गोर्खालीगलाई गोर्खालीगकै विरोध

दार्जीलिङ, 16 मई


गोर्खालीगका उम्मेद्वार विप्लव राई एकै भोट पनि नदिने गोर्खालीगले अपील गरेको छ।  15 मई 1943-को दिन स्थापना भएको अखिल भारतीय गोर्खालीग अहिले दुइ फ्याक भएको छ। जसमध्ये एउटाको नेतृत्व भारती तामाङले गरिरहेकी छन् भने अर्को गोर्खालीगको नेतृत्व एसके प्रधान-प्रताप खातीले गरिरहेका छन्।

हिजो गोर्खालीगका यी दुवै गुटले अलग-अलग पार्टीको स्थापना दिवस पालन गरे। भारती तामाङको नेतृत्वमा रहेको गोर्खालीगले स्थानीय चोकबजारमा एक चुनावी जनसभासँगै पार्टीको स्थापना दिवस पालन गर्यो भने एसके प्रधान नेतृत्वावधीन गोर्खालीगले पार्टी कार्यालयमा नै स्थापना दिवस पालन गर्यो। यसपछि पत्रकार सम्मलनको आयोजना गरेर गोर्खालीग अध्यक्ष एसके प्रधानले विप्लव राई गोर्खालीगका उम्मेद्वार होइनन् र ओरिजिनल गोर्खालीगले आफ्नो कुनै उम्मेद्वार खडा गरेको छैन भनेका छन्।

उनले विप्लव राईको उम्मेद्वारितामाथि बोल्दै भने, ओरिजिनल गोर्खालीगले गत लोकसभा चुनाउमा पनि भाजपालाई समर्थन जनाएको थियो। आगामी 19 मईको दिन सम्पन्न हुने दार्जीलिङ विधानसभाको उपचुनाउमा पनि भाजपा उम्मेद्वार निरज जिम्बालाई समर्थन जनाउने छ। यसैले विप्लव राईको उम्मेद्वारिता पूर्णरूपले अवैध रहेको जनाउँदै चुनाउपछि उनीविरुद्ध कानूनी कार्वाही गर्ने पनि प्रधानले चेताउनी दिए।

यस समय पार्टीका महासचिव प्रताप खाती सोम चियाबगानमा निरज जिम्बासित चुनाउ प्रचार गरिरहेका थिए। यसैबीच, पार्टी अध्यक्ष एसके प्रधानले भारती तामाङ, लक्ष्मण प्रधान आदिलाई पार्टी विरोधी क्रियाकलाप गरेको विरोधमा 3 वर्षको लागि पार्टीबाट निष्कासित गरिएको जनाउँदै उनीहरूले पार्टीको झण्डा, रबर स्ट्याम्प आदिको प्रयोग गर्नु अवैध रहेको जनाए। यसका साथै आज एसके प्रधान-प्रताप खातीपन्थी गोर्खालीगलाई पार्टी कार्यालयको दैलो खोल्न नै एक घण्टा लागेको बताउँदै कार्यालयको दैलोको तालाको चाबी हाल्ने प्वालमा भारती तामाङपन्थी गोर्खालीगका कार्यकर्ताहरूले केही चीज खाँदिदिएको आरोप लगाए। उनले भने, तालाको चाबी लगाउने प्वालमा केही खाँदिएको थियो। त्यो चीज निकाल्न नै एक घण्टाभन्दा बेसी समय लाग्यो। यसैले केही उपाय नलाग्दा अन्तमा दैलोको ताला नै भत्काउन परेको पनि उनले बताए।

यसको ठीक अर्कोतर्फ आज भारती तामाङपन्थी गोर्खालीगले यहाँको चोकबजारमा चुनावी जनसभासँगै पार्टीको स्थापना दिवस पालन गरेको थियो। जसमा पार्टी नेत्री तामाङले पार्टीका उम्मेद्वार विप्लव राईलाई भारी मत दिएर विजय गराउने अपील गरिन्। भारती तामाङपन्थी गोर्खालीगले पार्टीबाट विप्लव राईलाई चुनावी मैदानमा खडा गराएको छ। जसमा पार्टीले पहाडको बेरोजगार समस्या समाधान गर्नुपर्ने, पहाडमा पञ्चायती व्यवस्था लागू गर्नुपर्ने, गणतान्त्रिक परिवेशको स्थापना हुनपर्ने विषयलाई मुख्य मुद्दा बनाएको छ। आज यहाँको चोकबजारमा आयोजना भएको जनसभामा भारती तामाङ, पार्टी उपाध्यक्ष लक्ष्मण प्रधान, विपल्व राईका साथै अन्यले वक्तव्य पेश गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया