उत्तर सिक्किममा चौरी गाईलाई जति सक्दो बचाउने दिशामा प्रशासनको पहल तिब्र

Girl in a jacket

गान्तोक,13 मईः हिमाली राज्य सिक्किमको उत्तर जिल्लाको माथ्थिलो भागमा पालिने चौरी गाईको मृत्युको घटनाले चौरी पालकहरूलाई ठूलो घाटा भएको छ। उत्तर सिक्किमको मुगुथाङ, ल्हासार भेल्ली, गुरुदोङमार, छो ल्हामो क्षेत्रमा पालिने 3 सय भन्दा अधिक चौरी गाई मृत्यु भएको घटनाले पशु पालन विभाग, पशु चिकित्सक र जिल्ला प्रशासनको चिन्ता बडाएको छ। व्यापक हिमपातको कारण हिमफेदीसम्म चरण र आहार खोज्दै जाने चौरी गाई हिउँमा फसेर खान नपाएरै मृत्युको मुखमा परेको छ। जसले चौरी पालकहरूलाई ठूलो आर्थिक संकट निम्त्याइ दिएको छ भने सिक्किममा पाइने चौरी गाईको प्रजातिमाथि पनि संकट मडारिरहेको छ।

यसबारेमा चुङ्थाङका महकुमा अधिकारीले आईटीबीपीको 11औं र 13औं बटालियन, पशु चिकित्सक, चौरीपालक तथा अन्य हितधारकहरूसँग एउटा महत्त्वपूर्ण बैठक गरेका छन्। उत्तर सिक्किमको मुगुथाङ, ल्हासार भेल्ली, गुरुदोङमार, छो ल्हामो क्षेत्रमा भएको चौरी गाई मृत्यु प्रकरणसम्बन्धी उनले यो बैठक गरेका हुन्।

उत्तर सिक्किमको हिमाली खण्डमा गत केही महिनादेखि एक हजारभन्दा अधिक चौरी गाईको खाद्यान्नको अभावमा मृत्यु भएपछि जीवित रहेका चौरीहरूलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न आजको बैठक गरिएको जानकारी पाइएको छ। जिल्ला प्रशासनले विभिन्न निकायहरू लगाएर चौरी गाईलाई खाद्यान्न तथा चिकित्सा प्रदान गरिरहेको छ। यस सम्बन्धमा उत्तरका जिल्लापाल राज यादवले अत्यधिक हिउँको कारण सड़क सम्पर्क नभएकोले प्रशासन चौरी भएको क्षेत्रसम्म पुग्न सकेको थिएन। तर, अहिले हिउँ केही पग्लिएको अऩि कठिनाइको सामना गर्दै भए पनि चिकित्सकहरूलाई त्यहाँ पठाउने काम हुँदै गरेको बताएका छन्।  उनले प्रशासनको तर्फबाट सक्दो प्रयास गरिरहेको अनि जतिसक्दो चौरी बचाउने प्रयास रहेको बताए। भविष्यमा यस्तो घटना नहोस् भन्नाखातिर प्रयास गरिरहेको पनि बताएका छन्। सिक्किमको चिन्हारीको रूपमा रहेको चौरीलाई बचाउने हामी सबैको दायित्व हो भन्दै उनले यस सम्बन्धमा चौरीपालकहरूले पनि प्रशासनलाई साथ दिन जरुरी रहेको बताए।  उनीहरूले समयमै प्रशासनलाई खबर गरेको भए यति ठूलो क्षति नहुने पनि बताए।  राज्यमा चौरी गाईमाथि आइपरेको सङ्कटप्रति  कुराकानी गर्दै पूर्व वन अधिकारी उषा लाचुङ्पाले सिक्किममा दिन्हौंदिन चौरी गाईमाथि ठूलो सङ्कट आइपर्दैछ भन्ने बताउँछिन।   चौरीको चरण क्षेत्र घटेर गइरहेको अनि  उत्तर सिक्किमको चरण क्षेत्रमा सेनाले छाउनी निर्माण गरेको कारण चौरीको चरण क्षेत्र घटेर गएको उनको भनाइ छ। त्यसैले चौरी हिमालतर्फ चर्न जानुपर्ने बाध्यता देखा परेको छ। अत्यधिक हिउँ पर्दा चौरी लामो समयसम्म हिउँमा फँस्नुपर्छ। त्यसकारण वर्षेनि चौरीको मृत्यु हुँदैछ भन्ने उनको भनाइछ।चौरी मात्र होइन, उत्तर सिक्किममा धेरै महत्त्वपूर्ण औषधीय वनस्पतिहरूमाथि पनि सङ्कट आएको अनि धेरै औषधीय वनस्पति मासिएर जाँदै गरेको  हुनाले यस सम्बन्धमा अझै सोध तथा संरक्षणको काम गर्न जरुरी छ रहेको उनले बताइन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया