसरी मुसार्छन् मानो त्यो हात खुट्टा आफ्नो होइन ।  अर्कै मान्छे हुन्छन् काका ।

‘अब बिहे गरिन्छ । गान्टोकमा होटल चलाएर बसिन्छ’,  शायद होश हराउन अगाडि काकाले देखेको अन्तिम सपना यो थियो ।  काकाको  होश आएपछि उनीबाट यही वाक्य हरेक दिन दोहोरिन्छन् । आफू साट्ठी नाघेको पत्तो नपाएको काकाको रवाफ हेरेर हाँसिदिन्छन् सबै । काका भने लाजले भुतुक्क हुन्छन् ।

तर काकाको होश चुनाउको छेक पारेर आउँछ भन्ने ग्यारेन्टी छैन । आउन पनि सक्छ, अनि नआउन पनि । उनले होश हराएदेखि यता यो संयोग कहिल्यै जुरेन ।

तर यसचोटि जुऱ्यो ।

चिटिक्क परेर काका भोट हाल्न घरबाट आँगनमा निस्के । उनीसँग भोट हाल्न जाने  गाउँलेहरू थपिए ।

गाउँलेहरूले सोधे, ‘काका तिम्रो भोट कसलाई ?’

काकाले साइबाबा जस्तो हात उठाएर भनिदिए, ‘हातको चिन्हलाई’ । कुरा सक्कियो।

जसवन्त सिहं बस्नेत

गाउँमा सडक हेर्ने बस्नेत बाबैको सबभन्दा पूरानो सपना थियो । उनी गाउँमा गाडी गुडेको हेर्न नपाई मरे ।

‘सपनामा गाउँमा गाडी गुडेको देखेपछि गाउँमा लोदर लाग्छ’, उनी भन्थे ।

बाटो ल्याउन उनले बाँचिन्जेल कुनै कसर बाँकी राखेनन् । गाउँमा बाटो आउँछ भन्ने आशमा नै उनी चुनावी अभियानमा लाग्थे ।

त्यतिबेलाको समय भारतीय जनता पार्टीका हेबीवेट नेता जसवन्त सिंहको थियो । बाबै त्यसचोटि पनि आसपासका गाउँ डूले । सबैलाई बाटोको लागि भोट हाल्न आग्रह गरे । तर उनको आग्रह गर्ने तरिका फरक थियो ।

बाबैको असली नाम थियो नैनसिंह बस्नेत । नामको एउटा अंश टक्क मिलेपछि उनले त्यसचोटि जसवन्त सिहंलाई आफ्नै विरादरीका भाइजस्ता बनाए । अर्थात जसवन्तसिहं बस्नेत बनाइदिए । यो संगसंगै बाबैले अर्को बिल्ला गरे ।  ‘बिजेपी’लाई ‘बिजेती’ बनाएर ठूलै बैज्जती गरे ।

‘गाउँमा बाटोको ल्याउनको लागि यसचोटिको भोट बिजेतीको नेता जसवन्तसिहं बस्नेतलाई दिनु’, – उनले घर घरमा उभिएर यो वाक्य दोहोऱ्याए ।

क्यालेन्डर किस्सा

यसचोटि चुनाउ प्रचारको लागि गाउँमा बस्नेत बाबै थिएनन् । गाउँ सुन्य थियो । गाउँको कुनै ढुङ्गा मुडा, भित्ता, रूखको छात्तीमा कहीँ कतै पोस्टरिङ देखिएन । कोही मान्छे फलानो पार्टीलाई फलानो चिन्हमा भोट हाल्नु भन्दै आएनन् ।

गाउँलाई आचार संहिताको के अर्थ ? केही सिप नलागेपछि चुनाउको अघिल्लो दिन पार्टीका शाखाका प्रतिनिधि गाउँ झरे । सबैलाई भेला गरे । उनीहरूले पार्टीको ठूल्ठूला मेनिफेस्टोबारे भाषण गरेर कसैलाई झ्याउ गरेनन् । सिधा बाततिर आए । – एउटै गाउँमा बसेपछि सबैको मिलिमतो हुनपर्छ । गाउँ बिभाजन हुनुहुँदैन । भोलिको दिन गाउँ अशान्त नहोस् । यसैले यसपालि फलानो पार्टीको नेतालाई फलानो चिन्हमा सबैको भोट ।

‘पोलिङ बुथ नजिक थापेको डेरामा सबैको लागि खानाको बन्दोबस्त छ । खाएरै फर्कनु । नत्र त्यत्रो खसीको मासु बर्बाद हुन्छ ।’

थप्पडी पड्कियो । सभा सक्कियो ।

अन्तमा उनीहरूले हरेकलाई एक एक वटा क्यालेण्डर थमाए । क्यालेण्डरमा बिमल गुरूङको ठूलो तस्वीर थियो अनि तस्वीरमूनि आधाउधी बितिसकेका महिनाका विवरण । तस्वीरमा बिमलले आफ्नो दाइने हातको चोर औंलाले आफ्नै निधारतिर इशारा गरेका थिए । के भनेका हुन् कुन्नि उनले ?

शिक्षित र अशिक्षित

चुनावी लडाइँमा थिए त्यतिबेला महेन्द्र पी. लामा । डाक्टर महेन्द्र लामा । हेर्नेहरूले यसलाई बिमल अनि महेन्द्रको लडाइँको रूपमा हेरिरहेका थिए । फेसबुकमा व्यापक खलबली मच्चियो । एकातिर शिक्षित नेता अर्कातिर अशिक्षित । ज्ञान अनि अनुशासनबारे फेसबुके बहसमा किसिम किसिमका टिप्पणीहरू आए ।

बिमल गुरूङलाई सघाइरहेका एकजना युवा नेताले फेसबुकमा खतरनाक टिप्पणी हानेँ, शिक्षाभन्दा खतरनाक कुरा दुनियामा के छ ? शिक्षित मान्छे छन् र त बनिन्छ न्यूक्लियर बम र एटम बम । शिक्षित छन् र नै त अशिक्षितहरूको शोषण हुन्छ । आदि इत्यादि ।

आजभोलि सुन्छु ती जुझारू युवा नेता आफै एक शिक्षक छन् । उनले नानीहरूलाई के पढाइरहेका होलान् ?

यसपालि

यसपालि त झन उदेकै भयो ।

आचार संहिता लागू भइसकेपछि पनि कोही भोट माग्न गाउँ झरेनन् । गाउँमा हल्ला खल्ला केही छैन । बरू भर्खरै धुप्पीको आङ छिनाउने गरी आएको हावाको कुरा भयो । हावाकै कुराहरू भए । तर चुनाउको भएन । गाउँमा हल्ला खल्ला केही छैन । चुपचाप बसेको छ गाउँ ।

चुनाउको दिन एकाबिहानै पार्टी प्रतिनिधिबाट घर घरमा फोन कल आयो ।

‘बेकारमा घर घर गएर गाली खाने काम कसले गर्छ ? माथिबाट कसैले सोधे गाउँमा जोडतोडले चुनाउ प्रचार भयो भनिदिनु !’

अन्तमा…

कालेबुङ फर्कन चढेको गाडीमा सामान हाल्न अलिमाथि झ्याक्क रोकियो । रोकिएकै ठाउँमा अगाडि एक पूराना साथी उभिएका थिए । हात मिलाए । भलोकुसारी गरे । त्यसपछि लाइनको प्रश्न गरे, यसपालि त भोट हाल्न निस्कनु भएन त ?

इच्छा लागेन यसपालि । यति मात्रै भन्न भ्याएँ । ड्राइभरले गाडी हुँइकाए ।

अलिपर पुगेपछि मनैमन भनें, त्यत्रो तलबाट चर्को घाममा आधा घण्टा पैदल हिँडेर को जान्छ नोटाको बटन दबाउन ?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया