सिक्किममा गोले राज

शिक्षामा उस्तै मनोपोली छ। ठेकेदारीमा परिवारवाद हावी छ। अपराधी संरक्षण र प्रविवादी स्वरमा दमन छ। अझसम्म पनि सिक्किममा सामान्य विरामीहरू चिकित्साको लागिसिलगढी नै झर्नुपर्ने स्थिति त छँदै छ। घुसखोरी, ड्रग्सखोरी, जुवा, भ्रष्टाचार, यौनव्यापार र आत्महत्याजस्ता गम्भीर समस्या राज्यभित्र लुकाइएका यथार्थ हुन्। ‘चामलिङले विश्वलाई ‘हाम्रो सिक्किम राम्रो सिक्किम’-को नारा बेच्न अन्तर्यका समस्याहरू दबाए,’ भण्डारी भन्छिन्, ‘सत्ताका आलोचना गर्नेहरूलाई भिक्टिमाइज गर्नु एउटा कुरा, कुनै पनि प्रतिवादी आवाज सिक्किममा सुनिँदैन। सबै दबाइन्छ। यही दबेको आवाजले चामलिङलाई सरकारबाट बाहिर पारेको हो।’


सरकार ढाल्ने इतिहास

सिक्किममा पवनकुमार चामलिङको 25 वर्षे शासनसत्ता ढलेको छ। पछिल्लोसमय परिवर्तनलाई मूल नारा बनाएर सङ्घर्ष गर्दै आइरहेको सिक्किम क्रान्तिकारी मोर्चाले दुइपटकको प्रयासपछि चामलिङ सरकार ढालेको हो।

भारतको पूर्वोत्तर क्षेत्रमा पश्चिम बङ्गालमा मार्क्सवादी कम्युनिष्ट पार्टीले 30 वर्ष शासनसत्ता सम्हालेको थियो। त्यसपछि पवन चुमार चामलिङको सिक्किम डेमोक्रेटिक फ्रन्ट सिक्किममा 25 वर्ष सत्ता सम्हाल्ने दल हो।

सिक्किम यस्तो राज्य हो, जहाँ लोकसभा र विधानसभा चुनाउ एकैसाथ हुने गरेको छ। एउटा संसदीय अनि 32 वटा विधानसभा आसनको निम्ति सिक्किममा चुनावी सङ्घर्ष चल्ने गरेको छ। सिक्किममा धेरैवटा दलले चुनाउमा अंशग्रहण गर्ने गरेपनि प्रमुखरूपले अघिल्लो चुनाउदेखि दुइ दलबीच नै राजनैतिक सङ्घर्ष चलिरहेको थियो। त्यो हो सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) र सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)।

एसकेएमले अघिल्लो चुनाउमा निक्कै प्रगतिशिल टक्कर दिए पनि चामलिङ आफ्नो सरकार जोगाउन सक्षम बनेका थिए। तर यसपल्ट उनको कुनै पनि जुक्तिले काम गरेन। यसपल्ट  एसडीएफले एसकेएमको दाउपेचलाई थेग्न सकेन। फलस्वरूप पवन चामलिङका कट्टर प्रतिद्वन्दिवी प्रेमसिह गोले (पिएस गोले)-ले सरकार ढलेरै छोडे।

गोलेले संसदीय आसनसितै 17 वटा आसनमा जित हासिल गरेका छन्। चामलिङले भने 15 वटा मात्र आसन जित्न सके। आसन जितको यो हिसाबले गोलेले चामलिङको सरकार ढालेका हुन्।  २०१४ को चुनाउमा पनि एसकेएमले १० आसन जितेको थियो। त्यसमध्ये 7 जना विधायकहरूलाई चामलिङले रातारात एसडीएफमा तानेका थिए। यसपल्ट यही इतिहास दोहोरिने हो कि भन्ने अनुमान छ।

सन् १९९३ मा नरबहादुर भण्डारीको दल सिक्किम संग्राम परिषद्को सरकार हुँदा  पवन चाम्लिङ सङ्ग्राम परिषदबाटै मन्त्री बनेका थिए तर चामलिङले भण्डारीको दलभित्रैबाट विद्रोह गरे। त्ययसपछि उनले भण्डारीको 14 वर्षे सत्ता ढालेर सरकार आफ्नो अधिनमा लिएका हुन्।

यसपल्ट पनि त्यही इतिहास दोहोरिएको छ। सन् २००९ मा पीएस गोले पवन चाम्लिङ सरकारमा विधायक थिए। गोले दुइपल्ट मन्त्री र तीनपल्ट विधायक बनेका हुन्।  विधायक भए लगत्तै उनले पनि चाम्लिङविरुद्ध विद्रोह गरे। दुइपल्टको प्रयास फलस्वरूप यसपल्ट गोलेको चामलिङको सरकार ढालेका हुन्।

किन ढल्यो चामलिङ सरकार?

‘पहिलो त 25 वर्ष शासनसत्ता धेरै लामो हो। नयाँ पुस्ताको विचार प्रणाली चामलिङ सरकारले ठिम्याउन सकेन। पुस्ता र मुद्दालाई सम्बोधन गर्नमा चुक्यो,’ हाम्रो प्रजाशक्ति दैनिकका सम्पादक अञ्जन उपाध्यायको विश्लेषण छ, ‘दोस्रो, भ्रष्टाचार अत्याधिक बढ्यो। सतहमा चलिरहेको खास मुद्दालाईसमेत सम्बोधन गर्न सकेनन्।’

पीएस गोलेको मूल नारा नै हो, भ्रष्टाचार हटाउँ सिक्किम बचाउँ। धेरैवर्ष पत्रकारिता गर्नेक्रममा अत्याधिक भ्रष्टाचार देखेपछि राजनीतिमा लागेकी पवित्र भण्डारी चामलिङको पराजयलाई अहम्, भ्रष्टाचार र परिवारवादको पराजय मान्छिन्।

6 लाख जनसंख्या रहेको 7 हजारवर्ग फिटको सिक्किमलाई विश्वमा जैविक राज्यकोरूपमा चिनिन्छ। तर त्यसलाई एसकेएमले ‘भ्रम’-को खेती मान्छ। ‘पावर र फार्मेसी गरेर सिक्किममा 54 वटा प्रोजेक्ट चलिरहेको छ। सबै खोला किनारमा छन्। कारखानामा प्रयोग हुने केमिकल खोलामा बगाइन्छ,’ भण्डारीको तर्क छ, ‘खोला प्रदूषित हुनु एउटा कुरो, त्यही केमिकल बारीसम्म पुग्छ। त्यही बारीको खेतीलाई जैविकको ट्याग लगाइएको छ।’

भण्डारीअनुसार चामलिङ सरकारमा नारी शोषणका घटना कहिल्यै बाहिर आएन। शिक्षामा उस्तै मनोपोली छ। ठेकेदारीमा परिवारवाद हावी छ। अपराधी संरक्षण र प्रविवादी स्वरमा दमन छ। अझसम्म पनि सिक्किममा सामान्य विरामीहरू चिकित्साको लागिसिलगढी नै झर्नुपर्ने स्थिति त छँदै छ। घुसखोरी, ड्रग्सखोरी, जुवा, भ्रष्टाचार, यौनव्यापार र आत्महत्याजस्ता गम्भीर समस्या राज्यभित्र लुकाइएका यथार्थ हुन्। ‘चामलिङले विश्वलाई ‘हाम्रो सिक्किम राम्रो सिक्किम’-को नारा बेच्न अन्तर्यका समस्याहरू दबाए,’ भण्डारी भन्छिन्, ‘सत्ताका आलोचना गर्नेहरूलाई भिक्टिमाइज गर्नु एउटा कुरा, कुनै पनि प्रतिवादी आवाज सिक्किममा सुनिँदैन। सबै दबाइन्छ। यही दबेको आवाजले चामलिङलाई सरकारबाट बाहिर पारेको हो।’

चामलिङको सरकार ढल्नुमा लिम्बु-तामाङको आरक्षणको मुद्दा पनि प्रमुख रहेको अञ्जन उपाध्यायको विश्लेषण छ। सिक्किमको पश्चिमी क्षेत्र लिम्बु-तामाङ बाहुल्य क्षेत्र हो। 2002 मा केन्द्र सरकारले लिम्बु तामाङलाई जनजातिको मर्यादा दियो। तर सिक्किम सरकारले विधानसभा आसनमा लिम्बु-तामाङको लागि कुनै आरक्षण तय गर्न सकेन।

सिक्किमको पश्चिम पाँचवटा आसन क्षेत्र हो। सरकार बन्न र ढल्नमा यही आसन कारक पनि हो। ‘चामलिङले लिम्बु-तामाङलाई ‘सिट आरक्षण’ नदिएकोले क्षेत्रका मतदाताहरू रुष्ट थिए,’ उपाध्याय भन्छन्, ‘त्यहीँमाथि पिएस गोलेले त्यस क्षेत्रबाट लोकसभा आसनमा 31 वर्षीय इन्द्रहाङ सुब्बालाई टिकट दिए। गोलेको यही निर्णय मास्टरस्ट्रोक बन्यो।’

इन्द्रहाङ सुब्बाले विधानसभाको 32 सिटमा लिम्बु-तामाङहरूको पनि सिट आरक्षित गर्ने विश्वास पश्चिमका जनतामा रहेको उपाध्यायको मत हो। लिम्बु-तामाङहरूले 6 वटा आसन आरक्षणको मुद्दा उठाउँदै आइरहेका छन्।

सिक्किमको राजनैतिक उथुलपुथुल देखेका हिन्दुस्तान टाइम्सका पत्रकार प्रमोद गिरीलाई लाग्छ, चामलिङ सरकार ढल्नुको अर्को कारण टिकट वितरणमा देखापरेको असन्तुलन पनि हो। चामलिङले टिकट वितरणमा कुटनैतिक निर्णय गर्न सकेनन्। आफ्नो दलभित्र अन्तर्घात हुने गरी टिकट बितरण भयो। धेरै नेता र 7त्रका जनता यसैले पनि चामलिङसित रुष्ठ थिए। ‘युवा पुस्तालाई अवसरबाट बाहिर राखेर पारम्परिक टिकट वितरण प्रणाली अप्नाएकोले पनि चामलिङ सरकार अवसानतिर गयो,’ गिरी भन्छन्।

पवन चामलिङले पिएस गोलेमाथि सामान्य घटनामा गतिलो मुद्दा थोपेको पनि सिक्किमका एकथरीका जनतालाई नपचेको हो कि भन्ने पनि गिरीलाई लागेको छ।

‘जेल जानअघिसम्म गोलेमा दललाई सङ्गठित गर्ने धैर्यता देखिएन। तर जेलबाट फर्किएपछि उनले दलीय कुटनीति विस्तारमा प्रभावकारी परिवर्तन ल्याएका हुन्,’ पत्रकार प्रवीण खालिङ भन्छन्, ‘एसकेएममा साङ्गठानिक प्रतिबद्धतामा अचानक आएको परिवर्तनलाई चामलिङले बुझ्नै सकेनन्।’

गोलेलाई 2018 मा चामलिङले दूधालू गाई वितरणमा पाँच लाख रुपियाँको हिनामिना गरेको आरोपमा मुद्दा लगाएका थिए। मुद्दा सर्वोच्च न्यायालयसम्म पुगेको थियो। 10 अगस्त 2018 मा गोले एकवर्षको दण्ड भोग्दै जेल परेका थिए। खालिङअनुसार त्यहीँबाट निस्किए पछि गोलेले पार्टीलाई नयाँ रणनीतिसहित विस्तार गरेका हुन्। चाम्लिङले गोलेको रणनीति पहिचान गर्न नसकेकैले त्यस विरुद्ध प्रभावकारीरुपले जुझ्नै  सकेनन्। खालिङअनुसार चामलिङ गोलेको दलीय कुटनीतिको प्रतिरक्षामा चुकेकैले पनि हार्न परेका हुन्।

शंसय पनि

32 मा दुइवटा आसनमा पवन चामलिङ आफैले जितेका छन्। चारवटा आसनमा एसकेएमका कुङ्गानिमा लेप्चा र डीटी लेप्चाले जितेका छन्। एकै उम्मेदवारले दुइदुइ ठाउँ जितेकाले पनि चुनाउ आयोगले त्यहाँ फेरि उपचुनाउ गर्ने भएको छ।

एसडीएफ र एसकेएमको 15/17 सिटको खेलालाई यही उपचुनाउले पनि फरक पार्ने हो कि भन्ने स्थिति बनेको छ।

उपचुनाउमा एसडीएफले बाजी मारिदियो भने एसकेएमले सरकार बनाउन सक्तैन। यही उपचुनाउ निक्कै गतिलो सङ्घर्षबीच हुने स्थिति बनेको छ। अर्कोतिर सिक्किममा एउटा दलको विधायकलाई रातारात अर्को दलले तान्ने परम्परा पनि छ। यसले पनि उपचुनाउ अघिसम्म एसकेएमको सरकार बनिहाल्ने कुरामा द्विविधा छ।

‘एसकेएमले सरकार बनाइहाल्छ भन्ने कुरामा अझ पनि संशय छ,’ प्रवीण खालिङको विश्लेषण छ, ‘यही उपचुनाउमा दुवैको रणनीति र कुटनीतिबीच टकराव हुने हो। यही उपचुनाउले कसको सरकार बन्ने हो भन्ने तय गर्नेछ।’

यता एसकेएमले भने 27 मईको दिन राजधानी गान्तोकको पाल्जोर स्टेडियममा जनताको अघि शपथ ग्रहण लिने घोषणा गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया