विमल गुरुङ मोर्चाका प्रवक्ता बजगाईँ पक्राउ : जनता खुलेर आए पुलिसको विरोध गर्दै सडकमा : लाग्यो ‘बङ्गाल पुलिस गो व्याक’-को नारा

दार्जीलिङ, 29 मई


गोर्खा जुक्ति मोर्चाका प्रवक्ता बीपी बजगाईँलाई दार्जीलिङबाट पुलिसले पक्राउ गरेको छ। बजगाईँ दार्जीलिङमा पार्टीको एउटा बैठकको लागि पुगेका थिए। सङ्गठनसित सम्बन्धित बैठक सकेर फर्किँदै गर्दा उनलाई पुलिसले पक्राउ गरेको हो।

बताइएअनुसार दार्जीलिङ नगरपालिक विमल समूह मोर्चाको कब्जामा गएको छ।  दार्जीलिङ नगरपालिकाका 18 जना पार्षदहरू विमल समूहमा आएका छन्। पार्षदहरूले नगरपालिकामा नो कन्फिडेन्स मोसन ल्याउनसमेत माग गरेका छन्। बजगाईँहरू यसैबारे बैठक गर्न दार्जीलिङ पुगेका हुन्। यही खबर सुनेर पुलिसले बजगाईँ बैठकबाट निस्किने प्रतीक्षा गरिरहेको थियो। बजगाईँ बैठकबाट निस्किएर फर्किँदै गर्दा बाटैमा पुलिसले पक्राउ गरेको हो।

मोर्चाको प्रवक्ता बन्ने वित्तिकै बङ्गाल पुलिसले उनीमाथि अनेकौं मुद्दा लगाएको छ। सबै मुद्दामा बजगाईँले न्यायपालिकाको सम्मान गर्दै धाइरहेकै छन्। यद्धपि, उनलाई अचानक पक्राउ गरिएको छ।

पक्राउ पर्दापर्दै उनले परिवारलाई शान्ति बनाइराख्ने अपील गरेका छन्। ‘मेरो पक्राउ जाति र माटोको लागि हो,’ उनले भने, ‘कसैले पनि सुर्ता नगरिदिनुहोला। जनतालाई पनि शान्ति बनाइराखिदिन म अपिल गर्छु।’

भर्खरै बजगाईँले बङ्गला भाषा थोप्न बङ्गाल सरकारको बाङ्लार शिक्खा नामक परियोजनाको पर्दाफास गरेका थिए। पाठ्यपुस्तक मार्फत भाषिक र सांस्कृतिक दमन गरिरहेको भन्दै बजगाईँले पाठ्यपुस्तक नै देखाएर खुलासा गरेका थिए।

उनले यसो गरेकोमा पनि मुद्दा लगाइएको छ। भर्खरै पनि जिटिए र बङ्गाल सरकारको शिक्षक नियुक्तिको धाँधलीबारे खुलासा गरेका बजगाईँ बङ्गाल सरकारको तारोमा थिए।

बजगाईँलाई  पक्राउ गर्नसाथ दार्जीलिङका जनता आकस्मत खुलेर सडकमा ओर्लिएर बङ्गाल पुलिसको विरोधमा नाराबाजी गरिरहेका छन्।

उनीहरूले बङ्गाल पुलिस गो व्याक, पुलिसी अत्याचार बन्द गर भन्दै नारा लगाइरहेका छन्। यसको असर धेरै ठाउँ देख्नसक्ने सम्भावना बढेको छ। बजगाईँ विमल गुरुङ समूह मोर्चाका प्रवक्ता बनेलगत्तै पुरानो मोर्चाका गल्ती भूलेर नयाँ चरित्रसहित मोर्चा र विमल गुरुङको आगमन हुने भरोसामा जनता सङ्गठित बनिरहेका थिए।

यसपल्टको चुनाउमा विमल गुरुङ समूहबाट मञ्चमा खुलेर बोल्ने नेता उनी नै थिए। मोर्चाका बजगाईँजस्ता बौद्धिक नेताको प्रवेशलगत्तै दार्जीलिङको राजनीतिमा व्यापक फेरबदल देखापर्न थालेको थियो। त्यसैलाई मत्थर गर्न अनि विमल गुरुङको शक्ति कमजोर पार्न बजगाईँलाई अनेकौं मुद्दा लगाइएको छ।

‘यति धेर मुद्दा लगाइएको छ, कति त मलाई पनि थाहा छैन,’ बजगाईँले यसअघि खबरम्यागजिनसित भनेका थिए। उनलाई कुन मुद्दामा पक्राउ गरिएको हो, पुलिसले खुलाएको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया