के हामी हाम्रै जीतमा पनि नरमाउनु र?

कैरन

यसका साथै ममताको क्रुर दिमाग र विनय-अनितको गद्दारीले गर्दा दुई वर्षदेखि आफ्नो घर फर्कन नसकिरहेका बिमल गुरुङसँगै सङ्घर्षरत् हाम्रा वीर साथीहरू चाँडै घर फर्कन सकोस् भनेर दिएका हौं। यसैले यो जीत राजु बिष्टको जीत होइन। निरज जिम्बाको जीत होइन। यो जीत हाम्रो हो। यत्तिका दिनहरूसम्म छाती भित्रभित्रै पिल्लिएर पनि चुपचाप चुपचाप सही समय पर्खेर बस्ने सम्पूर्ण गोर्खा जातिको जीत हो जोहरू दुई पैसामा पटक्कै बिक्री भएनन्। अब भन्नुहोस् त महाशय, के हामी हाम्रै जीतमा पनि नरमाउनु र?


सुरज धड्कन


बीजेपीले जित्दा रमाउने हामी के पागल हौं? त्यो पनि त्यही बीजेपी, जसले आन्दोलनको समय एक शब्द पनि नबोलेर हाम्रो भावनामा चोट पुऱ्याएको थियो। हाम्रा मान्छेहरूलाई स्वाँठकी स्वाँठ इलेक्ट्रिक लाठीले सोड्क्याउँदै गर्दा र डङ्की डङ् गोली ठोक्दै गर्दा समेत मूक दर्शक बनेर उभिएको थियो।

त्यही बीजेपीलाई हामीले फेरि भारी मत दिएर किन जितायौं त? के देशभरि मोदीलहर चलेकोले त्यसैको लहैलहैमा यस्तो भएको हो त? विनय खेमाका साथीहरूले यसै पनि प्रश्न गरिरहन्छन् सधैं-‘बीजेपीले के दिएको छ हामीलाई?’ के दिएको छ? हो, केही दिएको छैन।

आजभन्दा पाँच वर्षअघि बीजेपीले केही दिन्छ भनेरै भोट हालेका थियौं हामीले। त्यो ‘केही’-भित्र हाम्रो सानो संसार थियो र त्यस संसारमा पुतलीजस्तो उडिरहेको सानै सपना थियो। तर भारतजस्तो भाषण र दर्शनले बाँचेको देशमा हाम्रो त्यो सानो सपनाको के महत्त्व? ‘गोर्खा का सपना मेरा सपना’ भन्ने मोदीले ‘गोर्खा’-को ‘ग’ पनि उच्चारणमा नल्याई पाँच वर्षलाई हाम्रो जीवनदेखि पर ठेलिदिए। हामी पाँच वर्ष बूढो भयौं। हाम्रा सपनाहरू, रहरहरू, जोशहरू आफ्नै जिउको लुतो कनाएर अझ पाँच वर्ष बूढा भए।

हामीले पाँच वर्ष अघिसम्म हासिल गरेका डिग्रीहरू दाँत झरिसकेको गिजासरह हुँदैगए। यसबिच नै ममता ब्यानर्जीले भटाभट बाँड्न थालेका नियुक्ति पत्रहरू उमेर तुर्नलागेका शिक्षितहरूका निम्ति नयाँ ऊर्जा बनेर देखापरेको हो। यसैको परिणामस्वरूप हाम्राहरू नचाहँदा नचाहँदै पनि त्रिणमूल भए। पछिबाट विनयपन्थी पनि भए।

वस्तुत: सयमा नब्बे प्रतिशत विनयपन्थीहरू नै विनयका भक्त थिएनन्। अनुहार देखाएर काम बनाउने प्रथा त हाम्रो राजनैतिक संस्कारमा पुरानै तरिका हो। यही तरिकाअनुरूप अनुहार देखाएर छिटोछिटो नियुक्ति पाइहाल्ने हतारले धेरैजस्ता शिक्षितहरूलाई समेत गोजमूमो विनयपन्थी बनायो जसको कुनै अस्तित्व नै थिएन खासमा।

105 दिनको आन्दोलन हुँदा हामीले पाउनसम्म दु:ख पाएकै हौं नि तर कसै पनि विनय-अनितकहाँ दु:ख बिसाउन गएका थिएनन्। कसैले पनि बन्द खोलाइदेऊ भनेर बिन्ती बिसाएका थिएनन्। उनीहरूले आफ्नै स्वार्थमा ममताबाट मनग्गे पैसा लिएर खलपात्रको भूमिका निर्वाह गरे। जातीय उन्मुक्ति र उत्थानका निम्ति देशका कुनाकाप्चा सबैतिर प्रदर्शन गरिरहेका हजारौं गोर्खाहरूको सपनामा आगो झोसिदिए।

त्यसै दिनदेखि हाम्रो आत्मसम्मानमा ठेस लागेको थियो। बिमल दाजुको पालोमा उतिधेरै डम्साउन नपाइरहेका र भनेजस्तो ठाउँ नपाइरहेकाहरू सबै विनयखेमामा परिणत भए जुन विनयखेमा ममताले सिर्जना गरेको कथानकबाहेक अरु केही थिएन। विनयहरूले गद्दारी गरेका थिए र नै खुलेर राजनीति गर्न पटक्कै सकेनन्। तिनका सारथि बनेर आलोक, अमृत, केशव, अरुण, सन्दीपहरूले चिच्याइचिच्याई वकालत गरे तर गद्दारीलाई कुनै अर्को सकारात्मक परिभाषाभित्र बाँध्न सकेनन्।

विनयहरूमा डर कतिधेरै थियो भने त्यो डरलाई लुकाउनका निम्ति उनीहरूले एकपछि अर्को गल्ती गर्दै गइरहे। ती गल्तीहरूमा पुलिसप्रशासन लगाएर धम्क्याउनु, अन्य राजनैतिक दलहरूलाई कुनै सभा गर्न नदिनु, बोल्ने र लेख्नेहरूको स्वतन्त्रता हनन गर्नु, घरसम्पत्ति कुड्की गर्नु, शिक्षितहरूलाई आशमै अल्झाएर पार्टीमा हिँड्न बाध्य बनाउनका निम्ति चुरुप्पै शिक्षकहरूको नियुक्ति गर्नु, ममतालाई घरिघरि पहाड बोलाएर कार्यरूपमा आइनहाल्ने के के घोषणा गर्न लगाउनु आदि प्रमुख रहेका छन्।

यसबाहेक पार्टीबाट फुटेर ममताको कमारो बनिसकेपछि आफ्नो अलग पार्टी निर्माण गर्न नसक्नु तथा बिमल गुरुङकै फ्लेभर आउने पार्टी र झण्डालाई हाइज्याक गरेर राजनैतिक वर्चस्व कायम गर्न खोजिरहनु पनि विनयहरूको डर नै थियो। उनीहरूको डरकै कारण पहाडमा गणतान्त्रिक वातावरण बहाल हुन सकेन।

अलिकति बोल्यो कि लाखेस्। अलिकति चल्मलायो कि लाखेस्। अलिकति हिँड्न खोज्यो कि लाखेस्। यतिधेरै लाखेस् गरियो कि; हामी मनप्राणले उनीहरूको अन्तको दिन पर्खेर बस्ने भयौं। यही पर्खाईको प्रत्यक्ष परिणाम यसपल्टको लोकसभा चुनाउ र विधानसभा उप-चुनाउमा देखापरेको हो। यसमा राजु बिष्ट र निरज जिम्बालाई मन पराएर, भाजपाको नीतिलाई अनुसरण गरेर र मोदीलहरको पिङमा झुलेर हामीले भोट दिएका पटक्कै होइनौं।

बिष्ट र जिम्बाले विकासको मूल फुटाउनेछन्, गोर्खाल्याण्ड ल्याउनेछन्, 105 दिनको हाजिरा कमानबासीलाई दिलाउनेछन्, विभिन्न सरकारी कार्यालयहरूमा नियुक्ति गराउनेछन्, कमानक्षेत्रमा पर्चापट्टाको समस्या समाधान गर्नेछन् आदि इत्यादि सोचेर पनि हामीले भोट दिएका होइनौं।

हामीले भोट दिएका हौं त हाम्रा शहीदहरूको उत्सर्गले न्याय पावोस् भनेर दिएका हौं। विनय-अनितको गद्दारीले गर्दा झुकेको जातिको शिर उठाउन र आफ्नो आत्मसम्मानलाई फर्काइल्याउन पावोस् भनेर दिएका हौं। दुई वर्षदेखि हाम्रो छातीमा जुन चर्चराइरहेको पिलो थियो, त्यो फुटोस् भनेर दिएका हौं।

यसका साथै ममताको क्रुर दिमाग र विनय-अनितको गद्दारीले गर्दा दुई वर्षदेखि आफ्नो घर फर्कन नसकिरहेका बिमल गुरुङसँगै सङ्घर्षरत् हाम्रा वीर साथीहरू चाडै घर फर्कन सकोस् भनेर दिएका हौं। यसैले यो जीत राजु बिष्टको जीत होइन। निरज जिम्बाको जीत होइन। यो जीत हाम्रो हो। यत्तिका दिनहरूसम्म छाती भित्रभित्रै पिल्लिएर पनि चुपचाप चुपचाप सही समय पर्खेर बस्ने सम्पूर्ण गोर्खा जातिको जीत हो जोहरू दुई पैसामा पटक्कै बिक्री भएनन्। अब भन्नुहोस् त महाशय, के हामी हाम्रै जीतमा पनि नरमाउनु र?

तपाईँहरू दुईचारजनाको सपना टुट्यो होला। दुईचारजना निराश भए होलान्। दुईचारजनालाई मर्नुको ताल भएर रिस पनि उठ्यो होला। तर आम्मा कसम….तपाईँहरूको रिसको पारा अझै बढाउनका लागि हामी बीजेपीको खुशीमा रमाएका होइनौं। हुँदै होइनौं।

वास्तवमा तपाईँहरूसित त हाम्रो कुनै इख नै छैन, दुश्मनी नै छैन, मनदु:खाई नै छैन। आखिर तपाईँहरू पनि हामीजस्तै तलबाट आकास हेरेर रमाउनेहरू नै हो। सानासाना सपना बोकेका हामीजस्तै सानासाना मान्छे न हौ। बीजेपीले हामीलाई गोर्खाल्याण्ड दिनुभन्दा पनि महत्त्वपूर्ण हाम्रा निम्ति यो चुनाउलाई जित्नु थियो।

हाम्रो आफ्नो साथीभाइ र छरछिमेकलाई घरिघरि पुलिसले भए नभएको मुद्दा लगाएर खेदौरीवास लगाउँदा तपाईँहरूलाई चिलाई न कनाई भयो होला तर हामी रातभरि राम्ररी निदाउन सकेनौं। हाम्राहरूको घर-सम्पत्ति कुड्की गरेर घरका बुढाबुढी मानिसहरूलाई बेघर बनाउँदा पनि तपाईँहरू ‘ठिकै पऱ्यो त्यसलाई त’ भन्दै बस्नु भो होला तर हामी एकैछिन पनि शान्तिले बस्न सकेनौं।

विनयहरूले बाघको मखुण्डो लगाएर स्यालको भूमिका निर्वाह गरिरहे। तपाईँहरूले ताली बजाइरहनु भयो। मलाई थाहा छ -त्यो एक एक तालीमा तपाईँको काम पाउने स्वार्थको आवाज थियो। विकासको नाममा बाटो, झोडा, हलको काम छिराएर दुई पैसा थुपार्ने लालसा थियो। विनयहरूले मुखले ठिक्क पार्दै ममतासित गरेको कमिट्मेन्ट्अनुसार काम गरिरहे।

हामीलाई बोल्दा र लेख्दा समेत भित्रभित्रै धम्क्याइयो। यसैले हामी उकुसमुकुस थियौं। यही उकुसमुकुसबाट निस्केको सानो नसुनिने आवाजमात्र थियो आजको चुनाउ परिणाम। यसपल्ट हामीले कुनै शर्तबिना र मुद्दाबिना नै भोट हाल्यौं। यसो विचार गर त, यसरी उकुसमुकुस बस्नेहरू कतिधेरै थिएछन्? यसो विचार गरौं त।

यतिधेरै भोट राजु बिष्टले पैसा खर्च गरेरै किनेका हुन् त? पैसा त विनयहरूकोमा झन् धेरै थियो त, खर्च पनि गरेकै हुन्। थापेर आउने पनि तपाईँहरू नै हुनुहुन्छ, तर किन जितेनन्? किन?
यसको जवाब एकान्तमा बसेर, छातीमा हात राखेर, पार्टी, नेता र झण्डालाई पर पन्साएर एकपल्ट गम्भीरतापूर्वक सोच्नुहोला। साँचो, स्वाभिमानी र इमान्दार गोर्खा भएर सोच्नुहोला। जे जवाब पाउँछौ, त्यसले तिमीलाई अलिकति पनि सन्तुष्टि दियो भने तपाईँभित्र अझै पनि आत्मसम्मान रहेछ भन्ने थाहा हुन्छ।

यदि हुनुभएन भने तीनवटा कुरा हुन्छ -या त तपाईँ कुरा बुझ्नै नसक्ने पटमुर्ख हुनुहुन्छ, या त बुझेर पनि बुझ पचाउने ढोङ्गी, या त अरूसँग हार्नै नमान्ने एक नम्बरको घमण्डी।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया