मणि ट्रस्टको पाँचौँ स्थापना दिवस पालन : कालेबुङमा चाँडै ‘सिल्क रिलिङ युनिट’ बसाउनेछौँ-सुवास एम. सिंह

कालेबुङ, 29 मई


कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले आज कालेबुङको रामकृष्ण रङ्गमञ्चमा एउटा भव्य समारोहको आयोजना गरी पाचौँ स्थापना दिवस पालन गऱ्यो। स्वास्थ्य, रोजगार, शिक्षा लगायतका एक दर्जनभन्दा धेर सेवा अभियानमा काम गरिरहेको ट्रस्टले पाँचौँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गरेको थियो।

ट्रस्टका मुख्य सल्लाहकार निर्मल दर्नालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सिक्किमबाट पद्मश्री द्रोपदी घिमिरे मुख्य अतिथिका रूपमा उपस्थित थिइन् भने नेकरोडका चियरमेन अशोक भारती, एसडीएमओ अङ्कन सिम्लाङदी, फेडरेसन अफ् ब्लड डोनर अर्गनाइजेसन अफ् इण्डियाका महसचिव अपूर्व घोष, सत्पश्री ज्ञानपीठका निर्देशक तपन प्रधान, खादी बोर्डका दार्जीलिङ जिल्ला प्रभारी पार्थ सारथी भट्टचार्य, जलपाइगुढी जिल्लाका एसके प्रधान आदि विशिष्ट अतिथिहरूका रूपमा उपस्थित थिए।

ट्रस्टका सीईओ रेश्मा राई सिंहले स्वागत सम्बोधन राख्दै आरम्भ गरेको कार्यक्रममा लुमलेस ब्ल्याङकेट विभर्स सोसाइटी लिमिटेडका महिलाहरू, तोदे अनि झोलुङका स्वयंसेवीहरू, विभिन्न सामाजिक सङ्गठनहरू, मिडियाकर्मी अनि समाजमा विभिन्न पक्षबाट योगदान दिँदै आएका समाजिक सङ्गठन एवं व्यक्तिविशेषलाई सम्मान जनाइयो।

कार्यक्रममा जनशक्ति फाउन्डेसन बेङ्गलुरूका लक्ष्मी घिसिङ, कालेबुङका काष्ठकलाकार लोकेश प्रधान, साथै रेनबो चिलड्रेन्स हार्ट इन्सटिट्यूटका सयद दास्तागिर बाबुलाई पनि सम्मान जनाइएको थियो।

कार्यक्रममा वृत्तचित्रमार्फत ट्रस्टले पाँच वर्षदेखि गर्दै आएका सेवाकार्य पनि प्रस्तुत गरिएको थियो। यसै क्रममा ट्रस्टका संस्थापक अध्यक्ष सुवास मणि सिंहले पनि ट्रस्टको गर्दै आएका कार्य एवं भावी कार्यक्रमबारे अवगत गराएका थिए।

उनले जनाए अनुसार ट्रस्टले स्वास्थ्य सम्बन्धी गर्दै आएको चारवटा पहलमध्ये ‘हेल्प फर हेल्पलेस’-अन्तर्गत यसवर्ष जम्मा 63 जना विरामीहरूलाई मोठ 8 लाख 50 हजार रुपियाँ प्रदान गरेको छ। यसरी नै सपोर्ट फर लाइफ अन्तर्गत बजारमा राशी सङ्ग्रह गरेर 15 जना विरामीलाई 18 लाख 20 हजार रुपियाँ प्रदान गरेको छ। यसरी नै फुड फर हेल्पलेस अन्तर्गत यसवर्ष असहायहरूलाई 14 हजार प्याकेट खानी वितरण गरिएको छ भने यसै अभियान अन्तर्गत आवश्यक परेका मानिसहरूलाई पनि खाद्यान्न सामाग्रीहरू सहयोग गर्दै आएको छ।

यसबाहेक शिक्षाका निम्ति 14 जना विद्यर्थीहरूलाई ट्रस्टले डेढ लाख रुपियाँ प्रदान गरेको छ। यसरी नै विगत वर्ष ट्रस्टले लेट्स सेफ इन्भारोमेन्ट पहल अन्तर्गत दार्जीलिङ, कालेबुङ, जलपाइगुढी, अलिपुरद्वार अनि कुचबिहार जिल्लामा गरेर मोठ 15 हजार विरूवा रोप्न सफल भएको छ। ट्रस्टले इम्प्लोइमेन्ट अप्परचुनिटी फर लाइभिलहुड सस्टेनेबिलिटी पहल अन्तर्गत पश्चिम बङ्गाल खादी अनि ग्राम उद्योग बोर्डको सहयोगमा 40 वटा हातेतान केन्द्रहरूमा 1920 जना महिलाहरूलाई तालिम प्रदान गरेको छ। यसरी नै सिस्नुबाट धागो निकालेर लुगाफाटा बनाउन कफेरमा ट्रस्टेल पाइलट प्रोजेक्ट सफलतापूर्वक गर्न सकेको अनि आगामी दिनमा सिस्नुमाथि पनि काम गर्ने सिंहले बताएका छन्।

यसरी नै अब ट्रस्टले रेशमबाट धागो निकालेर यहीँ उत्पादन गर्ने भएको छ। कालेबुङ-दार्जीलिङ रेशमको राम्रो उत्पादन केन्द्र हुँदाहुँदै पनि अहिलेसम्म यहाँबाट काँचो माल मात्र तयार भइरहेको कारण अब ट्रस्टले खादी बोर्डको सहयोगमा कालेबुङको पुदुङमा चाँडै ‘सिल्क रिलिङ युनिट’ बसाउने पनि ट्रस्टका अध्यक्ष सुवास मणि सिंहले घोषणा गरेका छन्।

यसका अतिरिक्त मानिसहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले चाँडै ट्रस्टले ‘हाम्रो पसल’-पनि शुरू गर्ने घोषणा गरे। विभिन्न स्वनिर्भर समुहहरूलाई आबद्ध गराएर कमभन्दा कम दाममा ‘हाम्रो पसल’-मार्फत समाग्रीहरू बिग्री गरेर मानिसहरूलाई बचत गर्न  सहयोग हुने सिंहले बताए।

यसबाहेक एसएसएमई विभाग, खादी बोर्ड अनि ट्रस्टले संयुक्त रूपमा चियाबगानका निजी व्यवसायीहरूका निम्ति पनि अलग्गै सोच बनाइरहेको अनि ठूलै अलैँची खेती गर्ने कृषकहरूका निम्ति चाँडै तोदेमा अटोमेटिक ड्रायिङ मसिन पनि बसाइने बताए।

कार्यक्रममा ट्रस्टको वार्षिक रिपोर्ट एवं पत्रिका ‘अभियान’  पनि विमोचन गरियो। दार्जीलिङ, आसाम, सिक्किम, डुवर्स आदि क्षेत्रबाट आएका मानिसहरूको व्यापक उपस्थिति रहेको कार्यक्रमलाई विभिन्न क्षेत्रबाट आएका कलाकारहरूको साङ्गीतिक एवं सांस्कृतिक प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बनाएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया