दार्जीलिङवासीले एक बनेर जातिलाई सङ्कटबाट मुक्ति दिलाउने धर्म निर्वाह गरेका छन्, यसपालि पनि गर्नेछन्

Girl in a jacket

2017 देखि यता तृणमूल काङ्ग्रेसको सरकारले गोर्खा जातिको भाषा साहित्य संस्कृति एवं समाजिक संरचना मास्ने जुन काम गर्दै आएको छ त्यो हेरेर पनि दार्जीलिङवासीले यो चुनावमा आफ्नो मत प्रकट गर्नेछन् भन्ने मेरो विचार छ। बङ्गालको अन्य लोकसभा आसनहरूमा भाजपाले जनता जनार्दनबाट जुन साथ पाइरहेको छ त्यो पनि दार्जीलिङवासीले हेर्नुपर्छ – भाजपा अध्यक्ष अमित साहले भर्खरै गरेको कोलकोताको “रोड शो” मा स्वस्फुर्त भेला भएको जन सैलाबले पनि धेरै कुरा इङ्गित गरेको छ।


देव खम्बु राई।

अहिले दार्जीलिङ विधानसभा आसनमा हुन लागेको उपचुनावको कारणले गर्दा दार्जीलिङ पहाड़को राजनैतिक माहौल तातिएको छ। विभिन्न राजनैतिक पार्टीहरू – निर्दलीय उम्मेद्वारहरू आ – आफ्ना मुद्दा बोकेर जनतालाई रिझाउन घर – घर – गाउँ – गाउँ चुनाव प्रचार अभियानमा व्यस्त छन्। दार्जीलिङवासीको काँधमा सठिक निर्णय लिने जिम्मावारी आइपरेको छ – जब जब गोर्खा जाति सङ्कटमा पर्छ तब तब दार्जीलिङवासीले एकीकृत भएर जातिलाई त्यो सङ्कटबाट मुक्ति दिलाउने कर्तव्य वहन गरेको राजनैतिक इतिहास छ।

यसैले यसपाली पनि दार्जीलिङवासीले त्यो कर्तव्य वहन गर्ने नै छन् भन्ने हामी वर्तमानमा दार्जीलिङदेखि टाढ़ा हुनेहरूले आशा साँचेका छौं।

दार्जीलिङ विधानसभा आसन गोर्खा जातिको निम्ति नै इज्जत र शान देखाउने आसन हो। जातीय उन्मुक्ति – जातीय अस्तित्व र चिन्हारीको लड़ाईंमा भारतभरि छरिएर बसेको गोर्खाहरूलाई अहिलेसम्म दार्जीलिङले नै प्रतिनिधित्व गर्दै आइरहेको छ। यदि भविष्यमा पनि यो लड़ाईं दार्जीलिङले नै प्रतिनिधित्व गर्नु हो भने दार्जीलिङवासीले यो चुनावमा सोंचेर बुझेर – जातीय गौरवलाई ह्रदयङ्गम गरेर आ – आफ्नो मत खसाल्नु पर्ने देखिन्छ।

होइनभने भोलीको दिनमा जातीय उन्मुक्ति – जातीय अस्तित्व र चिन्हारीको लड़ाईंमा प्रतिनिधित्व गर्ने अधिकार दार्जीलिङले गुमाउने छन् – यो कुरा दार्जीलिङवासीले बुझ्न अत्यन्त जरूरी छ।

यो दार्जीलिङ विधानसभा आसनको उपचुनावमा धेरै प्रत्याशीहरू भए पनि मुख्यतः रूपले भाजपा प्राथी निरज जिम्बा र तृणमूल समर्थित निर्दलीय प्रार्थी विनय तामाङ माझ रोचक प्रतिस्पर्धा हुने देखिएको छ। पार्टीगतरूपमा हेर्नु पर्दा बङ्गालमा भाजपा उदाउन लागेको घाम हो भने तृणमूल अस्ताउन लागेको घाम हो।

फेरि 2017 देखि यता तृणमूल काङ्ग्रेसको सरकारले गोर्खा जातिको भाषा साहित्य संस्कृति एवं समाजिक संरचना मास्ने जुन काम गर्दै आएको छ त्यो हेरेर पनि दार्जीलिङवासीले यो चुनावमा आफ्नो मत प्रकट गर्नेछन् भन्ने मेरो विचार छ। बङ्गालको अन्य लोकसभा आसनहरूमा भाजपाले जनता जनार्दनबाट जुन साथ पाइरहेको छ त्यो पनि दार्जीलिङवासीले हेर्नुपर्छ – भाजपा अध्यक्ष अमित साहले भर्खरै गरेको कोलकोताको “रोड शो” मा स्वस्फुर्त भेला भएको जन सैलाबले पनि धेरै कुरा इङ्गित गरेको छ।

प्रत्याशीको रूपमा निरज जिम्बा र विनय तामाङलाई हेर्दा पनि जनताले निरज जिम्बालाई उदाउन लागेको घाम भन्दैछन् भने विनय तामाङ अस्ताउन लागेको घाम हो भन्दैछन्। निरज जिम्बा युवा पुस्ताको प्रतिनिधिको रूपमा प्रस्तुत छन् – तिनको राजनैतिक लगाव कम उमेरदेखि नै भएकोले दार्जीलिङवासीले तिनीबाट धेरै आशा साँच्न सक्छन् भन्ने जनताको भनाई छ। यता विनय तामाङ दार्जीलिङको राजनैतिक इतिहासमा गद्दारको नाममा परिचित छन् – तिनले बिगतमा बोलेका कुराहरूको पालना गरेनन् भन्ने जन गुनासो छ।

एकसमय विनय तामाङले “यो आन्दोलन विफल भयो भने एक चम्ची पानीमा डुबेर मर्दा हुन्छ।” भनेका थिए तर पछि तिनले नै आन्दोलनलाई विफल बनाए। विनय तामाङले जीटीएको पहिलो कालमा सूचना कला र संस्कृति विभाग र पछिल्लो कालमा चेयरमेन पद पाएर पनि जनताको निम्ति केही गरेनन् उल्टै जनतालाई धमकी दिए – 23 मई पछि हेर्छु सम्म भने। निरज जिम्बाले कुनै सरकारी पद अहिलेसम्म पाएका छैनन् र यदि कुनै सरकारी पद पाए तिनमा जनताको निम्ति काम गर्ने धेरै सम्भावनाहरू देखिएको छ भनेर चर्चा हुँदैछ।

अहिलेको अवस्थामा दार्जीलिङवासीले भारतभरि छरिएर बसेको डेढ़ करोड़ गोर्खालीहरू साथै विश्वभरि छरिएर बसेको गोर्खालीहरूको सपना बोकेको छ। विश्वभरि छरिएर बसेको गोर्खालीहरूको नजर अहिले दार्जीलिङमा केन्द्रित छ – विश्वभरि छरिएर बसेको गोर्खालीहरूको सपना मर्न नदिनु नै दार्जीलिङवासीको कर्तव्य हो भन्ने मलाई लाग्छ। कसको पक्षमा मत खसाल्दा गोर्खा जातिको अस्तित्व र चिन्हारीको जगेरा हुन्छ? कसको पक्षमा मत खसाल्दा दार्जीलिङ पहाड़ तराई अनि डुवर्सको स्थायी समाधानको समस्या हल हुन्छ? ती विषयहरूमा चिन्तन मनन् गरेर दार्जीलिङवासीले आफ्नो बहुमूल्य मत खसाल्नेछन् भन्ने कुरामा म आश्वस्त छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया