तर, फेरि

विचार

आगामी कार्यहरूको सूची र रणनीति सबैको तर्क र सुझावलाई लिएर तयार गरिनुपर्छ। जनता र नेतृत्वबीचको पुल सधैँ सुचारू रहनु पर्नेछ। बङ्गालभित्रको कुनै व्यवस्थालाई यो नै मेनिफेस्टोमा लेखिएको स्थायी राजनैतिक समाधान हो भन्ने वकालती हुँनुहुँदैन। हामी सामुहिक नेतृत्वको पक्षधर भएको हुनाले अब स्वच्छ राजनैतिक माहोलको सिर्जना गरेर बहिस्कारको संस्कारलाई त्यागेर अघि बढ्नुपर्छ।


किरण बिके


अहिले पहाडमा उत्सवको माहोल छ। बङ्गालको क्रुर नीति र तानाशाही सरकारको दमनकारी नीतिमुनि पेलिएका जनता बुलेटको जवाब व्यालेटबाट दिन सक्षम बनेकोमा अनि गोर्खे स्वाभिमानलाई बङ्गालको दस्वत्वसित साटेर आफ्नो हैकमवाद चलाउने हाम्रै गद्दार विनय जस्ता नेतालाई उत्तानो चित पार्न सफल भएकोमा जनताले आत्मसन्तुष्टिको स्वाश फेरेको छ।

दार्जीलिङलाई आफ्नो उपनिवेश सम्झिने ममता सरकारलाई गतिलो जवाब दिन जनता फेरि सफल भएको छ। विगतको बङ्गाल सरकारले दिएको नाना थरीका यातनाहरूले उकुस मुकुस भएका जनताले यसपटक देखाएको स्वभिमान प्रसंशनीय छ। प्रत्येक स्वाभिमानी जनतालाई साथै मुद्दाप्रति इमान्दार रहेर कार्यरत नेतृत्ववर्गलाई  हार्दिक बधाई टक्राउदँछौं।

तर यो उत्सव र विजयको जुलुसबिच  वर्तमानको यो जितलाई  गोर्खे स्वाभिमानको ठूलै जित मनिलिएको भएपनि भविष्यको अनिश्चितता भने पहिले जस्तै नै छ।

जनभावना र जनविश्वासको कदर गर्दै  जनाकांक्षा पूर्ति गरेर अब यो पार्टी र नेताको जितलाई जनताको जितमा परिवर्तन गर्नको निम्ति ठोस रणनीतिको खाँचो छ। नयाँ राजनैतिक संस्कार, मुद्दाको पक्षमा एकता, इमान्दारसित पक्ष र विपक्षको कर्तव्य पालन इत्यादि सहीरूपमा हुन् नसके जनताको निम्ति यो जित अल्पायु नै हुनेछ।

अलिकति मात्रै पछि फर्केर हेऱ्यौं भने हामी देख्नेछौं, त्यो दिन पनि यस्तै थियो, उत्सवको माहोल थियो, जितको हल्ला थियो, विजयको जुलुस थियो, स्वाभिमानी जनताको शिर ठाडो थियो, आवाज बुलन्द थियो आत्मसन्तुष्टि थियो।  २००९ मा जसवन्तलाई रेकड मतले जिताएपछि जनताले बढो गर्व  र सम्मानको साथ गालामा चुम्मा खाएर दिल्ली पठाए अनि आफुहरूले न्याय पाउने ठुलो आशाको साथ आफ्नै सुती-खेतूमा लागे। नेतृत्वहरू आ-आफ्नै तालमा मस्त भए। जित त्यतिमै सकियो। फेरि बङ्गालको दमन सुरू भयो। फेरि बङ्गालको उपनिवेशवाद विरूद्ध जनता सडकमा ओर्लिए। आफ्नो संवैधानिक अधिकारको निम्ति जनताले शान्तिपूर्ण ढङ्गमा आफ्नो आवाज बुलन्द गरे तर बङ्गालले निर्ममतापूर्वक गोली लाठी चलाएर जनताको आवाजलाई कुल्ची मिल्ची पाऱ्यो। जनताले आशाको नजरले दिल्लीतिर हेऱ्यो। आफ्नो नेतृत्वलाई खोज्यो तर कतै भेटेनन्। नेतालाई भारी मतले जिताउने जनता आफै हारे।

२०१४ मा फेरि इतिहास दोहोरियो। फेरि उत्सवको आगमन भयो। जनतामा नयाँ जोश, नया विश्वास पलायो। विजय भयो जुलुस भयो। जनताको स्वाभिमानी गगनभेदी नाराहरूले बङ्गाल थर्कायो। अहलुवालियालाई रेकड मतले जितायो। अबभने पक्का न्याय हुनेछ भन्ने जनतालाई पक्का-पक्की भयो। पहाडमा फेरि उत्सव भयो।

जनताले नाँच गान सहित स-सम्मान उनलाई दिल्ली पठाए। जनता आफ्नो नित्यकर्ममा लागे। नेतृत्वको सुर-ताल फेरि आ-आफ्नै थियो। जित अल्पायु नै भयो। पहाडमा बङ्गाल सरकारको दमन फेरि भाषा अतिक्रमणदेखि सुरू भयो। जनता यसको विरूद्ध सड़कमा उत्रिए। पछि यो विरोध गोर्खाल्याण्डको आन्दोलनमा परिणत भयो।

बङ्गालले यसलाई दबाउन साम, दाम, दण्ड, भेद सबै अपनायो। फेरि गोली र लाठीको प्रहर भयो। गोर्खेको नरसङ्घार भयो। गोर्खाको आवाजलाई क्रुरताको साथमा दमन गरियो। जनताले दिल्लीतिर फर्केर गुहार लगायो। आफ्नो प्रतिनिधिलाई धुइँधुइँती खोज्यो तर कतै भेटेनन्। यत्रो माया र सम्मान दिने जनता घरको न घाटको हुँदा समेत उनी चुँ सम्म गरेनन्।  हेबिवेट नेतालाई जिताउने जनता फेरी आफै हारे।

आज पनि सुरूवाती क्रमहरू उस्तै उस्तै छन्। रेकड मतले विजय, उत्सव, नाच गान, जनताको स्वाभिमान, प्रतिनिधिलाई सम्मान, न्यायको भरोसा। तर यसपछिको इतिहासभन्दा यसपाली को यथार्थ भिन्नै हुने आशा सबैले साँचेका छन्। किनकि यसपाली सामूहिक पहलमा र सामूहिक समर्थनमा पठाएको गोर्खे उम्मेदवार भएकोले गर्दा सकारात्मक पहल हुने विश्वास छ। यसपालीको जितलाई साँचो अर्थमा जनताको जित बनाउनुपर्छ। यसको निम्ति सबै जना गोलबद्ध हुन् अति आवश्यक छ। जिताउने र सघाउनेको मात्रै नभएर सम्पूर्ण जनताको प्रतिनिधित्व हुनुपर्छ।

आगामी कार्यहरूको सूची र रणनीति सबैको तर्क र सुझावलाई लिएर तयार गरिनुपर्छ। जनता र नेतृत्वबीचको पुल सधैँ सुचारू रहनु पर्नेछ। बङ्गालभित्रको कुनै व्यवस्थालाई यो नै मेनिफेस्टोमा लेखिएको स्थायी राजनैतिक समाधान हो भन्ने वकालती हुँनुहुँदैन। हामी सामुहिक नेतृत्वको पक्षधर भएको हुनाले अब स्वच्छ राजनैतिक माहोलको सिर्जना गरेर बहिस्कारको संस्कारलाई त्यागेर अघि बढ्नुपर्छ।

समुहिकतामा आएर हाम्रो मूल मुद्दा गोर्खाल्याण्डसितै, विगत आन्दोलनमा जेलबन्दी परेका, झुटा केशहरूमा फसिएका, घरहरू कुर्की भएका अनेक भुक्तभोगीहरूको न्यायको निम्ति साथै गोर्खाहरूलाई राष्ट्रिय रूपमा एकीकरण को निम्ति, विभिन्न क्षेत्रीय समस्याहरूको निम्ति उपयुक्त पहल हुनुपर्नेछ।

अनि लोकसभा र विधान सभामा जाने हाम्रा नया प्रतिनिधिहरूले यसपाली जनताको जित लिएर आउने कुरोमा सबै जना विश्वस्त छन् भने हामीले गर्नुपर्ने कर्तव्यको निम्ति हामी सदैव तप्तर छौँ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया