कवि निमा शेर्पाप्रति पुलिसको अभद्र व्यवहारः सडकमा सुतेर जनाए विरोध

खबरम्यागजिन खबरदाता

दार्जीलिङ, 23 मई 2017


बङ्गाल सरकारले बङ्गला भाषालाई अनिवार्य विषयको रूपमा कक्षा दशसम्म पढाउनपर्ने निर्णय फिर्ता गर्नुपर्छ भन्दै दार्जीलिङमा निस्किएको स्वतस्पूर्त ऱ्याली अवधि कवि तथा शिक्षक निमा शेर्पामाथि अभद्र व्यवहार गरेको शेर्पाले खबरम्यागजिनलाई बताएका छन्।

‘राज्य सरकारको भाषिक अतिक्रमणविरुद्ध नगरमा ऱ्याली निस्कँदैछ भन्ने सुनेपछि म पनि ऱ्यालीमा सम्मिलित भएँ, मसितै विद्यार्थीहरू पनि सम्मिलित बनेका थिए,’ शेर्पाले भने, ‘तर नगर पुलिस प्रशासनका केही अधिकारीहरूले मसित अभद्र व्यवहार गरे। विभिन्न गालीगलौच गरे। मैले त्यसैको विरोधमा रोडमा नै सुतेर प्रतिवाद जनाउँदा स्थिति केही तनाव पूर्ण बन्यो।’

ऱ्यालीमा सम्मिलित विद्यार्थीहरूलाई पुलिसले केरकार गरेपछि शेर्पाले पुलिस अधिकृतहरूलाई ‘मजस्तै यी विद्यार्थीहरू पनि स्वतस्फूर्त आफ्नो भाषाको निम्ति भनेर सडक उत्रेका हुन्’ मात्र भनेका थिए, उनलाई अधिकारीहरूले यति भनेकै भरमा अभद्र व्यवहार गरेको शेर्पाको भनाई छ।

‘ऱ्याली कसले निकालेको हो, त्यको मुख्य होइन, किन निस्कियो त्यो प्रमुख हो,’ शेर्पाले खबरम्यागजिनसित भने, ‘द वेस्ट बेङ्गल अफिसियल ल्याङ्गुएज एक्ट,  ६१ (एपेन्डिक्स ‘एच’) अनुसार नेपाली भाषा पश्चिम बङ्गाल पहाडको आधिकारिक भाषा हो। यति हुँदाहुँदै पनि बङ्गला भाषा हाम्रो पठनपाठनमा लाद्ने काम जुन भइरहेको छ, मलाई त्यो ठिक लागेन र म विरोधमा सडक ओर्लिएको हुँ।’

शेर्पा अनुसार नेपाली भाषालाई जीटीए क्षेत्रको सरकारी भाषाकोरूपमा लागू गर्ने नोटिफिकेशन निकाल्नको साटो बङ्गला भाषा थोप्नु नेपाली भाषा र जातिको निम्ति स्वस्थ्यकर छैन। यसैले यसको समयमा नै विरोध हुनुपर्छ भनेर नै आफू सडक उत्रिएको बताउँछन्।

शेर्पा आजको पुस्ताका चर्चित कवि हुन् भने घुम जोरबङ्गलो कलेजका शिक्षक पनि हुन्।

‘पुलिस प्रशासनले व्यक्ति रोक्न सक्छ, अभिव्यक्तिलाई रोक्न सक्दैन,’ उनले भने, ‘पहाडका सम्पूर्ण जनताले स्वतस्पूर्त ऱ्याली निकालेर यो थोपराईको विरोध गर्नुपर्छ। यतिखेर कसैले पनि जाति र भाषा हेर्नुपर्छ पार्टी होइन।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन