के के हुँदैछ त दिल्लीमा?

 ‘आप र काङ्ग्रेसबीच तालमेल नहुँदा त्यसको प्रत्यक्ष फाइदा भाजपालाई हुने र चुनाव सोचेभन्दा सहज हुने देखिन्छ,’ राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार रसिद किदवाई भन्छन् । आप प्रमुख र दिल्लीका मुख्यमन्त्री केजरीवालको भाजपाले चुनाव जितेको खण्डमा त्यसको दोषी काङ्ग्रेस हुने भन्ने अभिव्यक्तिले समेत किदाईको उक्त भनाइलाई पुष्टि गर्छ ।


आजदेखि छैटौँ चरणको निर्वाचन सुरू भएको छ । यस चरणमा ५९ वटा निर्वाचन क्षेत्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । यस चरणमा उत्तर प्रदेशका १४, हरियाणाका १०, मध्यप्रदेश, बिहार र पश्चिम बङ्गालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान हुनेछ।

आइतबारको निर्वाचनबाट सङ्घीयमन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काङ्ग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्राज्ञ सिंह ठाकुरसहित नौ सय ६८ जनाको राजनीतिक फैसला हुने भएको छ ।

यसअघिको लोकसभा निर्वाचनमा ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो । अप्रिल ११ देखि लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मई १९ मा सम्पन्न हुनेछ ।

यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मई ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ ।

निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुनिनेछन् । लोकसभामा पाँच सय ४३ सिट छन्, बहुमत ल्याउन दुई सय ७२ स्थानमा जित्नुपर्छ ।

 

के के हुँदैछ त दिल्लीमा?

सबैको आँखा दिल्लीमा छ। यहाँको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ करोड ४३ लाख मतदाता रहेको दिल्लीका ७ स्थानमा यसपटक १ सय ६४ जना उम्मेदवार मैदानमा छन् ।

पाँच वर्षअघिको चुनाव परिणामलाई हेर्ने हो भने दिल्लीको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को प्रभाव क्षेत्र नै भन्दा हुन्छ । सन् २०१४ को चुनावमा भाजपाले दिल्लीका सातवटै स्थानमा विजय हासिल गरेको थियो ।

सन् २००९ को चुनावमा सातवटै स्थानमा जित हासिल गरेको काङ्ग्रेसले पाँच वर्षपछि सबैमा पराजय भोगेको थियो । त्यति मात्र होइन, उक्त चुनावमा काङ्ग्रेसले ७ वटैमा तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो ।

तर, यस पटकको चुनावी परिदृश्य भने केही भिन्न छ । हुन त बलियो साङ्गठनिक प्रभावका अलावा देशकै केन्द्रीय राजधानीसमेत भएकाले सत्तारूढ भाजपा अझै बलियो स्थितिमा छ । तर, भाजपाको पक्षमा विगतको जस्तो लहर नभएका कारण काङ्ग्रेसलगायतका विपक्षीको मनोबल केही उच्च देखिन्छ ।

त्यसमाथि पूर्व मुख्यमन्त्री शिला दीक्षितको सक्रिय राजनीतिमा पुनरागमनले विशेषगरी काङ्ग्रेस पङ्क्ति बढी उत्साहित देखिन्छ । यता आम आदमी पार्टी (आप) ले पनि आफ्नो पूरै शक्ति दिल्लीमै केन्द्रित गरेको छ ।

सन् २०१४ को चुनावमा पार्टीका अध्यक्ष अरविन्द केजरीवाल बाराणासीबाट उम्मेदवारी दिएका कारण पार्टीले धेरै शक्ति त्यता लगाएको थियो । साथै, पञ्जाब र हरियाणामा पार्टीको पक्षमा राम्रै जनाधार बनेका कारण ती राज्यलाई प्राथमिकतामा राखेको थियो ।

तर, यसपटक पञ्जाब र हरियाणाबाट खासै सकारात्मक नतिजा आउने अपेक्षा नभएकाले समेत आपको सम्पूर्ण पार्टीपङ्क्ति दिल्ली चुनावमा होमिएको छ । यी कारणले पनि यसपटकको दिल्लीको चुनाव बढी रोचक बन्न पुगेको हो ।

सात स्थानमध्ये पनि विशेषगरी दक्षिण दिल्ली, उत्तरपूर्वी क्षेत्र, चाँदनी चोक, पूर्वी क्षेत्र सिटमा भने भाजपा, काङ्ग्रेस र आपबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । उत्तरपूर्वी क्षेत्रमा भाजपाबाट भोजपुरी अभिनेता तथा गायक मनोज तिवारी मैदानमा छन् ।

तिवारीले पाँच वर्षअघि यही क्षेत्रबाट जितेका थिए । यसपटक उनलाई टक्कर दिँदै छन् काङ्ग्रेसकी पूर्व मुख्यमन्त्री शिला दीक्षितले र आपबाट पार्टीका प्रवक्ता दिलिप पाण्डे ।

दिल्लीका केही स्थानमा अन्तर्राष्ट्रिय ख्याति कमाएका खेलाडीको उम्मेदारीका कारण विशेष चर्चामा छ । यिनैमा पर्छ दक्षिण दिल्ली र पूर्व दिल्ली सिट । पूर्व दिल्ली क्षेत्रबाट अन्तर्राष्ट्रिय क्रिकेटर गौतम गम्भीर भाजपाका तर्फबाट उम्मेदवार छन् । उनलाई चुनौती दिँदै छन् काङ्ग्रेसका अरविन्दर सिंह लवली र आपकी अतिशिले ।

तीनपटकसम्म विधायक चुनिइसकेका लवली शिला दीक्षित नेतृत्वको सरकारमा मन्त्रीसमेत रहिसकेका छन् भने आपकी प्रवक्तासमेत रहेकी अतिशि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाकी प्रमुख सल्लाहकारसमेत छिन् । दिल्लीको सार्वजनिक शिक्षामा भएको पछिल्लो सुधारका लागि अतिशिको भूमिकाको प्रशंसा हुँदै आएको छ । जसले गर्दा यो क्षेत्रमा पनि त्रिपक्षीय प्रतिस्पर्धाको अनुमान गरिएको छ ।

त्यसैगरी, दक्षिण दिल्ली सिट काङ्ग्रेसका पूर्वअन्तर्राष्ट्रिय बक्सर भिजेन्दर सिंहका कारण विशेष चर्चामा । काङ्ग्रेसका उम्मेदवार सिंहले सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा भारतका लागि बक्सिङ खेलमा पहिलो ऐतिहासिक पदक जितेका थिए । उनले मिडल वेट प्रतिस्पर्धामा कास्य जितेका थिए ।

उनीसँग भिड्दै छन् आपका सबभन्दा कान्छा उम्मेदार राजीव चढ्ढा र भाजपाका तर्फबाट रमेश विधुरी । पेसाले चार्टर्डड एकाउन्टेटसमेत रहेका चढ्ढा युवामाझ विशेष लोकप्रिय छन् भने दिल्लीका परिचित राजनीतिज्ञ विधुरी दक्षिण दिल्ली सिटका साविक विजेता हुन् । साथै चाँदनी चोक सिट पनि निकै प्रतिस्पर्धात्मक मानिएको छ ।

यहाँ भाजपातर्फबाट केन्द्रीय मन्त्री हर्षवर्द्धन, काङ्ग्रेसका तर्फबाट पुराना नेता जयप्रकाश अग्रवाल र आपबाट सफ्टवेयर इन्जिनियर पञ्कज गुप्ता चुनावी मैदानमा छन् । विगतमा काङ्ग्रेसको गढ मानिने यस लोकसभा क्षेत्रबाट सन् २०१४ को चुनावमा हर्षवर्द्धनले जितेका थिए । काङ्ग्रेस र आपको आक्रामक चुनावी प्रचारका कारण यो क्षेत्रमा पनि त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।

केन्द्रीय राजधानीसमेत भएकाले यहाँको चुनावी परिणामको सन्देश पूरै राष्ट्रिय राजनीतिमा प्रवाह हुने हुँदा आफ्नो पक्षमा नतिजा ल्याउन पार्टीले पूरै शक्ति लगाएको देखिन्छ । चुनावी मुद्दाको सन्दर्भमा भने यसपटक भाजपाले मोदीको व्यक्तित्व र राष्ट्रिय सुरक्षालाई प्रमुखता साथ अगाडि सारेको छ भने विपक्षीले भने बेरोजगारी, नोटबन्दी, जीएसटीजस्ता विषयलाई चुनावी नारा बनाएका छन् ।

दिल्लीले लोकसभा चुनावमा राष्ट्रिय मुद्दा र विधानसभा चुनावमा स्थानीय मुद्दाका आधारमा अभिमत प्रकट गर्ने गरेको विगतलाई हेर्ने हो भने यसपटकको चुनावमा पनि मोदीको ‘फ्याक्टर’ हाबी हुने सम्भावना नकार्दैनन् राजनीतिक विश्लेषकहरू ।

त्यसो त काङ्ग्रेस र आपबीचको सम्भावित तालमेलको चर्चाका कारण पनि दिल्लीले धेरै अघिदेखि पूरै देशको ध्यान तानेको थियो । तर, अन्तिम समय आएर दुवै दल बेग्लाबेग्लै चुनाव लड्ने निर्णयमा पुगे । आपप्रतिको आकर्षण विगतभन्दा कमजोर हुँदै गएको र आगामी वर्ष हुने विधानसभा चुनावमा पार्टीको पुरानो जनाधार फर्काउनुपर्ने कार्यकर्ताको दबाबबीच काङ्ग्रेस नेतृत्व चुनावी तालमेल नगर्ने निर्णयमा पुगेको बुझिन्छ ।

तर, यो निर्णयले दिल्लीको चुनाव भाजपाका लागि अनुमान गरेभन्दा सहज हुने राजनीतिक विश्लेषकको दाबी छ । ‘आप र काङ्ग्रेसबीच तालमेल नहुँदा त्यसको प्रत्यक्ष फाइदा भाजपालाई हुने र चुनाव सोचेभन्दा सहज हुने देखिन्छ,’ राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार रसिद किदवाई भन्छन् । आप प्रमुख र दिल्लीका मुख्यमन्त्री केजरीवालको भाजपाले चुनाव जितेको खण्डमा त्यसको दोषी काङ्ग्रेस हुने भन्ने अभिव्यक्तिले समेत किदाईको उक्त भनाइलाई पुष्टि गर्छ ।

चुनावी प्रचारका क्रममा भएका उम्मेदवारीहबीचको आरोपप्रत्यारोप र केही बिर्सनलायक घटनाले पनि दिल्लीको चुनावी गर्मी थप बढाएको थियो । मोती नगरको चुनावी र्‍यालीका क्रममा केजरीवालमाथि एक सर्वसाधारणले थप्पड नै प्रहार गरे । उक्त घटनाका पछाडि भाजपाको हात रहेको आरोप आपले लगाएको थियो । उक्त घटनापछि भाजपा र आपबीच एकअर्काविरुद्ध थप चर्को रूपमा प्रस्तुत हुन थाले ।

यसैबीच भाजपाका तर्फका पूर्वी दिल्लीका उम्मेदवार गौतम गम्भीरमाथि आपकी उम्मेदार अतिशिले आफ्नो चरित्रहत्या गर्ने गरी पर्चाबाजी गरिएको आरोप लगाएपछि दिल्लीको चुनावी प्रतिस्पर्धा तिक्ततापूर्ण बन्न पुगेका थियो । यद्यपि गम्भीरले उक्त आरोपलाई ठाडै नकार्दै यदि पुष्टि भएको खण्डमा राजनीतिबाटै संन्यास लिने घोषणासमेत गरेका छन् ।

अतिशिले उक्त घटनाका सम्बन्ध कारबाही अघि बढाएन दिल्ली आयोगमा निवेदन दिएका छिन् भने गम्भीरले पनि आपले बिनाआधार आरोप लगाएरमानहानी गरेको भन्दै सार्वजनिक रूपमै क्षमा माग्नुपर्ने भन्दै उजुरी दिएका छन् । अतिशि र गम्भीरबीचको आरोपप्रत्यारोपमा शुक्रबारको घटनाले आगोमा घ्यू थप्ने काम गर्‍यो ।

आपका नेता मनीष सिसोडियाले ट्वीट गर्दै शुक्रबारको चुनावी र्‍यालीमा गम्भीरले आफ्नो डुब्लिकेटलाई प्रचारमा प्रयोग गरेर जनतालाई ढाँटेको आरोपसमेत लगाए । उनले चुनावी र्‍यालीका क्रममा गम्भीर गाडीभित्र बसेको र उनी जस्तै अनुहार भएका भाजपा कार्यकर्ताले मतदातालाई अभिवादन गरिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।

तर, गम्भीरले सिसोदियाको उक्त आरोपलाई मिथ्या भन्दै आफू गर्मीका कारण केही समय गाडीभित्र बसेको र त्यतिबेला आफ्ना कार्यकर्ताले स्थानीय मतदातालाई अभिवादन गरेको दाबी गरे । अतिशिले मतदाता सूचीमा गम्भीरको नाम दुईवटा लोकसभा क्षेत्रको रहेको हुँदा उनको उम्मेदवारी बदर हुनुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी दिए आयोगले खारेज गरिदिएको थियो ।-कान्तिपुर/नयाँपत्रिका

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया