गोर्खामाथि भइरहेको बङ्गालको भाषिक, साँस्कृतिक दमनको चलखेल बजगाईँले गरे पर्दाफास : बङ्गालको भाषिक अतिक्रमणमा विनय तामाङहरूको सहयोग

‘विनय तामाङ एन्ड टीम शिक्षाको नाममा बङ्गाली भाषा र संस्कृति विद्यार्थीहरूमा थाप्ने अभियानमा छन्,’  उनले खबरम्यागजिनसित भने, ‘यो अतिक्रमण हाम्रो जाति, भाषा र संस्कृतिको लागि अति नै खतरा हो। यसको विरुद्धमा पार्टी होइन जातिनै उत्रनु अनिवार्य छ।’ भर्खरै भाषा थोप्ने कारण नै पहाडमा आन्दोलन चलेको थियो। तर यसपछि  बङ्गालले बङ्गला भाषा थोप्ने र गोर्खा संस्कृति मास्ने कुटनीति पाठ्यपुस्तकहरूमार्फत थालेको र बङ्गालको यो अभियानलाई विनय तामाङहरूले सफल बनाइरहेको बजगाईंको आरोप हो। उनले बङ्गाल सरकारको अतिक्रमणका नमूनाहरू प्रस्तुत गर्दै पहाडका प्राथमिक पाठशालाहरूमा पढाइने पहिलो श्रेणीमा पढ़ाइने मेरो शिक्षा र चौथो श्रेणीमा पढ़ाउने ‘इन्भाइरोन्मेन्ट’ नामक पाठ्य पुस्तक अघि सारेका छन्।


दार्जीलिङ, ७ मई


केहीदिन अघि गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता बीपी बजगाईँले एउटा भिडियो पोष्ट गरे। पत्रकारसम्मेलन गरेर पनि त्यही भिडियोबारे बोले। ‘बाङ्ग्लार शिक्खा’ मार्फत बङ्गाल सरकारले पहाडमा गोर्खाहरूमाशि गरिरहेको भाषिक, सांस्कृतिक अतिक्रमणको विरोधमा बजगाईँ बोलेका थिए।

केही शिक्षकहरूलगायत विनय समूहका नेताहरूले त्यसको स्पष्टिकरण दिँदै ‘बाङ्ग्लार शिक्खा’-एउटा पोर्टल रहेको र यसको उद्देश्य बजगाईँले लगाएको आरोपअनुसार नरहेको बताएका थिए।

त्यसैको जवाबमा फेरि बजगाईँले अर्को खुलासा गरेका छन्। बजगाईँले राज्य सरकारले पहाड़मा ‘बाङ्ग्लार शिक्खा’-लाई स्लो पोइजनको रूपमा पहाड़का ससाना विद्यार्थी नानीहरूमाथि थोपिरहेको खुलाएलगत्तै यसले चर्चा पाइरहेको छ।

उनले बाङ्ग्लार शिक्खा-को पहाड़निहित उद्देश्य र यसको प्रारम्भिक स्वरूपबारे खुलाएका छन्। उनको आरोप छ, बङ्गालले पाठ्यपुस्तकमार्फत गोर्खाहरूलाई भाषिक, सांस्कृतिक उपनिवेश बनाउने कुटनीति चालिसकेको छ। जसलाई सहयोग पुऱ्याइरहेका छन्, जीटीएका बोर्ड अव् एड्मिनिस्ट्रेशन (बीओए) चलाइरहेका विनय तामाङ र पहाड़को शासक दलले।

‘विनय तामाङ एन्ड टीम शिक्षाको नाममा बङ्गाली भाषा र संस्कृति विद्यार्थीहरूमा थाप्ने अभियानमा छन्,’  उनले खबरम्यागजिनसित भने, ‘यो अतिक्रमण हाम्रो जाति, भाषा र संस्कृतिको लागि अति नै खतरा हो। यसको विरुद्धमा पार्टी होइन जातिनै उत्रनु अनिवार्य छ।’

भर्खरै भाषा थोप्ने कारण नै पहाडमा आन्दोलन चलेको थियो। तर यसपछि  बङ्गालले बङ्गला भाषा थोप्ने र गोर्खा संस्कृति मास्ने कुटनीति पाठ्यपुस्तकहरूमार्फत थालेको र बङ्गालको यो अभियानलाई विनय तामाङहरूले सफल बनाइरहेको बजगाईंको आरोप हो।

उनले बङ्गाल सरकारको अतिक्रमणका नमूनाहरू प्रस्तुत गर्दै पहाडका प्राथमिक पाठशालाहरूमा पढाइने पहिलो श्रेणीमा पढ़ाइने मेरो शिक्षा र चौथो श्रेणीमा पढ़ाउने ‘इन्भाइरोन्मेन्ट’ नामक पाठ्य पुस्तक अघि सारेका छन्।

बजगाईँले शुरुमा नै ‘बाङ्ग्लार शिक्खा’ शब्दमाथि आपत्ति रहेको जनाए। ‘बाङ्ग्लार शिक्खा’ भनेर राज्यलाई प्रतिनिधित्व गर्ने हो भने पश्चिम बङ्गालको नाम ‘बङ्ग्लार’ स्वीकार्य छैन,’ उनले भने, ‘जसरी हाम्रो माटोलाई गोर्खाल्याण्ड भन्दा राज्य सरकारलाई आपत्ति हुन्छ उसरी नै उनीहरूले पश्चिम बङ्गाललाई ‘बङ्ग्ला’ भन्दा मेरो पनि आपत्ति हुनेछ। गोर्खा रगत भएका यहाँका राजनीतिक नेताहरूले यदि बङ्ग्लार शब्दलाई रूचाउँछन् भने त्यो उनीहरूको मर्जी हो।’

२२ मई, २०१८-मा तीनदिने सीसीई इन्डस ट्रेनिङमा तत्कालीन जीटीए बीओए विनय तामाङले भनेका थिए, ‘नेपाली भाषाका पाठ्यपुस्तक पहाड़मा छापिए भूल हुनेछैन।’

यसैलाई उद्धृत गर्दै बजगाईँले भने, ‘यसको अर्थ त्यस समय नेपाली भाषाका पाठ्यपुस्तकहरूमा प्रचुर मात्रामा बङ्ग्ला शब्द भएको या गल्ती नै गल्ती भएको हाम्रो शिक्षा समाजमा कुरा उठेको थियो भन्ने प्रमाणित हुन्छ। त्यो कुरालाई त्यसबेला विनय तामाङले जोड़ दिएको कुरा हो यो। तर यस हिसाबले हो भने पाठ्यपुस्तक सच्याइसक्नुपर्ने हो। तर सच्याइएन। ‘बङ्ग्ला शिक्खा’ भनेर राज्यले पहाड़का नानीहरूलाई जबर्जस्ती बङ्ग्ला भाषा सिक्न लगाइरहेको छ। यो अभियानमा विनय तामाङले सहयोग गरिरहेका छन्, किन भने यी पाठ्यपुस्तकहरू उनी विओए हुँदैको हो।’

मेरो किताबको पृष्ठ १८१ पल्टाउँदै उनले भने, ‘ग्वाली माछा’ हाम्रा ससाना विद्यार्थी नानीहरूले चिन्दैनन्। हाम्रा नानीहरूले असला, बुदुना माछाहरू चिन्छन्। हामीले आफ्नै परिवेश सिकाउन पाएनौं भने बाहिरको परिवेश आयात गरेर दिएको शिक्षाले हाम्रा नानीहरूलाई लाभ पुऱ्याउँदैन।’

त्यसै पुस्तकको पृष्ठ ३१४ पल्टाउँदै उनले थपे, “नुरुदेखि नजरुल भन्ने नजरुल इस्लामको बारेमा लेखिएको छ। यो बङ्गालको शिक्षा हो। नुरुदेखि नजरुलसम्म पढ़ाउनु नै बाङ्ग्लार शिक्खा पढ़ाउनु हो। म चाहन्छु यहाँ पहाड़को शिक्षा हुनुपर्छ। गोर्खाको शिक्षा हुनुपर्छ। नेपाली भाषाको शिक्षा हुनुपर्छ। यो ठाउँमा त विष्णुकुमारीदेखि पारिजात हुनुपर्ने थियो। हाम्रा नानीहरूले पारिजात कहिले सिक्ने? अगमसिंह गिरी कहिले चिन्ने? हाम्रा नानीहरूले इन्द्रबहादुर राई कहिले पढ़्ने? हाम्रो आफ्नो भाषाका लेखकहरूको परिचय अहिले नगराएर कहिले गराउने।’

बजगाईँले ‘नुरुदेखि नजरुल’ भन्ने लेख बङ्ग्लाबाट अनुवाद गरेर नेपाली पाठ्यपुस्तकमा समावेश गरेको पुष्टि गर्न बङ्ग्लाको पाठ्यपुस्तकको ३१४ पृष्ठमा नै ‘नुरु थेके नजरुल’ पल्टाए। उनले भने, ‘बङ्गालले जुन शिक्षा, जुन संस्कृति र जुन संस्कार उनीहरूका नानीलाई दिइँदैछ, त्यै कुरा हुबहु अनुवाद गरेर हाम्रा ससाना नानीहरूलाई दिइँदैछ। मेरो कुराको विरोध गर्नेहरूलाई सोध्न चाहन्छु, यो किताब त बजगाईँले बोल्नभन्दा अघि नै छापिएको हो। मेरो विरोध गर्ने ती मुखहरूले यसको विरोध किन गरेनन्? यसको विरोधमा छिरिङ दाहाल किन बोलिनन्? पोखरेलहरू किन बोलेनन्?’

आफ्नो तर्कलाई बलियोसँग राख्न उनले पुस्तकभित्र भएका बङ्ग्ला संस्कृति बुझाउने र नैतिक शिक्षाको उल्टो शिक्षा दिएका प्रसङ्गहरू पनि उप्काए। साथै चौथो श्रेणीको इन्भाइरोन्मेन्ट किताबमा शीर्षक नै बङ्ग्ला रहेको देखाए। बजगाईँले २६३ पृष्ठमा लेखिएको ‘एउटा दुम्सी चरा’ देखाए। ‘‘दुम्सी चरा हो? बङ्गालबाट यसरी सोझै अनुवाद गर्दा हुन्छ?’’, उनले प्रश्न गर्दै थपे, ‘सायद छिरिङ दाहाललाई दुम्सी के हो त्यो थाहै छैन होला।’

१८६ पृष्ठ देखाउँदै सांस्कृतिमाथि अतिक्रमण भएको उनले बताए। बजगाईँले भने, ‘माछाको झोल खाएर अन्त्यमा मिठाई खाने संस्कार कहाँको हो? मलाई विरोध गर्ने केशवराज पोखरेलको हो कि कोलकाताको संस्कार हो? अघिदेखि भन्दैछु, हाम्रा नानीहरूलाई उनीहरूको संस्कार, उनीहरूको संस्कृति, उनीहरूको भाषा पोइजनको रूपमा बिस्तारै ‘इन्जेक्ट’ गरिँदैछ।’

त्यस्तै मेरो पुस्तकको पृष्ठ २१८-मा ‘काठठोक्रा’ शब्द देखाए। उनीअनुसार लाहाँचेलाई बङ्ग्लामा काठठोक्रा भनिन्छ। उनले मेरो किताबको पृष्ठ 36 को ‘गाउँले काका’ देखाए। बङ्ग्ला किताबको 36 मा पनि नक्सासहित त्यही कुरा नरहेको तर शीर्षक मात्र मुनिराम मुन्सी रहेको खुलाए।

मेरो किताबमा पृष्ठ 36 मा लेखिएको ‘नाकले साग खान्छ, कुइनाले दिन्छ धाक, सिँड़ीमा खेल्छ, जति फन्को घुम्छौं, त्यति पुड़्को हुन्छौं’ भन्ने जस्ता शब्दमाथि पनि उनले आपत्ति जताए।

‘नाकले साग कहिल्यै खान्छ? नाकले साग खाए के हुन्छ? के यो नैतिक शिक्षा हो? यो विज्ञान शिक्षा हो? नानीहरूलाई सिँड़ीमा खेल्न सिकाइँदैछ। कुइनाले हिर्काउन सिकाइँदैछ। के फनफनी घुम्दा कोही पुड़्को हुन्छ? नानीहरू फनफनी घुम्दा पुड़्को हुन्छ भनेर कुन साइन्सले भन्छ?’, बजगाईँको प्रश्न थियो।

उनले चौथो श्रेणीका विद्यार्थीहरूले पढ़िरहेको इन्भाइरोन्मेन्ट किताबको पृष्ठ 9 –मा ‘काना माछी भोभो, जाके पाबो ताके छो’ देखाउँदै भने, ‘‘जाके पाबो ताके छो’ के यो नेपाली शब्द हो? यो हाम्रो भाषा हो? मैले हाम्रो भाषामाथि बङ्गालले अतिक्रमण गर्दैछ भनेका कुरा यीहरूबाट पुष्टि हुँदैन र?’

उनले जीटीएको बीओए पहाड़को शिक्षालाई लिएर गम्भीर नरहेको पनि दाबी गरे। बजगाईँका अनुसार यदि जीटीएको बीओए पहाड़को शिक्षालाई लिएर गम्भीर हुँदो हो त यस्ता गल्तीहरू हुने नै थिएनन्।


हिमाली च्यानलको भिडियो यहाँ साभार गरेका छौं।

[email protected]मेरो प्रश्न विनय, छिरिङ दहाल अनि पोख्रेल लाई – पी. बी. बजगाई / 6.05.2019

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया