मैला व्यवस्थापनलाई लिएर नगरपालिकाले खोज्दैछ विकल्प: नगरमा निस्कियो सचेतना ऱ्याली

प्रज्ज्वल छेत्री/कालेबुङ, 9 मई: करीब एक महिनादेखि कालेबुङ शहरको मैला व्यवस्थापनको समस्या समाधान हुन सकेको छैन। 12 अप्रेलका दिन भालुखोपमा रहेको डम्पिङ ग्राउण्डमा आगलागी भएको घटनालाई आधार गरेर स्थानीयहरूले त्यस ठाउँमा मैला फ्याँक्न प्रतिबन्ध लगाएपछि मैला व्यवस्थापनको समस्याले ठूलो रूप लिँदै गएको हो।

भालुखोपमा मैला फ्याँक्न नदिएकोले अहिले नगरपालिकाले नगरको मैला कालेबुङदेखि अन्यन्त्र लगेर व्यवस्थापन गर्ने काम गरिरहेको छ। नगरपालिकाले डम्पिङ ग्राउण्ड परिसरका समाजहरूसित बारम्बार बैठक गरेपनि समाधान निस्कन सकेको छैन। यसैले अब नगरपालिकाले मैला व्यवस्थापनको निम्ति अलग्गै स्थायी विकल्पको खोजी गर्न शुरू गरेको छ।

‘आज पनि हामीले भालुखोपका दुईवटा समाजलाई लिएर बैठक गऱ्यौँ’-नगरपालिका अध्यक्ष रवि प्रधानले भने, ‘उनीहरूको पनि केही मागहरू छन्, सबै मागहरू पूर्ण गर्न सकिँदैन। फेरि उनीहरूले केही महिनासम्मको निम्ति मात्र मैला फ्याँक्नदिने कुरा गरिरहेका छन्, जुनकुरा अस्थायी समाधान मात्र हो। त्यस ठाउँमा बारम्बार विरोध पनि भइरहेको छ। यसैले हामी स्थायी समाधानको लागी अन्यत्र नै जमीन खोज्ने प्रयास गरिरहेका छौँ।’

उनका अनुसार नगरबाट निस्किने 60 दखि 70 प्रतिशत मैला जलाउनसकिने मैला हुन्छ। यसैले अन्य मैलालाई पनि ‘इन्सिनिरेसन’-पद्धतिद्वारा व्यवस्थापन गर्नसकिन्छ। जुन प्रयोग दक्षिण भारतमा सफलतापूर्वक चलिरहेको छ। यसैले नगरवासीको सहयोग रहे नगरपालिकाले आउने महिनाभित्र नै मैलाको स्थायी व्यवस्थापनको समाधानसूत्र खोजिनिकाल्ने आश्वस्त गराएका छन्।

अर्कोतिर, आज नगरबासीले एउटा सचेतना ऱ्याली निकाल्दै नगरपालिकालाई सहयोग गर्ने आश्वस्त गराएको छ। कालेबुङ टू विलर एसोसिएसन, नगपालिकाका कर्मचारीहरू, नगरपालिका स्वास्थ्य विभाग, विभिन्न समाज साथै वार्डबासीहरूले आज नगरमा ऱ्याली निकाल्दै मैला व्यवस्थापनको निम्ति नगरवासीलाई सेचत बन्न आह्वान गरेको छ। मुख्य गरी कुहुने अनि नहुकुने मैलालाई अलग-अलग फ्याँकिदिने अनि जताजतै मैला नफ्याँदिने आह्वान गर्दै ऱ्याली निकालिएको थियो।

‘हामीले हाम्रो नगरलाई स्वच्छ राख्नुपर्छ भनेर मानिसहरूलाई सचेत गराउ नै हामीले ऱ्याली निकालेका हौँ’-टू विलर्स एसोसिएसनका सचिव राजु राईले भने, ‘यदि 25 प्रतिशत मानिसहरूले पनि सचेत भएर ठिकसित मैला फ्याँकिदिए त्यो नै पनि हाम्रो निम्ति ठूलो उपलब्धी हुनेछ।’

अर्कोतिर, वार्डबासीका पक्षमा बोल्दै मिलन प्रधानले मैला व्यवस्थापनलाई लिएर आगामी दिनमा पनि सचेतना ऱ्यालीको आयोजना गरिने भन्दै सहभागी सबैप्रति आभार प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया