दार्जीलिङ विधानसभाको उपचुनाउ भोली :16 कम्पनी केन्द्रिय सुरक्षाबल तैनाथ: भारत-नेपाल सिमामा नाका सिल

दार्जीलिङ, 18 मई: भोली दार्जीलिङ विधानसभा समष्टिको उपचुनाउ सम्पन्न हुँदैछ। चुनाउलाई शान्तिपूर्वक सम्पन्न गराउन 16 कम्पनी सीआरपीएफ परिचालन गरिएको छ। तत्कालिन विधायक अमरसिंह राईले दार्जीलिङको विधायक पदबाट राजीनामा दिएर लोकसभाको चुनावी मैदानमा ओर्लिएपछि उक्त रिक्त पदमा उपचुनाउ हुन गइरहेको हो।

निर्दलीय उम्मेद्वारका रूपमा गोजमुमो अध्यक्ष विनय तामाङ, भाजपा उम्मेद्वारका रूपमा निरज जिम्बा, जाप ब्यूरो सदस्य अमर लामा, क्रामाकपाको समर्थनमा स्वराज थापा, तृणमूलबाट विद्रोह गरेर निस्किएकी शारदा राई सुब्बा, माकपाबाट केबी वातर जस्ता परिचित अनुहारहरू मैदानमा रहेको कारण यो चुनाउ दार्जीलिङ निर्वाचन क्षेत्र बाहिरका मानिसहरूका निम्ति पनि चाखलाग्दो बनेको छ। चुनाउमा 9 जना उम्मेद्वार रहेपनि मुख्य रूपमा भाजपा उम्मेद्वार निरज जिम्बा अनि गोजमुमोका स्वतन्त्र उम्मेद्वार विनय तामाङमाझ मख्य प्रतिद्वन्दिता हुने निश्चित छ।

दार्जीलिङ विधानसभा क्षेत्रका 321 वटा मतदान केन्द्रहरूमध्ये 45 वटा संवेदनशिल केन्द्र रहेको छ जसमा 2 लाख 34 हजार 7 सय 58 जना मततादाहरू रहेका छन्।  उपचुनाउमा खटिएका चुनाउकर्मीहरू आज नै गोर्खा रङ्गमञ्च भवनबाट मतदान केन्द्रमा प्रस्थान भइसकेका छन्। चुनाउ बिहान 7 बजीदेखि सम्पन्न हुनेछ भने चुनाउको परिणाम 23 मईका दिन लोकसभा चुनाउसँगै सार्वजनिक हुनेछ।

अर्कोतिर, दार्जीलिङ विधानसभा उपचुनाउलाई केन्द्र गर्दै आज साँझ 6 बजीदेखि नेपाल-भारत सिमा नाका सिल हुने भएको छ।  काँकडभिट्टा-पानीट्याङ्की र इलामको पशुपति मिरिक नाका शनिबार साँझ बन्द भएर सोमबार बिहान मात्र पुन: सञ्चालनमा आउने नेपालको सञ्चार माध्मय कान्तिपुरले जनाएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया