छैटौं चरणको मतदान : सबैभन्दा धेर बङ्गालमा मतदान

एनएनआईका अनुसार पश्चिम बङ्गालमा ८० दशमलव १३ प्रतिशत, दिल्लीमा ५५.४४, हरियाणामा ६२ दशमलव १४, उत्तरप्रदेशमा ५० दशमलव ८२, विहारमा ५५ दशमलव ०४, झारखण्डमा ६४ दशमलव ४६ र मध्यप्रदेशमा ६०.१२ प्रतिशत मतदान भएको छ ।


लोकसभा निर्वाचनअन्तर्गत छैटौं चरणको मतदान आइतबार सम्पन्न भएको छ । विभिन्न राज्यमा भएको यो चरणको चुनावमा कुल ५९ दशमलव ७० प्रतिशत मत खसेको छ । एनएनआईका अनुसार पश्चिम बङ्गालमा ८० दशमलव १३ प्रतिशत, दिल्लीमा ५५.४४, हरियाणामा ६२ दशमलव १४, उत्तरप्रदेशमा ५० दशमलव ८२, विहारमा ५५ दशमलव ०४, झारखण्डमा ६४ दशमलव ४६ र मध्यप्रदेशमा ६०.१२ प्रतिशत मतदान भएको छ ।

५९ स्थानका लागि भएको यो चरणमा ७ सय ९७ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो ।

यस चरणमा उत्तर प्रदेशका १४, हरियाणाका दस, मध्यप्रदेश, विहार र पश्चिम बङ्गालका आठ-आठ, नयाँदिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भएको हो । आइतबारको निर्वाचनमा केन्द्रीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काङ्ग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्रज्ञासिंह ठाकुरलगायत नेता पनि चुनावी मैदानमा रहेका छन् ।

अप्रिल ११ देखि विभिन्न चरणमा लोकसभा चुनाव भइरहेको छ । सात चरणमा सकिने केन्द्रीय निर्वाचनको अन्तिम चरण मे १९ मा सम्पन्न हुनेछ । यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मई ६ तारिखका दिन पाँचौं चरणको निर्वाचन भएको थियो ।

पाँचौं चरणको निर्वाचनमा सात राज्यका ५१ स्थानका लागि मतदान भएको थियो । त्यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी नेत्री सोनिया गान्धी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानी उम्मेदवार रहेका छन् ।

यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कुल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कङ्ग्रेसले दुई स्थान मात्र जितेको थियो । कङ्ग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो । भारतमा आगामी मई १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन हुनेछ । चुनाव सम्पन्न भएको चार दिनपछि मई २३ मा मतगणना हुनेछ ।

यसैबीच भारतीय राष्ट्रिय कङ्ग्रेसका प्रभावशाली नेत्रीद्वय सोनिया गान्धी र प्रियङ्का गान्धीले आइतबार दिल्लीमा मतदान गरेका छन् । आमा सोनिया र छोरी प्रियङ्कासँगै प्रियङ्काका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कङ्ग्रेस महासचिवसमेत रहेकी प्रियङ्काले लोकतन्त्र बचाउने पक्षमा आफूले मतदान गरेको प्रतिक्रिया दिइन् ।-कान्तिपुर

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया