सिक्किम भारतमा विलय गर्ने काजी लेण्डुपको निर्णय गलत होइनः बीबी गुरुङ

Girl in a jacket

‘8 मईको सम्झौता धेरै राम्रो भएको छ भन्ने लाग्छ,’ उनले थपे, ‘सिक्किम के थियो र सिक्किम के भयो अहिले भन्ने कुरा मलाई थाहा छ अनि अहिले प्रजातन्त्र फैलिएको छ।’


गान्तोक, 9 मई।


हिमाली राज्य सिक्किममा 333 वर्षसम्म चलिरहेको नाम्ग्याल वंशको राजतन्त्रमा जनताको प्रजातान्त्रिक मूल्य मान्यतालाई लिएर 1973 मा भएको जनआन्दोलनको प्रतिफल स्वरूप 8 मई 1973 सालमा तत्कालिन छोग्याल, जनताको प्रतिनिधि राजनैतिक दल र भारत सरकारको विदेश सचिवको उपस्थितमा भएको त्रिपक्षीय सम्झौता पछि सिक्किमे जनताले प्रजातन्त्र पाएका थिए।

उक्त 8 मई 1973 सालको त्रिपक्षीय सम्झौताको सम्झना गर्दै अहिलेसम्म उक्त ऐतिहासिक दिनलाई सिक्किमले सम्झौता दिवसको रूपमा पालन गर्ने गरेको छ। यसैक्रममा उक्त त्रिपक्षीय सम्झौतामा हस्ताक्षऱ गर्ने जनताका जीवित तीन प्रतिनिधि बीबी गुरुङ, टासी तागे र डीएन तिवारी मध्ये सबैभन्दा वरिष्ठ प्रतिनिधि तथा सिक्किमका पूर्व मुख्यमन्त्री बीबी गुरुङले पत्रकारहरूसित विशेष कुराकानी गर्दै त्रिपक्षीय सम्झौताले सिक्किमे जनतालाई सही प्रजातन्त्र प्रदान गरेको अनि जनताले चाहेको प्रजातान्त्रिक चाहना पुरा भएको बताए।

‘जनताले सोचेजस्तो काम भएको छैन भनेर राजाले पनि बुझेरै 8 मईको सम्झौता बोलाएको थियो भन्ने बताउँछन्।  त्यसैमा जनता, राजा र भारत सरकार तीन पक्ष भएर भारत सरकारको प्रतिनिधि विदेश सचिव केवल सिहं गान्तोक आएका थिए। त्यसपछि जनता राजमा जनतै राजा भन्ने अऩि सरकार जनताकै निम्ति भन्ने कुरा सिक्किममा साक्षात भयो,’ उनले भने।

सिक्किमको जनताको लागि  सम्झौता सही औचित्य भयो अनि राम्रो पनि भयो भन्ने उनको अडान छ।  ‘8 मईको सम्झौता धेरै राम्रो भएको छ भन्ने लाग्छ,’ उनले थपे, ‘सिक्किम के थियो र सिक्किम के भयो अहिले भन्ने कुरा मलाई थाहा छ अनि अहिले प्रजातन्त्र फैलिएको छ।’

मईको सम्झौता प्रजातन्त्रलाई सही रूपमा व्यावहारमा उतार्ने कार्य भएको उनको मत थियो। त्यसै सम्झौताको माध्यमबाट अहिलेको सिक्किमे प्रजातन्त्र सुरक्षित रहेको अनि सिक्किमे जनताको हितमा संविधानको धारा 371 एफ ले सुरक्षित गरेको पनि जनाए।

‘सिक्किमको पुरानो कानुन तरलीकरण पनि भएको छैन भन्ने कुरा म किटान गर्नसक्छु।  8 मईको सम्झौतासित पनि प्रजातन्त्र मन नपर्नेहरू खुसी छैनन्,’ उनले भने।

आफूहरूलाई गलत प्रजा गरेको तथा बत्तीसे चोर भन्ने संज्ञा दिएको तर आफूहरू जनतालाई प्रजातन्त्र दिलाउनको निम्ति यो लाक्षना सहन गर्न पनि तत्पर रहेको दाबी पनि उनले गरे।

अर्कोतिर सिक्किम भारतमा विलय गराउने प्रमुख नेता तथा भारतीय राज्य बनेपछिको सिक्किमको प्रथम मुख्यमन्त्री काजी लेण्डुप दोर्जी खाङसेर्पालाई राजद्रोही र देश विरोधीको संज्ञा दिइएको भए पनि उनले गरेको निर्णय सही रहेको अनि त्यसको प्रत्यक्ष प्रमाण सिक्किमको वर्तमान अवस्थाले पुष्टि गर्ने गरेको पनि उनको दाबी छ।

उनी काजी लेण्डुप दोर्जीले प्रजातान्त्रिक अधिकारको निम्ति लिएको निर्णय सही भएकै कारण सिक्किमे जनताले जनता राजमा जनतै राजा हुने अवसर प्राप्त गरेको पनि किटान गर्छन्।

यसैगरि आउने पुस्ताले प्रजातन्त्रलाई अझ बलियो  बनाएर लान दिशामा पहल गर्नुपर्ने मत राख्छन्।  ‘राज्यलाई कसरी अघि बढाउने भन्ने दिशामा अहिलेसम्म पुरा नभएको आकांक्षा  पुरा  गर्ने दिशामा प्रजातन्त्र आएपछि  युवाहरूले पनि बुझ्नुपर्छ, सिक्किम निर्माणको निम्ति सरकारलाई सहयोग गर्नुपर्छ,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया