ममता शिविरमा हाहाकार : चुलियो  2020 भित्रै बङ्गालमा भाजपाको सरकार आउने सम्भावना

हालिशहरका करिब 18 जना तृणमूल पार्षद्, नैहाटीका 17 नगरपार्षद् र काञ्चरापाराका 16 नगरपार्षद्ले भाजपाको झण्डा समातेका छन्। उनीहरूले तृणमूल कङ्ग्रेस छोड़ेपछि ममताको पार्टीले तीनवटा नगरपालिकाबाट बहुमत गुमाएको छ। यसभन्दा अघि नै भाटपारा नगरनिगम भाजपाले कब्जा गरेको थियो। ‘आगामी दुई तीन महिनामा भाजपाले राज्यका 55-60 नगरपालिकामा कब्जा गर्नेछ’, मुकुल रोयले भनेका छन्।


कोलकाता, 28 मई


ममता व्यानर्जीको दल तृणमूल काङ्ग्रेसलाई गतिलो सङ्कट आइपर्ने सम्भावना चुलिएको छ। बङ्गालमा भारतीय जनता पार्टीको प्रभावकारी चुनावी प्रदर्शनपछि तृणमूल नेताहरू भाजपातिर तानिन थालेका छन्। अहिले तृणमूलका नेताहरू ममतालाई छोड्दै नरेन्द्र मोदीसित आकर्षित बनिरहेका छन्।

तृणमूलका नेताहरू मात्र होइन, वाम दलका नेताहरूसमेत भाजपातिर आकर्षित बनिरहेका छन्। आज तृणमूल कङ्ग्रेसका दुई जना अनि माकपाका एक विधायकलगायत 50 भन्दा बढ़ी तृणमूल काङ्ग्रेसका नगरपार्षद् भाजपामा सामेल भएका छन्।

उनीहरूमा तृणमूलका विधायक शीलभद्र दत्त, सुनिल सिंह अनि माकपाका विधायक देवेन्द्र राय रहेका छन्।  यसबाहेक पनि भाजपा नेता मुकुल रायका छोरा शुभ्रान्शु राय पनि पिताकै पार्टीमा आएका छन्। उनी तृणमूलका विधायक हुन्। उनलाई केही दिनअघि तृणमूल कङ्ग्रेसले अनुशासनात्मक कारबाही गर्दै 6 वर्षका लागि पार्टीबाट निष्कासित गरेको थियो।

तृणमूल विधायक, माकपा विधायक अनि नगरपार्षदहरू शुभ्रान्शुकै अगुवाइमा भाजपामा सामेल हुन आज दिल्ली पुगेका हुन्। उनीहरूलाई पार्टीमा सामेल गर्न भाजपा अध्यक्ष अमित शाह आफै उपस्थित थिए।

बताइएअनुसार हालिशहरका करिब 18 जना तृणमूल पार्षद्, नैहाटीका 17 नगरपार्षद् र काञ्चरापाराका 16 नगरपार्षद्ले भाजपाको झण्डा समातेका छन्। उनीहरूले तृणमूल कङ्ग्रेस छोड़ेपछि ममताको पार्टीले तीनवटा नगरपालिकाबाट बहुमत गुमाएको छ।

यसभन्दा अघि नै भाटपारा नगरनिगम भाजपाले कब्जा गरेको थियो। ‘आगामी दुई तीन महिनामा भाजपाले राज्यका 55-60 नगरपालिकामा कब्जा गर्नेछ’, मुकुल रोयले भनेका छन्।

उनले गङ्गारामपुरका गौतम दास र विष्णुपुरका तुषारकान्ति भट्टाचार्य पनि भाजपामा सामेल हुने सम्भावना रहेको बताए। दुवै तृणमूलका विधायक हुन्। उनको दाबीका अनुसार अझै चारजना विधायक भाजपामा सामेल हुनसक्छन्।

आज यी पार्षद्हरूलाई भाजपामा सामेल गराउन तृणमूल त्यागेर भाजपाको टिकटमा ब्यारेकपुरबाट लोकसभा चुनाउ जितेका अर्जुन सिंहको ठूलो योगदान छ। सामेल हुने पार्षद्हरूमा महिला पार्षद्हरूको सङ्ख्या धेरै छ।

सूत्रले बताएअनुसार तृणमूल काङ्ग्रेसका अधिकांश विधायक भाजपामा सामेल बन्ने सम्भावना छ। 2021 को विधानसभा चुनाउ अघि नै बङ्गालमा भाजपाले सरकार बनाउने योजना तयार पारेको छ। ममता व्यानर्जीको एकल र जङ्गी आचरण भोग्न परिरहेका विधायकहरू भाजपामा आउने सम्भावना छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया