राजनीतिमा अधोगति

Girl in a jacket

नागरिक समाजमा अनुुसन्धान गरियो भने अयोग्य तर हिन्दुत्वको नारा लगाउने मानिसले शौक्षिक तथा सांस्कृतिक संस्थालाई नेतृत्व प्रदान गरेको देख्न सकिन्छ। यस्तै मोदी सरकारले न्यायाधीश नियुक्तिमा पनि व्यवधान पुर्‍याउन थाल्यो।


ज्ञानप्रकाश


सन् २०१४ को लोकसभाको निर्वाचनमार्फत सत्तारोहण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्याकाललाई प्रतिपक्षी तथा उनका विरोधीले केन्द्रीय सरकारको शक्ति आफूमा मात्र सीमित गरेको आरोप लगाए। विरोधीको मत छ – मोदीले भारतमा ‘अघोषित संकटकाल’को अवस्था सिर्जना गरे।

यो वाक्यांशले सन् १९७५ जुनदेखि १९७७ मार्चसम्म र मोदी सरकारको सशानसत्ताको तुलना गर्छ। उक्त अवधिमा तत्कालीन भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले देशको ‘दुश्मन’सँग जुध्न शक्ति जुटाउनुपर्ने बेला भएको भन्दै संकटकाल घोषणा गरेकी थिइन्।

यसो गर्न उनले भारतीय संविधानप्रद्धत्त अधिकार पनि उल्लंघन गर्दै ‘तानाशाही शासन लादेकी थिइन्। यही अवधि जहाँ श्रीमती गान्धीले राज्यको अतुलनीय शक्ति आफूमा केन्द्रीकृत गरेकी थिइन्। विपक्षी दलका नेतालाई जेलचलान नै गरेकी थिइन। यस्तै सञ्चारमाध्यममा अंकुश लागाएकी थिइन्।

भारतको इतिहासको यो कालो अवधिलाई नै संकटकाल चित्रित गरिन्छ। कठोरताका साथ भारतमा शाशन गरेका वर्तमान प्रधानमन्त्री मोदीको कार्यकालले गान्धीको शाशनकालको झझल्को दिन्छ। बिनाकुनै आपत्ति मोदी आफ्नो व्यक्तित्वको ध्वाँस दिन्छन् र आफूलाई एक सच्चा हिन्दू लडाकुका रुपमा प्रस्तुत गर्छन्।

त्यो लडाकु जो देशको आन्तरिक र बाह्य शत्रुसँग लड्न सर्जिकल स्टाइसम्मको निर्णय लिन पछि पर्दैन। उनका समर्थक उनको यो प्रवृत्ति अनुशरण गर्छन् र मोदीको माक्स लगाई निर्वाचन प्रचार अभियानमा सहभागी हुन्छन्। मोदीको यो व्यवहारलाई भारतीय जनताले स्विकारेका छन् या संकटकालपछि सन् १९७७ को निर्वाचनमा गान्धीलाई निर्वाचनबाट च्यूत गर्छन्, त्यो मे २३ पछिको निर्वाचन परिणामले अवश्य बताउने छ।

श्रीमती गान्धीपछि मोदी सरकार भारतका यस्ता नेता हुन्, जसले जनताको अभूतपूर्व समर्थन प्राप्त गरेको छ। गान्धीपछि नै मोदीले भारतको राज्य शक्तिलाई आफूमा केन्द्रित गर्न सकेका छन्। भारतीय राजनीतिको शक्तिमा आफ्ना पिता जवाहरलाल नेहरुको निधनको दुई वर्षपछि गान्धी प्रधानमन्त्री बनेकी थिइन्।

नेहरुले सन् १९४७ मा बेलायती साशनबाट स्वतन्त्रता प्राप्त गरेपछि सन् १९६४ सम्म अविछिन्न भारतको नेतृत्वमा थिए। नेहरुको एक मात्र सन्तानका गान्धी थिइन्। यस हैसियतले पनि उनी बाबुको १७ वर्षे शासन अवधिमा एक विश्वास पात्रका रुपमा चिनिएकी थिइन्। यो अवसरले पनि उनलाई विश्वका नेतासँग परिचत हुने मौका मिल्यो।

उनी मोदी जस्तो धर्मको पक्षपाती थिइनन्। बरु उनी धर्म निरपेक्षतालाई स्वीकार गर्थिन् भने समस्त संसारको जानकारी राख्थिन्। उनलाई धेरै भाषाको ज्ञान थियो। कलामा उनको खास रुचि पनि थियो। तत्कालीन सयममा सत्तासीन भारतीय राष्ट्रिय कांग्रेसले नेहरुको उत्तराधिकारीका रुपमा रहेका प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई लिएको थियो। उनको सन् १९६६ मा असामायिक निधनपछि ४९ वर्षिया गान्धीलाई भारतको नयाँ प्रधानमन्त्रीका रुपमा कांग्रेसले अघि सारेको थियो।

सायद कांग्रेसी नेताले श्रीमती गान्धीलाई आफूअनुकुल प्रयोग गर्न सकिने ठानेका थिए। तर विपरीत सन् १९६९ सम्म आइपुग्दा भारतीय कांग्रेसका सबै दिग्गज नेतालाई पछि पार्दै गान्धीले एक स्थापति नेताको रुपमा आफूलाई प्रस्तुत गरिन्। सन् १९७१ को निर्वाचनमा विपक्षी दललाई पराजित गरेकी उनमा ख्यातिसँगै तानाशाही प्रवृत्ति बढ्दै गयो।

सन् १९७१ डिसेम्बरमा भएको भारत–पाकिस्तान युद्धमा भारत विजयी भएपछि उनको कद झनै बढ्यो। युद्धपछि पाकिस्तान टुक्रिएर बंलादेश बन्यो। त्यसले भारतीयमाझ गान्धीको गरिमा हिन्दुदेवी दुर्गाको भन्दा कम भएन। वरिष्ठ राजनीतिक विश्लेषकले पनि उनलाई यो गरिमाबाट सम्बोधन गर्न थाले।

गान्धीले अतुलनीय राज्यशक्ति आफूमा निहित गरे पनि उनले आफूलाई सुरक्षित पाइनन्। उनको कसैलाई विश्वास नगर्ने बानी र राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा अधैर्यपन स्पष्ट देखिन्थ्यो। उनको सत्तामाथि सन् १९७४ मा जयप्रकाश नारायण नेतृत्वको युवा आन्दोलनले ठूलो झट्का दियो। त्यसो त नारायण ७२ वर्षका थिए। उनी समाजवादी आन्दोलनका पुराना नेता थिए, जो महात्मा गान्धीका समर्थक पनि थिए। उनी नेतृत्वका युवाले भारतमा बढ्दै गएको खाद्यान्नमा भएको महँगीको विरोधमा गान्धी नेतृत्वको सरकारविरुद्ध आन्दोलन छेडेको थियो।

सन् १९७५ जुन १२ मा भारतीय अदालतले श्रीमती गान्धीलाई सन् १९७१ मा भएको लोकसभा निर्वाचन प्रभावित पारेकोमा दोषी ठह¥यायो। उक्त निर्वाचन प्रभावित पार्न गान्धीले राज्य संयन्त्रको दुरुपयोग गरेको अदालतको ठहर थियो। उनलाई ६ वर्षसम्म राजनीतिमा प्रतिबन्धको घोषणा गर्‍यो। उनको दृष्टिमा यो सबै काम उनी विरुद्ध सक्रिय रहेका ‘देशी विदेशी दलाल’को थियो। यो वाक्य उनले विदेशी शक्तिलाई इंगित गरेकी थिइन्। त्यसको १३ दिनपछि गान्धीले देशमा संकटकाल घोषणा गरिन्।

त्यसको २१ महिनासम्म गान्धीले विरोधी शक्तिलाई परास्त गर्न भारतीय प्रहरीलाई बल प्रयोग गर्न स्वन्तन्त्रता दिइन्। त्यो समयमा उनले प्रयोग गरेको सबैभन्दो खतरनाक शक्ति भनेको पुरुष बन्ध्याकरणको थियो। बढ्दो भारतीय जनसंख्या रोक्न गान्धी सरकारले जबरजस्ती पुरुष बन्ध्याकरणको अभियान सञ्चालन गरेको थियो।

गान्धीले आफ्नो अधिनायकवादी शासनलाई वैधानिकता दिन मौजुदा पुलिस कानुनको प्रयोग गरिन्। त्यस क्रममा उनले पुलिस कानुनमा रहेका निषेधात्मक नजरबन्दी कानुनको प्रयोग गर्दै आफ्नो कदमलाई वैधता दिने प्रयास गरेकी थिइन्। तानाशाही शासन पद्धतिले उनलाई एकहदसम्म सुरक्षित त गर्‍यो होला। तर, त्यसको धब्बा उनलाई प्रत्युत्पादक सावित भयो।

आफूले भारतीयमा अनुशासनको थालनी गरेको विश्वाससहित उनले सन् १९७७ मा आम निर्वाचनमा घोषणा त गरिन्। पुनः निर्वाचित हुने उनले ठानेकी थिइन्। तर, जनताले भारी मतले उनलाई पराजित गरे।
वर्तमान मोदी नेतृत्वको भारतमा औपचारिक रुपमा कुनै किसिमको संकटकाल घोषणा भएको छैन, आधिकारिक रुपमा प्रेस स्वतन्त्रताको पनि हनन भएको छैन। न त कुनै राजनीतक दलमाथि नै कुनै प्रतिबन्ध लगाइएको छ। यद्यपि मोदीले कुनै तानाशाहीभन्दा कम राज्यशक्ति उपयोग गरेका छैनन्। यति हुँदा हुँदै पनि मोदीको व्यक्तित्व गान्धीको भन्दा धेरै माथि पाइन्छ।

सन् २०१४ को लोकसभा निर्वाचनमा हिन्दुत्वको नारा बोकेका भारतीय जनता पार्टीले अभूतपूर्व रुपमा सफलता प्राप्त गर्‍यो। मोदी सत्तासीन भएसँगै उनले राज्यशक्ति आफूमा मात्र केन्द्रित गर्न थाले। उनको सरकारले संसदलाई छल्दै अध्यादेशका माध्यमबाट सरकारको नीति तथा कार्यक्रम पास गर्‍यो।

नागरिक समाजमा अनुुसन्धान गरियो भने अयोग्य तर हिन्दुत्वको नारा लगाउने मानिसले शौक्षिक तथा सांस्कृतिक संस्थालाई नेतृत्व प्रदान गरेको देख्न सकिन्छ। यस्तै मोदी सरकारले न्यायाधीश नियुक्तिमा पनि व्यवधान पुर्‍याउन थाल्यो।

मोदीको निरंकुश अभियानको समर्थन भारतीय संविधानको केन्द्रीकृत प्रावधान हो। सन् १९५० मा जारी संविधानमा धेरैजस्तो निरंकुशता बेलायती संविधानबाटै बलपूर्वक समावेश गरिएको छ। संविधनमा कुख्यात रहेको १८७० राष्ट्रद्रोह कानुन पनि समावेश छ। जुन कानुनका माध्यबाट सरकारले आफ्ना विरोधीलाई राष्ट्रविरोधी करार गर्न सक्छ। काश्मिर र अन्य ठाउँमा उग्रवादीलाई दबाउन यस्तो अनपुयक्त कानुन प्रयोग गरिन्छ।

गान्धीले आलोचकलाई त्रसित तुल्याउन संकटकाअगावै पुलिस प्रसाशन प्रयोग गरेकी थिइन्। यस्तो अलोकतान्त्रिक प्रथाले मोदी र उनको हिन्दु राष्ट्रवादी पार्टीको उदयपछि झनै नयाँ जीवन प्राप्त गरेको छ।
जहाँ गान्धीले आफ्नो सरकार र राजनीतक गतिरोध अन्त्यका लागि संकटकाल लगाएकी थिइन्। मोदी नेतृत्वले हिन्दु लडाकु दस्ता तयार पार्न राजनीतिक शक्ति प्रयोग गरेको छ। उनले अल्पमत जनताको खुशीका लागि बहुमत जनतालाई दुख दिने काम गरेका छन्। असहमतिको स्वरलाई राष्ट्रघाती करार गरेको छ।

हिन्दु राष्ट्रवादी आलोचकलाई ‘जराविहीन सर्वव्यापी’ भन्छन्। अल्पमतको समुदायमाथि हुने आक्रमण नौलो हुँदैन। धेरै बौद्धिक र सञ्चारकर्मीहरु हिन्दुवादी उच्छृखंल व्यक्तिबाट मारिएका छन्। मोदीको व्यक्तित्वले भारतीय राजनीतिमा प्रभाव पार्छ नै। धेरै जस्ता भारतीय टेलिभिजनले आफ्नो टेलिभिजन रेटिङ बढाउन उनको प्रशंसा गर्छन्। दर्शकमाझ आफूसम्बद्ध टेलिभिजनको वर्चस्व कायम होस् भनेर पनि उनीहरु यस्तो गर्छन्।

१० वर्ष अघिसम्म भाजपा नेतृत्वमा दिग्गज नेताहरुको उपस्थिति थियो। तर, आज भाजपा भनेको मोदी र मोदी भनेकै भाजपा भएको छ। कार्यक्रममा मोदीको तस्बिरअंकित पोस्टर, नारा तथा सबैतिर उनी नै देखिन्छन्। भारतमा उनको नामको ‘नमो एप्स’ छ। ‘नमो’ टेलिभिजन उनकै नाममा  छ। गएको पाँचयता उनले कुनै पनि पत्रकार सम्मेलनको आयोजना गरेका छैनन्। आफू व्यक्तिगत रुपमा जनतासँग साक्षत्कार गर्न रुचाउने उनले पत्रकार सम्मेलन आयोजना गर्दैनन्। उनी रेडियो कार्यक्रमबाट जनतासँग प्रयत्क्ष साक्षात्कार गर्छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै ट्विटर प्रयोग गर्छन्।

केही महिनाअघि मोदीलाई कृषकले आफ्नो समस्या समाधान गर्न नसकेको बताउँदै आन्दोलनमा उत्रिएका थियो। जसका कारण १७ औं लोकसभा निर्वाचनमा उनी कृषकको मुद्दा छोडेर सैन्य मुद्दालाई महत्व दिइरहेका छन्। पाकिस्तानमाथि केही महिनाअघि भएको भनिएको सैन्य आक्रमणलाई उनले निर्वाचन केन्द्रित रणनीति बनाएका हुन्। यो कारण उनीसँग भारतीय मुस्लिम समुदाय त्रसित छ। उनको पार्टीले सन् २००८ मा मुस्लिम समुदायमा भएको आतंकवादी हमलाको आरोपितलाई पनि निर्वाचनमा उमेदवार बनाएको छ।

तानाशाही प्रवृत्तिका, उग्रराष्ट्रवादी लडाकुले भारतीय जनतासँग निर्वाचनमा आफूलाई समर्थन गर्न अपिल गर्दै छन्। भारतको भविष्य कस्तो बनाउने भन्ने जिम्मा अब भारतीय नागरिकको हातमा छ। भारतीय संविधानको प्रारुपकर्ता र दलित नेता बीआर अम्बेडकरले एकपटक भनेका छन्, ‘भारतीयहरु भक्ति र भक्तिसँग सम्बन्धित विषयमा अत्यन्त संवेदनशील छन्। यो धर्ममा राम्रो हो। तर राजनीतिमा यसले अधोगति निम्त्याउँछ, यसले तानाशाहीउन्मुख गराउँछ।’


भारतीय लेखक ज्ञानप्रकाशको न्युयोर्क टाइम्समा छापिएको लेख नेपालीमा पुरुषोत्तम पौडेलले  नागरिकको लागि भावअनुवाद गरेका हुन्। नागरिकबाट साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया