राजेन्द्र भण्डारीको ‘इतिहासको बाडुली’ सार्वजनिक :’यो सङ्ग्रह इतिहास लेखन होइन, बासभूमिको अर्न्तकथा हो’

‘राजेन्द्र भण्डारीले हाम्रो बासभूमिको खोजी त्यसप्रतिको सङ्घर्ष, पचिहान आदिलाई समेटेर कविताको रूप दिएका छन्’- सङ्ग्रहमाथि टिप्पणी राख्दै कवि सुधिर छेत्रीले भने, ‘राजनीतिमा भनेजस्तो, उनले मुद्दाकेन्द्रित कविता दिएका छन्।’

कालेबुङ, 18 मई


कवि राजेन्द्र भण्डारीको कविता सङ्ग्रह ‘इतिहासको बाडुली’-आज सार्वजनिक गरियो। गोर्खाहरूको बासभुमिको आजसम्मको इतिहासलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रह आज यहाँको वर्सिपसेन्टरमा आयोजित कार्यक्रमबीच विमोचन गरिएको हो। उपमा प्रकाशन कालेबुङले प्रकाशित गरेको ‘इतिहासको बाडुली’-लाई कवि मनप्रसाद सुब्बा, मधुसुदन लामा, देव भण्डारी, हर्कबहादुर छेत्री, राजेन्द्र भण्डारी, प्रदीप गुरुङ, रुद्र पौड्याल, उमेश उपमा अनि थिरूप्रसाद नेपालले विमोचन गरेका थिए।

यस सङग्रहको पहिलो खण्डमा 37 वटा कविताहरू समावेश छन् भने सङ्ग्रहको अन्तिम भागमा आजका पुस्तालाई बासभुमिको अन्तर्मर्म सजिलै उपलब्ध होस् भनेर केही इतिहास र केही विचार पनि पस्किएको छ।

‘राजेन्द्र भण्डारीले हाम्रो बासभूमिको खोजी त्यसप्रतिको सङ्घर्ष, पचिहान आदिलाई समेटेर कविताको रूप दिएका छन्’- सङ्ग्रहमाथि टिप्पणी राख्दै कवि सुधिर छेत्रीले भने, ‘राजनीतिमा भनेजस्तो, उनले मुद्दाकेन्द्रित कविता दिएका छन्।’

कार्यक्रममा कवि भण्डारीले सम्बोधन राख्दै ‘इतिहासको बाडुली’-इतिहास होइन तर इतिहास पनि पढ्नुपर्छ भनेर जानकारी गराउन लेखिएको सङ्ग्रह रहेको बताए।

‘यो सङ्ग्रह इतिहास लेखन होइन, बासभूमिको अर्न्तकथा हो’-कवि भण्डारीले भने, ‘हाम्रो बासभूमिको सङ्घर्षभित्र के के कुराहरू छन् त भनेर मैले नीजि विचारले लेखेका कुराहरू हुन्। मेरो यो सङ्ग्रह इतिहास होइन तर हामीले हाम्रो इतिहास पनि पढ्नुपर्छ भनेर जानकारी दिन सङ्केत मात्र गरेको हुँ।’

गोर्खाहरूको बासभुमि एउटा त्रासद नियतीको उकुसमुकुसभित्र बन्दी बनेको अनि त्यही उकुसमुकुस उनका कविताहरूका साक्ष्य रहेको कुरा उनले सङ्ग्रहको भूमिकामा लेखेका छन्।

कार्यक्रममा सहभागी बन्न सिक्किमबाट आएका टीबी छेत्रीले भण्डारीको लेखन सम्बन्धी सिक्किमका सर्जकहरूको बुझाइ उच्चकोटीको रहेको बताएका थिए भने कवि टिका भाइले पनि पुस्तकमाथि विचार पोख्दै गोर्खाहरूको इतिहास लेखिनपर्ने आवश्यकतामाथि जोड दिएका छन्।

सिक्किम, सिलगढी, दार्जीलिङ, कालेबुङ आदि क्षेत्रका सर्जकहरूको उपस्थिति रहेको यस कार्यक्रबीच कवि मनप्रसाद सुब्बा, ज्ञानेन्द्र याक्सो, बासुदेव पुलामी आदिले कविता पनि वाचन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया