बीपी बजगाईँहरूको पक्राउ विनयहरूको ‘फ्रस्टेशन वार’ : यस्तै अन्याय-अत्याचार भइरहे जेल भरौं कार्यक्रम गर्न सबै तयार बसौं- विमल गुरुङ

 ‘शोषण-दमन र अन्याय-अत्याचार यति धेरै भइसकेका छ र पनि हामीले सहेर बसेका छौं। हामीले हाम्रो गणतान्त्रिक हक अधिकार खोज्न र सोध्न पनि पाएका छैनौं। त्यसैले सबै सबै एक भएर धैर्यसँग अनुशासित भएर शान्तिपूर्ण बसिदिने अपील गर्छु। उनीहरूले ‘फ्रस्टेशन वार’ गर्दैछन्। हामी नअतालिकन हाम्रो साङ्गठनिक कामहरू गरेर बसिदिने अपील गर्दछु। यस्तै अन्याय-अत्याचार भइरहे जेल भरौं कार्यक्रम गर्न पर्छ। यसको लागि सबै तयार भएर बस्ने अपील गर्छु।’


दार्जीलिङ, 30 मई


एक अडियो जारी गरी गुरुङले दुई दुईवटा चुनाउ हारेपछि विनय-अनितले आफै दङ्गाफसाद र अशान्ति सिर्जना गरी निर्दोष मोर्चा (पहिलो खेमा) -का कार्यकर्ता र समर्थकहरूलाई फँसाउने षड़यन्त्र गरिरहेको आरोप लगाएका छन्।

बङ्गालसँग मिलेर विनय-अनित गुटले पहाड़मा हिंसा र अशान्ति फैलाउने प्रयास गरिरहेको भन्दा उनले हिजो दार्जीलिङ नगरपालिकामा आफ्नो जनमत देखाउन त्यहाँका  नगरपार्षद्हरू गणतान्त्रिक र शान्तिपूर्ण  ढङ्गमा आफ्नो विचार राखेर वर्तमान नगरपालिकाको बोर्ड उल्टाउने काम गरेकोको तर बङ्गालसँग मिलेरका विनय-अनितपन्थीहरूले उल्टै दोषारोपण र लाञ्छना लगाउने काम गरेको मोर्चा प्रमुखले बताएका छन्।

‘दुई दुईवटा चुनाउ हारेपछि अब जनताले ती व्यक्तिहरूलाई रूचाउँदैनन्। ती व्यक्तिहरूलाई जनमत दिएका छैनन्। र हामीले सही निर्णय लिनुपर्छ भने उनीहरू (आफ्नो पक्षका नगरपार्षद्)-ले बोर्ड पल्टाउने एउटा जनमत शृङ्खला जाहेर गरेका थिए’, विमलले थप भनेका छन्, ‘एकदमै गणतान्त्रिक र अनुशासनात्मक प्रकार हाम्रा सम्पूर्ण नगरपार्षद् दाजु-भाइ दिदी-बहिनीहरू मिलेर नगरापालिका अध्यक्षलाई ज्ञापन चढ़ाए। त्यसपछि उनीहरूले लिखित रूपमा यो बोर्डलाई विघटन गरी नयाँ बोर्ड बनाउन चाहन्छौं भन्ने कुरा राखे, तर ती विनय-अनितपन्थी बङ्गाल खेमाका प्रतिनिधिहरूले मिलेर हामीमाथि लाञ्चना लगाउने, दोषारोपण गर्ने र कलङ्क लगाउने कामहरू गरेर हाम्रा प्रवक्ता बीपी बजगाइँ र दार्जीलिङ महकुमा समितिका महासचिव तिलकचन्द्र रोकालाई पक्राउ गर्ने काम गऱ्यो।’

उनले आफ्ना नेताहरूलाई बिनाकारण पक्राउ गरी धम्काउने कार्य गरिरहेको आरोप लगाउँदै कानून व्यवस्था भङ्ग नहुनका लागि उर्दीको कदर गरेर काम गर्ने अपील गरेका छन्।

गुरुङले आज बङ्गालको कानूनलाई हातमा लिएर गाउँ-बस्तीमा तोड़फोड़ गर्ने घर जलाउने र दङ्गाफसाद कार्य गरिरहेको पनि आरोप लगाएका छन्।

‘आज प्रत्येक नगरपार्षद्हरूको घर घरमा गएर उनीहरू र उनीहरूका परिवारलाई धम्काउने कार्य गर्दैछन्’, उनले थपे, ‘यस्ता कार्यहरूमाथि कड़ा नजर राखिदिने हामी पुलिस प्रशासनलाई अनुरोध गर्न चाहन्छौं।’

मोर्चा प्रमुखले दार्जीलिङ पहाड़को गणतान्त्रिक र शान्तिपूर्ण माहोल एकदमै बिग्रेर गइरहेकोले यसको जिम्मेवार पुलिस प्रशासन हुने र आज पहाड़को वातावरण जस्तो गरी बिग्रेर जाँदैछ, त्यसको दोष विनय-अनितलाई जाने बताएका छन्।

यसका साथै गुरुङले दार्जीलिङ पहाड़का सम्पूर्ण जनतालाई शान्ति शृङ्खला बनाइराख्ने अपील गरेका छन्।

उनले थप भनेका छन्, ‘शोषण-दमन र अन्याय-अत्याचार यति धेरै भइसकेका छ र पनि हामीले सहेर बसेका छौं। हामीले हाम्रो गणतान्त्रिक हक अधिकार खोज्न र सोध्न पनि पाएका छैनौं। त्यसैले सबै सबै एक भएर धैर्यसँग अनुशासित भएर शान्तिपूर्ण बसिदिने अपील गर्छु। उनीहरूले ‘फ्रस्टेशन वार’ गर्दैछन्। हामी नअतालिकन हाम्रो साङ्गठनिक कामहरू गरेर बसिदिने अपील गर्दछु। यस्तै अन्याय-अत्याचार भइरहे जेल भरौं कार्यक्रम गर्न पर्छ। यसको लागि सबै तयार भएर बस्ने अपील गर्छु।’

गुरुङले साथै आगामी दुई-तीन दिनभित्र बङ्गालको तृणमूल सरकार ध्वस्त हुने र त्यसबेला अहिले अन्याय-अत्याचार गरिरहेका मानिसहरूले अवश्यै परिणाम भोग्ने बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया