‘नेपालबाहिर नेपाली कविता’ नभएर ‘भारतमा नेपाली कविता’ हुनुपर्ने

दिल्लीमा भयो अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव


खबरम्यागजिन प्रतिनिधि

नयाँ दिल्ली, २३ मई


» » भारतका विशुद्ध नेपालीभाषी नागरिकहरूप्रति व्यक्त हुने गरेका नेपालदेशवासीहरूको यस्तै भ्रामक धारणाले भारतमा वसोबासो गर्ने नेपालीभाषी नागरिकको पहिचान सङ्कटमा थप बल पुग्ने गरेको हो –पुनियानी 


फेस्टिबलमा उपस्थित कवि/श्रोताहरू-फोटोः खबरम्यागजिन

साउथ एशियन एसोसिएशन फर रिजनल को-अपरेशन (सार्क) सञ्चालित दक्षिण एशियाली विश्वविद्यालय (साउथ एशियन युनिभर्सिटी), नयाँ दिल्ली-मा अध्ययनरत नेपाली विद्यार्थीहरूको सङ्गठन ‘नेपाल विद्यार्थी समाज’-को तत्त्वावधानमा २१ मई, सन् २०१७-को दिन पहिलो ‘अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव-२०१७’ आयोजना भएको छ। विश्वविद्यालयको अकबर भवनमा आयोजन भएको एकदिने महोत्सवमा नेपाली र हिन्दी साहित्यका प्रखर हस्तीहरूको जमघट थियो।

महोत्सवमा नेपालबाट प्रज्ञा प्रतिष्ठानको नेपाल सङ्गीत तथा नाट्य विभाग कुलपति सरूभक्त, नेपाली साहित्यका प्रखर समालोचक प्रा. अभि सुवेदी , कवि नवराज लम्साल र मदन पुरस्कार प्रापक रामलाल जोशीको उपथिस्ति रहेको थियो। भारतलाई प्रतिनिधित्व गर्दै सिक्किमबाट प्रसिद्ध कवि डा. राजेन्द्र भण्डारीलगायत सिलगढ़ीबाट कवि राजा पुनियानी, दार्जीलिङबाट शिक्षक जोगेन दर्नाल पुगेका थिए । देहरादुनबाट साहित्यकार भूपिन्द्र अधिकारी, असमबाट ड. देबकी तिमिल्सिना, दिल्लीबाट कर्णेल सुकुल प्रधान र अल इन्डिया रेडियोको नेपाली विभाग प्रमुख विष्णु गुरुङ, पोखराबाट सुरज गुरूङले समेत समारोहमा उपस्थिति जनाए।

हिन्दी साहित्यका प्रख्यात र साहित्य अकादमी पुरस्कार प्रापक कवि अशोक वाजपेयीको विशेष उपथिस्ति रहेको उक्त महोत्सवमा ‘तथ्याङ्कहरूको भारतनाट्यम’, ‘हत्याको कला’ र ‘बक्सिङ रिङहरू’ कविता पठन गर्नअघि विश्वख्याति कमाइसक्ने बलिष्ठ भारतीय कवि राजेन्द्र भण्डारीले ‘नेपालबाहिर नेपाली कविता’ प्यानल चर्चामा भने, “सिक्किमका प्रथम राजा फुन्छोग नाम्ग्यालको सन् १६४२- मा राज्यारोहण हुँदा सलामी दिनेहरू लिम्बू र मगर सेना थिए भनी इन्साइक्लोपेडियाहरूमा उल्लेख छ। त्यसको २०० वर्षपछि नेपाल देश अस्तित्वमा आएको हो। पुरानो सिक्किमको सिमाना बङ्लादेशसम्म थियो। पछिसम्मै गोर्खाहरू आइरहे। भारतको नेपाली कविता ज्ञानदिलदासको उदय लहरी, झ्याउरे भजन, टुङ्ना भजनबाट शुरू हुन्छ र तुलाचन आलेको मणिपुरका लडाइँको सवाई आदि हुँदै अघि बढ़्छ।”

यताको नेपाली साहित्य नेपालको जस्तो पहिले पहिले राजा वा सत्ताको प्रशस्ति केन्द्रित हुनु परेन भन्दै भण्डारीले भने, “तेस्रो आयामले सृजना गरेको दुरूहतालाई तोड्दै भारतीय नेपाली कवितालाई पुनः जनतासमक्ष स्थापित गराउनेहरू हुन् नोर्जाङ स्याङ्देन, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी र अविनाश श्रेष्ठ। अहिलेको पुस्तामा राजा पुनियानी र सुधीर छेत्री उल्लेखनीय छन्।” कवितामाथिको आफ्नो विश्वास प्रकट गर्दै उनले भने, “अहिलेको कवितामा कथ्यभाषाको भरपूर प्रयोग छ। भारतमा यति बेला दर्जनौँ सशक्त कविहरू छन् र कविताको स्थिति राम्रो छ।”

प्यानल डिस्कसनको विषयमाथि नै आपत्ति गर्दै शुरूमै प्यानलिस्ट राजा पुनियानीले भने, “हाम्रो विषय खासमा ‘नेपालबाहिर नेपाली कविता’ नभएर ‘भारतमा नेपाली कविता’ हुनुपर्ने । भारतका विशुद्ध नेपालीभाषी नागरिकहरूप्रति व्यक्त हुने गरेका नेपालदेशवासीहरूको यस्तै भ्रामक धारणाले भारतमा वसोबासो गर्ने नेपालीभाषी नागरिकको पहिचान सङ्कटमा थप बल पुग्ने गरेको हो । नेपालवासी नेपालीभाषी र भारतवासी नेपालीभाषी भाषा-भावनाले एक छन् तर राजनैतिक-अर्थनैतिक-सामाजिक परिधिले फरक एकाइ हुन्। यस्तो पोलिटिकल इन्करेक्ट एप्रोचले भारतीय नेपालीभाषीको परिचय कन्फ्युजनको अवस्थामा पुगेको हो”। पुनियानीले विशिष्ट अतिथि हिन्दी साहित्यका शिखर कवि अशोक वाजपेयीतिर इङ्गित गर्दै भने, “हामी नागरिकताले अशोक वाजपेयीको सह-नागरिक हौँ, नेपालका नेपालीहरूको सांस्कृतिक साथी हौँ” । उनले थपे, “नेपालमा आख्यान बलियो छ भने भारतमा कविता । यताको कविताको मूल स्वर नै राजनैतिक चेतना हो”। कवि पुनियानीले आफूहरूले सन् २०१५-मा घोषणा गरेको हस्तक्षेप आन्दोलनमाथि प्रकाश पार्दै भने, “हस्तक्षेप भारतको प्रतिरोध लेखन वा रेजिस्टेन्स राइटिङ हो । सत्ताद्वारा जनमानसको चिन्तनदेखि लिएर जीवनका तमाम इलाकामा गरिने हस्तक्षेपप्रतिको प्रति-हस्तक्षेप नै हस्तक्षेप आन्दोलन हो। यसमा अर्ग्यानिक लेखनको एप्रोच छ र जनताको भाषामा जनताकै सरोकराको सृजना गर्नु हस्तक्षेपको लक्ष्य हो।” नेपालीमा ‘कश्मीर’ र ‘मदनमुना’ कविता प्रस्तुत गर्नअघि कवि राजाले अशोक वाजपेयीलाई समर्पित गर्दै हिन्दी कविता ‘वापसी’ सुनाँउदा वाजपेयी रमाएका देखिन्थे ।

विश्वविद्यालयको समाजविज्ञान विभागकी प्राध्यापक मल्लिका शाक्य, कृष्ण शर्माको कुशल सञ्चालनमा अघि बढ़ेको महोत्सवको शुरुआती सत्रका प्यानल डिस्कसनहरू थिए – ‘दक्षिण एशियाको काव्यिक कल्पना : भारत-नेपाल संवाद’ – प्रा. अभि सुवेदी र कवि अशोक वाजपेयी; ‘नेपाल बाहिरको नेपाली साहित्य’ – ड. राजेन्द्र भण्डारी, राजा पुनियानी र देवकी तिमिल्सिना; ‘कविता चिन्तन’ – कृष्णप्रसाद ढकाल, सुकुल प्रधान, रामलाल जोशी, भूपिन्द्र अधिकारी;  ‘सञ्चार माध्यम र अध्यापनमा  नेपाली कविता’ – ड. नवराज लम्साल, विष्णु गुरूङ, जोगेन दर्नाल; ‘नेपाली कविताको समसामयिक  सन्दर्भ’ – अभि सुवेदी, सरूभक्त । महोत्सवको पहिलो सत्रमा ‘दक्षिण एशियामा पाब्लो नेरूदा’ र ‘दक्षिण एशियामा नारीवादी कविता’ शीर्षकअन्तर्गत नेपालीलगायत स्प्यानिश, बङ्गला, हिन्दी, तमिल, सिंहली, तेलुगु, उर्दू, दारी, मलयालम भाषामा कविता वाचन गरिएका थिए ।

‘यो साँझ कविका माझ’ सत्रअन्तर्गत भारत-नेपालका आमन्त्रित ३० कविले आफ्ना कविता पठन गरे । नेपाल, भारत, अमेरिका, बेलायत, जापान आदि मुलुकमा रहेका कविहरूबाट प्राप्त नेपाली भाषामा लेखिएका कविताहरूमध्ये उत्कृष्ट तीसलाई महोत्सवमा सहभागिता गराइएको थियो । प्रत्यक्ष कार्यक्रममा उपस्थित हुन नसक्ने कविहरूले भने इन्टरनेट (स्काइप)-मार्फत् आफ्ना रचना वाचन गरेका थिए। यस सत्रमा दार्जीलिङ र सिक्किमतर्फबाट बिक्की थापा, कुशल गोले, एनबी घिमिरे, चेतना तामाङ, टासी शेर्पाले विशेष प्रस्तुति दिएर श्रोतालाई स्तब्ध बनाए। बिक्कीको ‘दार्जीलिङ टी’ र एनबी घिमिरेको ‘म सिरिया बोल्दैछु’ कविताले विशेष चर्चा कमाएका थिए। धमारी – २ विजेता चेतनाले निर्भयामाथि रचिएको नारीवादी कविता सुनाइन्।

इन्स्टिटिउट अफ साउथ एशियन स्टडिज (आइएसएएस) र युनिभर्सिटी बूक क्लब समारोहका सह-आयोजक रहेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन