एसयुका शिक्षक विद्यार्थीसित यौन दुर्व्यावहारको आरोपमा परे, हटाइयो विभागीय प्रमुख पदबाट

गान्तोक, 14 मई। सिक्किम केन्द्रीय विश्वविद्यालयमा शिक्षकद्वारा विद्यार्थीहरू सित यौन दुर्व्यवहार हुने भएको खुलासा भएको छ। एसयूको मास कम्यूनिकेशन विभागीय प्रमुख सिलाजित गुहामाथि आफ्नै विभागका विद्यार्थीहरूसित यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सनसनी मच्चिएको छ। घटना अनुसार आरोपी गुहाले गत पाँच मईको दिन रानीपूलको एउटा होटलमा आयोजित बिवाहको भोजमा आमन्त्रित विभागका विद्यार्थीहरूलाई जबरजस्ति हातपात गर्नका साथै फोनमार्फत पनि आफ्नो घरमा बोलाउने तथा अन्य यौन दुरव्यवहार जन्य क्रियाकलाप गरेपछि असहनीय भएका पिढीत विद्यार्थीले विश्वविद्यालयको आन्तरिक गुनासो समितिमा गुनासो दर्ता गरेर न्यायको माग गरेको छ। यस पछि समितिले कार्वाही गर्दै 13 मईको दिन आरोपी गुहालाई विभागीय प्रमुखबाट हटाएको छ भने जाँच पूरा नभएसम्म विभागमा जान पनि प्रतिबन्धित गरेको छ। घटनाबारे पत्रकारहरूसित कुराकानी गर्दै विश्वविद्यालयका कुल सचिव टीके कौलले विश्वविद्यालयको तर्फबाट आरोपी शिक्षकमाथि कारवाही गरिएको तथा विभागमा पिढित विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनि बढाइएको अनि आरोपी शिक्षकले परिक्षा र अन्य क्रियाकलाप माथि प्रभाव नपारोस भनेर उनलाई सबैबाट अलग गरिएको बताए। यस प्रकारको घटना अहिलेसम्म नभएको बताउँदै आन्तरिक गुनासो समितिले निस्पक्ष रूपमा विश्विद्यालय अनुदान आयोगको निर्देश अनुसार तयार पारिएको नियम भित्र रहेर निस्पक्ष जाँच गर्ने पनि बताएका छन्। अर्कोतिर सिक्किम विश्वविद्यालयका विद्यार्थी सङ्गठनले घटनालाई गम्भीरता सित लिएको छ। आरोपी शिक्षक विरुद्ध आन्तरिक गुनासो समितिले सजिलो व्यवहार गर्नुनहुने अनि पुलिस प्रशासनमा जानबाट पिढितालाई हतोत्साहित गर्ने जस्ता विचारहरू प्रसार गर्ने काम गर्नुनहुने माग गरेको छ। घटना पछि न्यायको माग गर्दै विद्यार्थी संगठनका अध्यक्ष पाल्साङ तामाङले आरोपी शिक्षक आधिकारिक जानकारी नदिइ राज्य बाहिर गएको कुरा कुलपतिले समेत स्विकार गरिसकेको हुनाले आरोपी शिक्षक पूर्णरूपमा दोषी रहेको हुनाले भागेको हुनसक्ने बताए। यसैगरि आरोपी शिक्षक यसभन्दा पहिले आसाम विश्वविद्यालय सिल्चरमा प्राद्यापक रहँदा पनि यस्तै प्रकारको यौन दुर्व्यवहारमा संलग्न रहेको र उनी विरुद्ध कारवाही भएको घटना प्रकासमा आएको हुनाले यसबारे सिक्किम विश्वविद्यालये आफ्नो विभागमा नियुक्त दिन अघि उनको चारित्रिक जाँच सही ढङ्गमा किन गरेन भन्ने प्रश्न उठाएका छन्। विद्यार्थी संगठनले अब उसो उक्त शिक्षकलाई सिक्किम विश्वविद्यालयबाट निस्कासित गर्नुपर्ने र अन्य विश्वविद्यालयमा पनि जानबाट पूर्णरूपमा प्रतिबन्धित गरिनुपर्ने माग गरेकाछन्। यदी पिढिताले न्याय नपाएको खण्डमा विद्यार्थी संगठनको नेतृत्वमा सडकमा उत्रिएर पनि आफ्नो चेलीको इज्जत बचाउन र विद्यार्थीहरूको सुरक्षाको सुनिश्चित गराउन सडकमा उत्रिएर कार्वाही गर्न पछिनपर्ने विश्वविद्यालय प्रसाशनलाई चेतावनी पनि दिएका छन्। उल्लेखनीय छ केही समय अघि पुस्तकालयका एक कर्मचारीले मुख चलाएको आरोपमा मात्र एकसालको निम्ति निलम्बन गर्ने विश्वविद्यालय प्रशासनले खुल्ला रूपमा बिहेको भोजमा विद्यार्थीहरूको इज्जतसित खेलाइँची गर्ने यौन पिपासु शिक्षकलाई भने छुट्टी नलेखि खुल्ला राज्यबाहिर घुम्नदिने विश्वविद्यालय प्रशासनमाथि कडा आपत्ति जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया