17800 फिटको उचाईमा कविता

Girl in a jacket

गान्तोक, 14 मई।

सिक्किमको साहित्यिक गतिविधिमा नौलो प्रयासको रूपमा ररहेको ‘चिया कविता’ समूहले आयोजन गर्ने हिउँमा कविता 2019 भव्यताको साथमा उत्तर सिक्किमको चर्चित पर्यटकीय गन्तव्य 17800 फिटको उच्चाईमा रहेको गुरुदोङ्मार झीलमा सम्पन्न भएको छ। सिक्किम र दार्जीलिङका कविहरूको उपस्थितिमा गत 11 अनि 12 मईको दिन भएको उक्त कार्यक्रमले पछिल्लो कार्यक्रमको रेकर्डलाई पछि पार्दै नयाँ किर्तिमान स्थापित गरेको छ। पछिल्लो पल्ट उत्तर सिक्किमकै 11693 फिटमा रहेको  युमथाङमा सोही प्रकारको कार्यक्रम सम्पन्न गरिएको थियो।

यसपालि गुरुदोङ्मार झीलमा कार्यक्रम हुन अघि पहिलो दिनको कार्यक्रम चुङ्थाङको गुरुद्वाराको प्रेक्षगृहमा स्थानीय कवि एवं साहित्यकारहरूको उपस्थितिमा कविता गोष्ठी सम्पन्न भएको थियो। जसमा चुम्थाङ थानाका एचएसओ डीपी दाहालको विशेष उपस्थिति रहेको थियो। यसरीनै स्थानीय साहित्यकार मणी छेत्री, भगवान सुवेदीले सहभागिता जनाएका थिए।

यस अवसरमा सिक्किम दार्जीलिङका कविहरूले कोठे कविगोष्ठीमा वर्तमान सिक्किम दार्जीलिङले कविताको धार बारे चर्चा गर्नका साथै आ-आफ्ना मौलिक रचनाहरू सुनाएका थिए। दोस्रो दिन अर्थात मुख्य कार्यक्रममा गुरुदोङ्मार झील परिसरमा आयोजित हिउँमा कविता कार्यक्रममा विशेष रूपले कविता वाचनलाई मुख्य कार्यक्रममा समावेस गरिएको थियो।

कार्यक्रम बारे जानकारी दिँदै चिया कविताका संयोजक प्रविण खालिङले यस प्रकारको कार्यक्रम गर्नु साहित्यिक गतिविधिलाई मञ्च र कोठाभित्रबाट बाहिर प्रकृतिसमक्ष निकाल्नु रहेको बताए। अहिलेसम्म चलिआएको परम्परागत साहित्य पठन र कार्यक्रमको शैलीलाई फरक ढङ्गमा प्रस्तुती दिएर रोचक र आनन्ददायी बनाउने दिशामा चिया कविताले हिउँमा कविता, इको पोइट्री, कवि सन्धी र बायो लिटुरा जस्ता कार्यक्रमहरूलाई सूचिकृत गरेको बताए।

जसले साहित्यकारहरूलाई सृजनाको कर्मसँगै त्यसको प्रदर्शनलाई फरक ढङ्गमा पस्कन अभिप्रेरित गर्ने बताए। चिया कविता कार्यक्रम 2014-देखि अनौपचारिक कविता विशेषको कार्यक्रम भएरपनि केवल साहित्यवाचन मात्र नभएर साहित्यलाई देशाटन सितपनि संलग्न गराउन अनि सृजनधर्मीहरूलाई कोठादेखि बाहिर उभिएर साहित्य गर्ने नयाँ सोंच दिने प्रयासमा हिउँमा कविता जस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने देखिएको बताए। हिउँमा कविता 2019-मा विशेष गरेर युवा कविहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

त्यसै पनि उच्चाईको कारण साँस फेर्न गाह्रो-गाह्रो हुने हिमाली टाकुरामा हिउँको कठेङ्ग्रिने हावालाई वास्ता नगरि कविहरूले दमदार कविता सुनाएका थिए। जसमा मुख्यरूपमा प्रकृति, समाज र प्रेमका कुराहरूबाहेक समकालिन राजनीतिक उतार चडावलाई  आधार बनाएर लेखिएका कविताहरूले 17800 फिटको उचाईमा पनि आफ्नो स्वर मुखर गरेको थियो।

कविहरूमा अतिथि कविको रूपमा दार्जीलिङबाट विनिता छेत्री, कमल भट्टराईले कविता सुनाएका थिए भने सिक्किमबाट युवा बराल, जगन दाहाल, दीपा राई, लुइस विष्ट, एसबी कार्की, गोपाल ढकाल, सुकराज राई, सुमन, निलम गुरुङ, जिविका अश्रू, मणि छेत्री, प्रबल राई, डीएन नेपालले दुई चरणमा कविता सुनाएका थिए।

कार्यक्रममा श्रोता र कविता प्रेमीको रूपमा पनि युवाहरूको बाक्लै उपस्थिति थियो जसमा युवा उद्धमी एचएम राई, खगेन्द्र ढकाल, जयप्रकाश शर्मा, सुष्मिता पाखरिङ, रेनुका खतिवडा, मिलन धिवा सोमेन पाल, क्षितिज छेत्री, चेकराज  राईले सहयोगी भूमिका सितै कार्यक्रममा सहभागिता जनाएका थिए। चिया कविता समूहले कार्यक्रम आयोजन गर्नका निम्ति सहयोग गर्ने भारतीय सेनाका कवि अमृत छेत्री र उनका सहयोगी जवानहरू अनि चुङथाङ पुलिस अनि गुरुद्वारा प्रबन्धन समितिलाई आभार पनि प्रकट गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया