जाति नै बाँच्न सकेन भने विकास गरेर के फायदा हुन्छ? -मन घिसिङ

Girl in a jacket

दार्जीलिङ, 16 मई:  ‘यसपालिको चुनाव विकासको निम्ति नभएर जातीय अस्मिताको प्रश्न छ। जब जातिनै बाच्न सकेन भने विकास गरेर के फायदा हुन्छ र?’ गोरामुमोका अध्यक्ष मन घिसिङले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर दार्जीलिङ विधानसभाको उपचुनाउमा निरज जिम्बालाई जिताएर जाति बचाउन आह्वान गरेका छन्।

‘जसरी हामीले गत लोकसभा चुनावमा आफ्नो जाति  र माटोको निम्ति सबै एक भएर राज्य सरकार र केन्द्र सरकारलाई जुन सन्देश दिन सक्यौँ त्यसरी नै विधानसभाको उप चुनावमा पनि हामीले जातीय एकता, स्वभिमानको निम्ति अघि आएर काम गर्नु पर्ने हुन्छ’-घिसिङले विज्ञप्तिमा भनेका छन्, ‘किनभने, भारतीय जनता पार्टीले आफ्नो सङ्कल्प-पत्रमा गोर्खाहरुको निम्ति स्थायी राजनैतिक समाधान, गोर्खाहरुको छुटेको ११ जातगोष्ठी अनि चिया श्रमिकहरुको निम्ति न्युनतम रोजदरको निम्ति कटिबद्ध रहेको कुरालाई उल्लेखित रहेको कुरालाई मध्यनजर गर्दै हामीले अझ काम गर्नु पर्नेछ।’

घिसिङलाई लागेको छ, अहिलेको परिस्थिति भनेको गोर्खाहरूको निम्ति ठूलो अवसर पनि हो। भाजपाले गोर्खाहरूको दीर्घकालीन मागलाई मान्यता दिएको दावी गर्दै यसपल्ट त्यही दीर्घकालीन मागको निम्ति पनि भाजपालाई जिताउन घिसिङले आह्वान गरेका छन्।

‘यो हाम्रो सुनालो मौका हो हामी सबै एक भएर केन्द्रमा बनिने नयाँ सरकारलाई दवाब दिन सक्छौ साथै भाजपाले पनि आफ्नो संकल्प पत्रमा उल्लेखित  हाम्रो दीर्घकालीन स्थायी राजनैतिक समाधानको निम्ति कटिबद्ध जाहेर गरेका छन्। केन्द्रमा नयाँ सरकार बन पछि चाडो भन्दा चाडो पूरा गर्ने छ भनेर म पुर्ण आसावादी छु’-घिसिङले विज्ञप्तिमा भनेका छन्।

विज्ञप्तिमा घिसिङले अझ आह्वान गर्दै भनेका छन्,’हामी जात भएर होइन जाति भएर बाचौँ प्रथमतः गोर्खा भएर बाचौँ। गोर्खाहरुको ढलेको शिर उठाउनु पर्छ, ११ जनाले तातो गोली खाएर आफ्नो जातिको निम्ति प्राण बलिदान दिएको छ उनीहरुको सपना मरेर जानु दिनु हुदैन। हामीले यो काम केवल गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले मात्र गर्न सक्दैन यसको निम्ति हामीले दलीय राजनीतिलाई त्यागेर अघि आउनुपर्छ।’

उनले निरज जिब्बा कुनै राजनैतिक पार्टीको उम्मेदवार नभएर गोर्खा जातिको उम्मेदवार रहेको अनि यदि दार्जीलिङ विधानसभाको उपचुनाउमा निरज जिम्बाको हार भए सम्पूर्ण गोर्खाको हार हुने बताएका छन्।

जब सम्म एकताको सन्देश केन्द्र र राज्य सरकारलाई दिन सक्दैनौं तब सम्म कुनैपनि दीर्घकालीन राजनैतिक समस्याको समाधान हुन नसक्ने उनको दावी छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया