मानव उत्थान सेवा समिति सिक्किमद्वारा अध्यात्म एवं विज्ञान समन्वयात्मक गोष्ठी आयोजित  

गान्तोक, 9 मई। अध्यात्म एवं विज्ञान भिन्न भिन्न विषय नभएर एउटै सिक्काको दुई पाटा हुन्, मानवको अज्ञानताका कारणले मात्र अध्यात्म एंव विज्ञान भिन्न विषय ठहर भएको हो। मानव उत्थान सेवा समितिसिक्किमद्वारा 7 मईको दक्षिण सिक्किमको याङगाङ उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित अध्यात्म एवं विज्ञान समन्वयात्मक गोष्ठीलाई सम्बोधन गर्दै समितिका वरिष्ठ सल्लाहकार डाक्टर जयप्रकाश अग्रवालले उपरोक्त विचार व्यक्त गरेका हुन्। अध्यात्म एवं विज्ञानको खोजी एउटै विषय एउटै रहेको थप बताउँदै डाक्टर अग्रवालले सारा ब्रह्माण्डको सृष्टिको कारण शक्ति अर्थात एनर्जीको वैज्ञानिकहरूले आजपर्यान्त खोजी गरिरहेका छन् त्यसरी नै एकजना अध्यात्म पिपासु अर्थात योगीजनले ईश्वरका रूपमा त्यस शक्तिलाई अनुभव गर्ने गरेको आफ्नो सम्बोधनमा बताए। तर विज्ञानको खोजी पद्धार्थसम्म मात्र सीमित रहेको बताउँदै योगीहरूले त्यो शक्तिलाई योग साधना मार्फत आफ्नै ह्रदयमा अनुभव गर्दै आएको डाक्टर अग्रवालले बताए।

विद्यार्थीहरूको बाक्नो उपस्थिती रहेको यो अध्यात्म एवं विज्ञान समन्वयात्मक गोष्ठीलाई सम्बोधन गर्दै डाक्टर अग्रवालले त्यस ईश्वरीय शक्तिलाई जान्ने र अनुभव गर्ने युवाकाल उचित समय रहेको बताए। युवाकालमा नै मानवले ईश्वरीय शक्तिलाई जानेर आफ्नो अमूल्य जीवनलाई सफल बनाउन सक्ने बताउँदै अध्यात्म ज्ञानमा डोऱ्याउन भारतीय सनातन परम्परामा उपनयन संस्कारको परम्परा रहिआएको डाक्टर अग्रवालले उपस्थित विद्यार्थीहरूलाई जानकारी गराए। सारा संसारको रचना अर्थात सृष्टि एउटै शक्तिद्वारा भएको र त्यही एउटै शक्तिलाई विभिन्न धर्मशास्त्रहरूमा विविध प्रतिकात्मक संज्ञाले सम्बोधन गरेको उनले बताए। विज्ञानले सृष्टि रचनाको कारणलाई शक्ति भने, त्यही शक्तिलाई अध्यात्मवादीले ईश्वर, भगवान, परमेश्वर, अल्लाह, गड आदि विविध नामले पुकारे र त्यही शक्ति अर्थात ईश्वर कणकणमा व्याप्त रहेको डाक्टरले विद्यार्थीहरूलाई बताए। शक्ति अर्थात ईश्वरको दुरूपयोग गरे विनाशकारी साबित हुने र सदुपयोग गरे मानव मात्रको निम्ति लाभकारी हुने बताउँदै युवाहरूले युवाकालमा शक्तिको सदोपयोग गरे युवाहरूको जीवन सफल भएर जाने बताए।

यसरी नै यो अध्यात्म एवं विज्ञान समन्वयात्मक गोष्ठीलाई सम्बोधन गर्दै मानव उत्थान सेवा समितिका साध्वी महात्मा पुष्पवती बाईजीले जसरी विज्ञानका जानकार वैज्ञानिकहरूले वैज्ञानिक प्रयोगशालामा भौतिक पदार्थ मार्फत त्यस सर्वव्यापक शक्तिको खोजी गर्छन् भने त्यसरी नै अध्यात्मवादीहरूले साँचो सदगरूको सानिध्यमा योग साधानाद्वारा आफ्नै ह्रदयमा त्यस सर्वव्यापी ईश्वरीय शक्तिको अनुभव गर्दै आनन्द लिने गर्छन् भनी बताए। सर्वव्यापी ईश्वरीय शक्तिको साधानाको निम्ति समयको जीवित सदगुरूबाट आत्मज्ञानको दीक्षा लिन आवश्यक रहेको थप बताउँदै साध्वी महात्मा पुष्पवती बाईजीले विज्ञानको ज्ञान हासिल गर्न विज्ञानको शिक्षकहरू समक्ष जानपर्छ त्यसरी नै आत्मज्ञानको दीक्षा ग्रहण ग्रहण गर्न समयको साँचो अध्यात्मिक सदगुरूको शरणमा जानपर्ने बताए।

यो अध्यात्म एवं विज्ञान समन्वयात्मक गोष्ठीमा याङगाङ उच्चतर माध्यमिक विद्यालयका प्राचार्य, शिक्षक शिक्षिकागण, ग्राम विकास अधिकारी, स्थानीय पञ्चायत सदस्यहरू, विद्यार्थीहरू युवाको ठूलो उपस्थिती थियो। अध्यात्म एवं विज्ञान समन्वयात्मक गोष्ठीको क्रममा वक्ता अनि विद्यार्थीहरूमाझ अर्न्तक्रिया पनि सम्पन्न भएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया