हामी अझसम्म संविधानभित्र छैनौं

Girl in a jacket

आजसम्म हामी भारतको संविधानभित्र पसेका छैनौं भन्ने कुरा गोर्खाहरूले बुझ्नुपर्छ। किन भने हाम्रो भूभागलाई अस्थायीरूपमा मात्र ग्रहण गरेर बङ्गालमा राखिएको देखिन्छ। हाम्रो अस्तित्वमाथि प्रश्नचिह्न लागेको कारण यही हो।


जेआर देवान


विश्वमा बसोबास गर्ने कुनै पनि जाति समूहको इतिहास हुन्छ। गोर्खा जातिको पनि आफ्नै इतिहास छ। गोर्खाहरूले आफ्नो इतिहास जान्नु अनिवार्य छ। वर्तमान प्रजातान्त्रिक व्यवस्थामा कुनै देशका संवैधानिक क्षेत्रअन्तर्गत त्यहाँका मूलबासीको बासभूमि अन्तरर्भुक्त भएकै हुनुपर्छ। त्यसपछि मात्र त्यो जाति समूहलाई त्यो देशको भूमिपुत्र मानिन्छ।

1814 को नेपाल-अङ्ग्रेज युद्धमा नेपाल पराजित भएपछि 1815 को सुगौली सन्धिमा नेपाल सरकारले गोर्खाहरूको भूभाग दार्जीलिङ जिल्लामा पर्ने पहाड र तराईको भूभाग तत्कालीन अङ्ग्रेज सरकारलाई सुम्पियो।

1947 मा अङ्ग्रेजले भारत स्वतन्त्र देश घोषणा गरेपछि 1950 मा भारतको संविधान बनियो। तर गोर्खाहरूको यो भूभाग संविधानभित्र पारिएन। आजसम्म पनि पारिएको छैन। तर 1954 मा अर्कै अबजर्भ एरिया एक्ट बनाएर यो भूभागलाई पश्चिम बङ्गालमा शासन प्रणालीका निम्ति मात्र राखिएको हो।

आजसम्म हामी भारतको संविधानभित्र पसेका छैनौं भन्ने कुरा गोर्खाहरूले बुझ्नुपर्छ। किन भने हाम्रो भूभागलाई अस्थायीरूपमा मात्र ग्रहण गरेर बङ्गालमा राखिएको देखिन्छ। हाम्रो अस्तित्वमाथि प्रश्नचिह्न लागेको कारण यही हो।

त्यसै कारण 1986-87 मा गोर्खा नेता सुबास घिसिङले देशमा गोर्खाहरूको आफ्नो भूभागको टुङ्गो लगाउन आन्दोलन गरे। त्यसैले दार्जीलिङ गोर्खा पार्वत्य परिषद-को नाममा गोर्खाहरूको किपट हासिल गर्न सफल भए।

22 अगस्त 1988 मा भारतमा बसोबास गर्ने गोर्खाहरूको नागरिकताको आधिकारिक अधिसूचना जारी गर्न सरकार बाध्य भयो। राजनैतिक सम्झौताले गोर्खाहरूको संवैधानिक अधिकार एवं माटोको टुङ्गो नलाग्ने बुझेपछि फेरि सुवास घिसिङले संविधानको छैटौं अनुसूचीमार्फत गोर्खाहरूको यो विवादित सन्धीयुक्तिले जेलिएको भूभागलाई संविधानमा अन्तर्भुक्त गराउन 6 दिसम्बर 2005 को दिन अन्य जनजाति किपटसरह जनजातिको किपटलाई संविधानको छैटौं अनुसूचीअन्तर्गत सामाधान गराउन केन्द्र र राज्य सरकारलाई हस्ताक्षर गराउन सफल भए।

दार्जीलिङ पहाडमा छैटौं अनुसूची लागू हुनै आँट्दा बङ्गालको षडयन्त्रमा परेर केही नेताहरूले साधारण जनतालाई भ्रममा पारेर यति ठूलो उपलब्धीको विरोध गरे।

2010 मा गोर्खाल्याण्ड ल्याउँछौं भन्नेहरूले गोर्खाल्याण्डको त कुरै नगरौं छैटौं अनुसूची पनि गुमाइपठाए। 11 वर्षको आन्दोलनकालमा नेताहरू करोडपति, लखपति भए तर भोकै कराउने जनता भिखारी भए। विद्यार्थीहरूको भविष्य वर्वाद भयो। गोर्खा जातिको वेइज्जत भयो। भूपू गोर्खाहरूले कुटाइ खाए। धेरै मरे। तर अब सतर्क हुनुपर्छ। हाम्रो भाग्य नै छैटौं अनुसची हो। जनता एकजुट भएर छैटौं अनुसूची भित्राएर भावी पिँढीको भविष्य निर्माण गरौं। पहिले आफ्नो धरातल ठिक पारौं।

(लेखक, गोर्खा राष्ट्रीय भूतपूर्व सैनिक सङ्गठनका अध्यक्ष हुन्। हिजो जाकिर हुसैनपथस्थित कार्यालयमा उनले दिएको सम्भाषणको अंश)

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया