विमल गुरुङ खेमा नेता नरेन्द्र काम्बाङ र भक्त खड्काको घर कुड्की : यस्तो निरङ्कुशताको जवाब चुनाउमा दिनेछौं-काम्बाङ

Girl in a jacket

‘विनय र अनितलाई जनताले जुन दिन पहाडदेखि लखेट्छ र उनीहरुको भ्रष्टाचार, दलाली र आफ्नै दाजुभाइहरुलाई सरकार र पुलिसको आडमा प्रताडना गरेर सजाएको नकली साम्राज्य ध्वस्त गरेको बेला कुनै पनि शक्तिले बचाउने छैन,’ काम्बाङले भने,’त्यो समय चाँडै आउँदैछ। यी दुई दलालले भाग्ने ठाउँ खोज्दै गरून्।’


सिलगढी, 7 मई


लोकसभा चुनाउ सकेर दार्जीलिङ अहिले विधानसभा उपचुनाउको तयारी गरिरहेको छ। जनता र नेता दुवै चुनाउमा व्यस्त छन्।  बङ्गाल पुलिस भने विमल गुरुङ खेमाका नेताहरूको घर कुड्की गर्नतिर व्यस्त बनेको छ। पुलिसले आज नरेन्द्र काम्बाङ अनि भक्त खड्काको घर कुड्की गरेको छ।

‘पश्चिम बङ्गाल पुलिसले अनैतिक ढङ्गले रिम्बिक बाँसबोटे निवासी नरेन्द्र काम्बाङ्ग अनि अप्पर लिङ्सेबुङ्ग निवासी भक्त खड्काको घर कुड्की गरेको भन्दै गोजयुमोले विरोध प्रकट गरेको छ।

गोजयुमो अध्यक्ष प्रकाश गुरुङले बङ्गाल पुलिसलाई कुनै आरोपीमाथि कार्वाही गर्ने अधिकार रहेको भएपनि  कानुनको नाम गरेर घरका सम्पूर्ण परिवारलाई प्रताडित गर्ने छुट दार्जीलिङ पुलिसले कहाँबाट पायो? भन्ने प्रश्न गरेका छन्।

‘कहिलेसम्म ममता सरकार र विनय तामाङ र अनित थापाको इशारामा आम जनमानसलाई सताउने पुलिस प्रशासनले? कानुनको नाम गरेर कानुनलाई तृणमुल सरकारको गोजीको सम्पत्ति सरह पुलिसले दुरूपयोग गरिरहेको छ,’ गुरुङले भनेका छन्, ‘कुड्कीको नाम गरेर भक्त खड्काको छोरा मञ्जिल खड्काको स्कूल सर्टिफिकेटसम्म पुलिसले खोसिदिएको छ।’

गुरुङअनुसार नरेन्द्र काम्बाङकी आमा जामुनी लिम्बु ७० वर्ष पुगेकी वृद्ध हुन्। उनी शारिरिकरूपले अस्वस्थ छन्।  मृगौला सम्बन्धी रोग कारण अहिले उपचारधिन छन्।

‘घर परिवार यस्तो प्रचण्ड पीडाबाट गुज्रिरहेको समय बङ्गाल पुलिसको यस्तो अमानवीय व्यवहारले आम जनमानसमा पुलिस प्रशासन अनि कानुन माथि भरोसा हराइसकेको छ,’ गुरुङले भने।

अहिले पश्चिम बङ्गाल पुलिस प्रशासन आम जनताको भन्दा धेर सत्ताधारी दलको घोडा अथवा पार्टी कार्यकर्ता भएर जनतालाई सताउने अनैतिक क्रियाकलापमा संलग्न रहेको गुरुङको दाबी छ।

‘राजनैतिक दल त सत्तामा आउँछ जान्छ। कुनै पनि दल सत्तामा आजीवन आसीन रहँदैन। तर जनता र जनताको हित र सुरक्षाको निम्ति गठन गरिएको सरकारी संस्था र यससँग आवद्ध व्यक्ति विशेषहरू सधैँ आफ्नो कर्तव्यप्रति निष्ठापूर्वक निस्वार्थ रुपले लागि पर्नु पर्ने हो,’ गुरुङले भने, ‘तर लाजमर्दो कुरा के छ भने यहाँ ती सरकारी सिन्दुरले रङ्गीएका निधारहरू राजनेता र राजनैतिक दलका द्वारपाल मात्र भएका छन्। जो प्रजातान्त्रिक प्रणालीको निम्ति घातक हो।’

उनीअनुसार जनतालाई यस्तो दलाली संस्कारबाट स्वतन्त्रता चाहिएको छ। ‘हामी सम्पूर्ण देशको र सरकार अनि जन हितार्थमा संलग्न संस्थाहरुलाई यस्तो जनविरोधी तत्वहरूलाई निर्मूल पार्न यथोचित पाइला चालिदिने अपील गर्दछौं,’ उनले भनेका छन्, ‘किन कि बङ्गालको पुलिस प्रशासनमाथि हाम्रो भरोसा, आस्था हराइसकेको छ।’

‘हाम्रो घर कुड्की गर्नु विमल गुरुङको इमान्दार लडाईँसित डराउनु हो’

यता नरेन्द्र काम्बाङले पनि खबरम्यागजिनसित बोल्दै भने, ‘तृणमूल सरकारले हाम्रो घर सम्पत्ति कुड्की गरेर आफ्नो निरङ्कुशता र गैरप्रजातान्त्रिक शासन प्रणालीको उदाहरण दिएको छ। जस्को जवाब जनताले प्रजातान्त्रिक र लोकतान्त्रिक रुपमा चुनाउमा नै दिनेछन्।’

उनले आफ्नो आमाबाबाले निर्माण गरेको सम्पत्ति उनको कारण कुड्की गर्नु न्यायसङ्गत नरहेको पनि जनाए। ‘बङ्गाल सरकारको यो चलखेल जनताले आफै बुझ्नेछन्। कानुनलाई गलत तरिकाले प्रयोग गरेर सत्ताको आडमा आन्दोलनकारी र परिवारलाई प्रताडना ददिने कुनै कसर ममता व्यानर्जीले छोडेकी छैनन्,’ उनले भनेका छन्, ‘सरकारले पहाडमा यस्तो अराजक र हेपाईपूर्ण व्यवहार देखाउनुमा विनय तामाङ, अनित थापा अनि केही दलालहरूको ठूलो योगदान छ। उनीहरू जस्तै पुलिसको डर र लोभले स्वाभिमान र अस्मितानै झुकाएर बङ्गाल सरकार र उनीहरु अघि आन्दोलनकारी झुक्छन् भनेर विनय र अनितले नसोचुन्।’

बङ्गालले प्रशासन र कानुनलाई दुरुपयोग गरेर घर र सम्पत्ति कुड्की गरेको र आफूलाई पस्नु बाध्य बनाएको भन्दै उनले जनता, समर्थक र शुभचिन्तकहरुको कमी अझै नरहेको जनाए। ‘विनय र अनितलाई जनताले जुन दिन पहाडदेखि लखेट्छ र उनीहरुको भ्रष्टाचार, दलाली र आफ्नै दाजुभाइहरुलाई सरकार र पुलिसको आडमा प्रताडना गरेर सजाएको नकली साम्राज्य ध्वस्त गरेको बेला कुनै पनि शक्तिले बचाउने छैन,’ काम्बाङले भने,’त्यो समय चाँडै आउँदैछ। यी दुई दलालले भाग्ने ठाउँ खोजदै गरून्।’

उनले आफ्नो आमा विरामी रहेको र राजनीतिदेखि अनभिज्ञ छोरा र स्वास्नीको कुनै कसुर नरहे पनि बङ्गाल पुलिसले सबै प्रकारको प्रताडना दिइरहेको भन्दै काम्बाङले  भने, ‘मैले गरेको आन्दोलनको दण्ड परिवारले भोग्नु भनेको बङ्गाल सरकारको राजनैतिक असफलताको उदाहरण हो। आन्दोलनकारीहरूको डर, प्रभाव हो। हाम्रो इमानदारिता बिनय र अनितले सहन सकिरहेका छैनन्। यसले प्रमाणित गर्छ  बिमल गुरुङसँग जातीय अस्मिता अनि अधिकारको लडाईं लड्ने इमान्दारिता छ। यसै हामी उनीसित छौं, रहन्छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया