मुख्यमन्त्री बने पीएस गोले

????????????????????????????????????

गान्तोक, 27 मई। 25 वर्षे एसडीएफको सत्तालाई च्यूत गरेर सरकार गठन गर्न पुगेको सिक्किम क्रान्तिकारी मोर्चाले आफ्नो अध्यक्ष पीएस गोलेलाई मुख्यमन्त्री बनाइ छोड्यो। अध्यक्ष गोलेले मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको सपथ ग्रहण गरेर सिक्किमको छैटौं मुख्यमन्त्री बनेका छन्। राज्यपाल गङ्गा प्रसादले मुख्यमन्त्रीलगायत  मन्त्री परिषदका 12 जनालाई पद अनि गोपनीयताको सपथ दिलाए। सिक्किमको राजनीतिक इतिहासमा पहिलोपल्ट जनाको अघि सार्वजनिक रूपमा सरकार गठन गरेर सपथ ग्रहण गरिएको छ।   पाल्जोर स्टेडियममा सरकारी अधिकारी, एसकेएमका समर्थकहरूको बाक्लो उपस्थितिमा मुख्यमन्त्री गोले र उनको मन्त्री मण्डलले सपथ ग्रहण गरेका थिए।

गोले सरकारको पहिलो मन्त्रीमण्डलमा कुङ्गा नीमा लेप्चा, सोनाम लामा, बेदुसिंह पन्त, डा. मणिकुमार शर्मा, अरुण उप्रेती, साम्डुप लेप्चा, लोकनाथ शर्मा, मिङ्मा नर्बू शेर्पा, कर्मालोडे भोटिया, भीमहाङ लिम्बू र सञ्जित खरेल रहेका छन्। उल्लेखनीय छ सिक्किमको इतिहास मै पहिलोपल्ट शेर्पा समुदायबाट पनि मन्त्री परिषदमा विधायक पुगेका छन्।

सपथ ग्रहणपछि हजारौं समर्थकहरूले एसकेएमको परिवर्तनको नारालाई सफल भएको प्रत्यक्ष दर्शन गर्ने मौका पाए। हजारौंको संख्यामा उपस्थित एसकेएम समर्थकहरूले आफ्नो मुख्यमन्त्रीलाई खदा माला लगाएर सम्मान जनाए

1990 सालमा स्नातक शिक्षककोरूपमा आफ्नो जीवनको प्रारम्भिक काल शुरु गर्ने पीएस गोलेले 1993 सालमा तत्कालिन सिक्किम संग्राम परिषद सरकारको विरुद्धमा उठेको जन आवाजलाई साथ दिएर सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीबाट राजनीतिक जीवन शुरु गरेका थिए। एसडीएफ पार्टी 1994-सालमा सरकारमा आएपछि निरन्तर तीन पल्ट मन्त्री बनेका थिए भने 2009-मा विधायक बन्नका साथै आफ्नो तत्कालीन पार्टीबाट विद्रोह गर्दै परिवर्तनको निम्ति संघर्ष थालेका थिए। दक्षिण सिक्किमको रोलूबाट सरकारको विरोधमा क्रान्तिको उद्घोष गरेका थिए। 2013-मा सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेपछि 2014को आम चुनाउमा 10वटा आसन जितेर लक्षित परिवर्तन गर्न पछिपरेपनि 2019-को आम चुनाउमा भने झिनो बहुमत हाँसिल गर्दै 32 मध्ये 17 आसनमा जीत दर्ता गरेर सरकार गठन गर्न सक्षम भएको छ।

सपथ ग्रहणपछि पत्रकारहरूसित संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री पीएस गोलेले सिक्किमे जनताले एसकेएम पार्टीलाई आस्था राखेर सरकार चलाउने अनुमति दिएकोमा आभार प्रकट गर्दै जनताको सपना अनुरूप काम गर्ने बताए। उनले सिक्किममा अब उसो भोटे लाप्चे नेपाली र सम्पूर्ण ब्यापारी एक भएर बाँच्न पाउने वातावरण सिर्जना गर्ने दावी गरे।

सिक्किममा पूर्णरूपमा शान्ति कायम रहने र सिक्किमे जनताको विकास हुने सन्देश दिन चाहेको बताए। सपथ ग्रहण समारोहमा एसकेएमका रहल चारजना विधायक आदित्य गोले, एलबी दास, सुनिता गजमेर, साङ्गे लेप्चा र  विष्णु खतिवडाको पनि उपस्थिति रहेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया