मोहन ठकुरीको गुरुभेटी

Girl in a jacket

– राजकुमार बानियाँ

गभर्मेन्ट कलेजको कक्षाकोठामा कुमार प्रधान देखिएनन् भने  खोज्ने जिम्मा पाउँथिन्, पूर्णिमा साह गुप्तले । खोज्न पनि कति सजिलो ! सोझै पुस्तकालयमा गए हुन्थ्यो । प्रायः साहित्य र इतिहासका किताब वरिपरि ।

कलेज, घर जहाँसुकै नित्य ध्यान किताबमै हुन्थ्यो, उनको । कतिसम्म भने बिरामी भएर अस्पताल भर्ना हुँदा पनि दिलचस्पी किताबमै । किताबका रंग, आकार, पृष्ठ र हरफसमेत कण्ठस्थ हुने कुमारलाई कलेजका फादर मीठो सम्बोधन गर्थे, ‘माई डियर, रिडर फ्रेन्ड !’ सन् १९५३ तिर नेपाली कन्या विद्यालयका छात्रा छँदा पूर्णिमा, याङ्जी, छिरिङहरुलाई माउन्ट प्लिजेन्ट रोडको दोकानमा मनलक्ष्मी नेवारले भनिन् रे, ‘हाम्रो भाइले पनि परीक्षा (म्याट्रिकुलेसन) दिएको छ यसपालि ।’ केटीहरुले सोचेछन्, निकै उमेर खाएको भाइ होला ।

आमाकी ‘भाइ’ त कुमार प्रधान पो रहेछन् । तिनै कोलकातावाली कन्या पूर्णिमासँग सन् १९६० मा प्रेमविवाह गरे, कुमार प्रधानले । पतिभन्दा आठ महिना जेठी पूर्णिमाले समेत घरमा कुमारलाई ‘भाइ’ नै भन्न थालिन् ।

यसैगरी ‘गम्भीर अध्येता, निर्भीक इतिहासकार, सशक्त समालोचक, भाषा सेनानी, कुशल अनुवादक, खरो पत्रकार’ कुमार प्रधानको जीवनकथालाई रमणीय शब्दमा उनेका छन्, पाका लेखक मोहन ठकुरीले । साँच्चै भन्ने हो भने लेखकले कुमार प्रधानलाई चढाएको गुरुभेटी हो, कुमार प्रधान ।

गुरुलाई सम्झेर किताब निकालिदिने शिष्य ठकुरी आफैँमा भारतीय नेपाली साहित्यका एक प्रतिष्ठित लेखक हुन् । उनका कविता, कथा, संस्मरण, अनुवादका थुप्रै कृति प्रकाशित छन् । सेन्ट रोबर्टस् स्कुलमा पढ्दा ठकुरीले पछि गएर कुमारजस्तै आदर्श शिक्षक हुने सोचेका रहेछन् । उनको विनीत ‘कन्फेसन’ छ, ‘म न उहाँजस्तो शिक्षक भएँ, न त उहाँजस्तो लेखक ।  उहाँजस्तो हुन एक जुनीले नपुग्ने रहेछ ।’

काठमाडौँको नरदेवी टोलमा सबभन्दा धनाढ्यमा गनिन्थे, गणेशलाल प्रधान । उनका छोरा माणिकलाई संसार रमाइलो/घमाइलो हुने नै भयो । सानैमा आमा गुमाएपछि थाहा भयो, जीवन घामछायाको छासमिस रहेछ । आमाबिनाको घरमा चमा (सानिमा) आइपुग्छिन् । बाबुले अर्की महिला भित्र्याएपछि चमा पनि बेपत्ता ।

चमाको खोजीमा गोजीभरि सुनैसुन बोकेर बम्बई, बनारस हुँदै माणिक दार्जिलिङ पुग्छन् । खरसाङवाली मनलक्ष्मीसित जोडी बाँध्छन् । माणिक–मनलक्ष्मीका पुत्रका रुपमा जन्मिन्छन्, देवेन्द्र अर्थात् कुमार सन् १९३७ मा । डाक विभागका कर्मचारी माणिकसँग झगडा भयो कि मनलक्ष्मी माइत हिँडिहाल्थिन् । आमाको पछि लाग्दा कुमारले स्कुल मात्रै तीन वटा पढ्नुपर्‍यो । दार्जिलिङ, खरसाङ, फेरि दार्जिलिङ ।

किताबमा कुमारको विशाल व्यक्तित्व र विशिष्ट योगदानलाई १२ अध्यायमा समेटिएको छ । आगमनदेखि विद्यार्थी, जागिर–जगत्, इतिहासकार, साहित्य सर्जक, पादरी गंगाप्रसाद प्रधानको सन्दर्भमा, दार्जिलिङका केही पुराना नाटकहरु र बुद्ध चरित्र नाटक, अ हिस्ट्री अफ नेपाली लिटरेचर, भाषा संग्रामी, अध्यात्ममा, पत्रकारितामा प्रधान, अवलोकन र अवसानसम्म ।

भारतमा नेपाली भाषा आन्दोलनका ‘थिंक ट्यांक’ थिए, कुमार । दिल्ली जाँदा सोधिन्थ्यो,‘तिमीहरुको भाषामा कति वटा दैनिक अखबार छन् ? एउटै राष्ट्रिय पत्रिका नभएको भाषालाई कसरी राष्ट्रिय मान्यता दिने ?’ त्यही व्यंग्यवाणले रन्थनिएर उनले कलेजबाट निस्कँदा पाएको पेन्सन अनि श्रीमतीका गहनागुरिया बेचेर सन् १९९३ को भानु जयन्तीदेखि नेपाली भाषाको दैनिक समाचारपत्र सुनचरी चलाए, १५ वर्षसम्म ।

सन् १९८३ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपाली भाषालाई संवैधानिक मान्यता दिन संकोच मानेपछि उनले लेखेका थिए, अ हिस्ट्री अफ नेपाली लिट्रेचर । पुस्तकको तात्पर्य नेपाली भाषा कति समृद्ध छ भन्ने बुझाउनु थियो । त्यसले पहिलो पटक अंग्रेजी भाषामार्फत नेपाली साहित्यको परिचय अन्य भाषीमाझ राखिदियो । ‘प्रेम साहित्यसँग भयो, बिहे इतिहाससँग’ भन्ने कुमारीय समालोचनाको प्रमाणचिह्न हो, अधीति केही ।

तर्क र आलोचना नजान्ने साधारण मानिस त भक्त हुन सक्छन् तर एक आलोचक, तर्कबाज विद्वान् नै भक्तका रुपमा देखिनुलाई के भन्ने ?साईबाबालाई स्वामी स्वीकार्न कुमारले समय लगाए । एक रात सपनामा सोधिएछ, ‘ह्वाई डू यू डिनाई मी ? आई नो यू फ्रम बर्थ टू बर्थ ।’ त्यसपछि उनले अस्ट्रियाली लेखक होवार्ड मर्फेटको म्यान अफ मिराकल्सको नेपाली अनुवाद गरे ।

कुमारका ‘पर्फेक्सनिस्ट’ सोच किताबभरि भेटिन्छन् । ७७ वर्षमै दैहिक यात्रा टुंग्याएका उनी खासमा मूर्तिभञ्जक र सबाल्टर्न इतिहासकार हुन् । उनको पुस्तक पहिलो पहर दार्जिलिङको नेपाली समाजकै इतिहास हो भने द गोर्खा कन्क्वेस्ट्स इतिहासकै विपठन । पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेको नभई जितेको उनको तर्क छ ।

कतै काव्यिक, कतै औपन्यासिक त कतै निबन्धात्मक शैलीमार्फत मोहन ठकुरीको जीवनीकारिता कौतुकमय बनेको छ । परिशिष्टमा कुमारका अप्रकाशित केही कविता, संस्मरण समेटिएको यो किताब गुरुलाई सम्झिने गतिलो मेलो हो ।

(कान्तिपुरको नेपाल साप्ताहिकबाट साभार)


कुमार प्रधान (भारतीय साहित्यका निर्माता) | लेखक : मोहन ठकुरी | प्रकाशक : साहित्य अकादेमी | पृष्ठ : ११८ | मूल्य : ५० रु


 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया