नगरपालिकामा बन्द हुनेछ दुइ नम्बरी काम

मोहन लामा

दार्जीलिङ, 22 मई।


गोजमुमो अध्यक्ष विमल गुरूङले दार्जीलिङ नगरपालिकालाई दुइ नम्बरी धन्धाबाट पूर्णरूपले अलग बस्ने, पानी माफियाको धन्धालाई पूर्णरूपले बन्द गर्ने कठोर निर्देश दिएका छन्। उनले स्पष्ट शब्दमा भने-विगतको समय दार्जीलिङ नगरपालिकामा पानीमा व्यापक भ्रष्टाचार भयो। पैसा लिएर होटल, ठूल्ठूला भवनहरुलाई पर्याप्त पानी दिइने कार्य भयो, अब यसपाली गठन हुने नगरपालिका बोर्डले यस्ता सम्पूर्ण दुइ नम्बरी कार्यहरु रोक्नुपर्छ।

दार्जीलिङमा पानी माफिया थियो, यसै समय अवैधरूपले जड़ान गरिएका सम्पूर्ण पानीका लाइनहरु शीघ्र काट्ने कार्य गर्नुपर्छ। दार्जीलिङ नगरपालिकाले बोर्ड गठन भएपछि सबैभन्दा पहिले यस कार्यमाथि पहल गर्नुपर्छ। मैले गत केही दिनअघिसम्म यसबारे मुख खोलेको थिइनँ, किनभने नगरपालिका चुनाउ मुखैमा थियो। यसो भन्नसाथ तृणमूल कंग्रेसमा जाने धम्की दिनसक्ने थियो। तर अब चुनाउ सकियो, यसैले मैले यो कुरा खुलस्त पारिरहेको छु, उनले भने। यसैबीच, उनले पानी व्यवस्थापनको लागि विशेष दार्जीलिङ नगरपालिकाका 6 वटा वार्डका लागि अलगै प्रबन्ध गर्ने योजना बनाइएको अनि वार्ड नम्बर 27, 28 र 29-का लागि 3 करोड़ रुपियाँ जीटीएले अनुमोदन गरिसकेको पनि जानकारी गराए। उनले दार्जीलिङ नगरपालिकाका सम्भावित अध्यक्ष डीके प्रधानलाई दार्जीलिङ नगरपालिकाको नयाँ बोर्डले सर्वप्रथम दार्जीलिङमा पानीको समस्या समाधान गर्ने दिशामा कार्य गर्नुपर्ने पनि निर्देश दिए।

यसरीनै दार्जीलिङको मैला व्यवस्थापनको लागि पनि ठोस कार्य गर्नुपर्ने सुझाउ पेश गर्दै उनले डालीदेखि घूम-जोरबङ्लोसम्म र सिंहमारीदेखि लेबोङसम्मको मैलालाई अलग-अलग ढङ्गले फ्याँक्ने व्यवस्था गर्नुपर्ने पनि निर्देश दिए। जसको लागि उनले डाली र सिंहमारीमा कन्जर्भेन्सी विभागले दुइवटा कार्यालय स्थापना गरेर मैला उठाउने गाड़ी र कर्मचारीहरु 24 घण्टै तैनाथ गरेर राख्नुपर्ने पनि सुझाउ दिए।

उनले भने-सिंहमारीदेखि लेबोङसम्मको मैलालाई त्यतैतिर व्यवस्थित गर्नुपर्छ अनि डालीदेखि घूम-जोरबङ्लोसम्मको मैलालाई पनि जोरबङ्लोतर्फनै फ्याँक्नुपर्छ। यसो हुनसके दार्जीलिङ शहरको फेदी मैलाको अधिक भारबाट धेरै हदसम्म  हल्का हुन सक्नेछ। यसको लागि उनले जीटीएको तर्फबाट दार्जीलिङ नगरपालिकालाई दुइवटा मैला उठाउने गाड़ी दिने पनि वचन दिए। यसरीनै उनले दार्जीलिङका प्रत्येक गल्ली, सड़क किनारहरुमा स्ट्रीट लाइट लगाउनको लागि दार्जीलिङका सांसदसित आवश्यक आर्थिक कोषको लागि कुरा गर्ने पनि बताए।

उनले भने-दार्जीलिङ हाम्रो हो र यसलाई हामीलेनै सुन्दर र सफा बनाउनुपर्छ। मेरो पनि कतिपय काममा भूल भएको हुनसक्छ, तर हाम्रो जातीय मुद्दालाई अघि बढ़ाउन अलिकति पनि भूल गरेको छुइनँ। विगतमा जे जसो भयो, तर अब नयाँ नगरपार्षदहरूबाट सानो कुरा पनि नराम्रो हुन हुँदैन। यति मात्रै होइन, गोजमुमो अध्यक्ष विमल गुरूङले दार्जीलिङ नगरपालिकामा गठन हुने नयाँ बोर्डको काँधमा दार्जीलिङको ट्राफिक समस्यालाई समधान गर्न जताततै खोलिएका गाड़ीका सिण्डिकेटहरुमाथि पनि नियन्त्रण गर्ने जिम्मेवारी दिएका छन्।

उनले यसबारे भने-दार्जीलिङमा यति धेरै मोटर सिण्डिकेटहरु खोलिएका छन्, गल्लीपछि मोटर सिण्डिकेट छन्, जसको कारण यहाँको ट्राफिकमा समस्या परिरहेको छ। यसैले यसमाथि नगरपालिकाले कठोरतासित नियन्त्रण गर्नुपर्छ। नगरपालिका प्रशासन डराउनु हुँदैन, नगरपालिकाको साथमा गोजमुमो र जनता छन्। यसैले निष्पक्ष अनि स्वतन्त्रप्रकारले नगरपालिका बोर्डले काम गर्नुपर्छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन