नरम अन्दाजमा देखा परे अनित थापा : भने, ‘म जनतालाई सताउन सक्दिन’

फाइल फोटो

थापाअनुसार चुनाउपछि जित्ने दलहरूले छुट्टै राज्य गोर्खाल्याण्ड भन्नुपर्थ्यो तर भनिरहेका छन् ‘पर्मनेन्ट सोल्युसन’। पर्मनेन्ट सोल्युसन भनेकै गोर्खाल्याण्ड हो। तर जुन भङ्गीमासित भनिँदैछ, त्यसले गोर्खाल्याण्ड होइन कुनै नयाँ व्यवस्थातिर सङ्केत गरिरहेको छ। ‘पहाडमा दागोपाप, जिटिए छँदैछन्, अब फेरि त्यस्तै व्यवस्थाको कुरा जसले गर्छ, त्यसको विरोधमा सबैभन्दा पहिले म उत्रनेछु,’ थापाले भने, ‘म माग्ने तरिका गलत भयो भनेर पनि विरोध गरिरहेको छु, पुग्ने तरिका गलत भयो भने पनि विरोध गर्नेछु।’


कालेबुङ, 31 मई


गोर्खा जनमुक्ति मोर्चा (दोस्रो) को कर्मीसभामा आइपुगेका जिटिए प्रशासक अनित थापालाई निक्कै नरम देखिए। उनले आफ्नो अलग ‘एट्टिट्युड’-लाई पुरानो बानी बताए। सोही चौकीमा रहेका विनय तामाङ भन्थे, ‘24 मई देखि उता हेर्छु।’ स्पष्ट थियो, उनको धम्कीमा चुनाउपछि आफ्नो पक्षमा नआउनेहरूलाई ‘पोलिटिकल भिक्टिमाइज गर्छु’ भन्ने आशय नै थियो।

कर्मी सभामा अनित थापाले विनय तामाङको एट्टिट्युडको ठिक विपरित बोले। ‘हामी जनताको सेवा गर्न आएका हौं। जनतामा जुनसुकै पार्टीका परुन्, पोलिटिकल भिक्टिमाइज गर्नु हुँदैन,’ उनले भने, ‘चुनाउ अघिसम्म जेजसो भयो, अब त्यसलाई पार्टीको चरित्रमा मिसाउनु हुँदैन।’

आफूलाई सोझो कुरा मन पर्ने र आफू पनि उस्तै व्यवहारको रहेको भन्दै थापाले विमल गुट होस् वा विनय गुट दुवैको ‘गोल’ भनेको छुटै राज्य नै रहेको बताए।

‘हामीले गोर्खा आइडेन्डिटी भन्यौ, उनीहरूले गोर्खाल्याण्ड भने,’ उनले भने, ‘फरक यति हो तर दुवैको अर्थ एकै हो।’

छुट्टै राज्यको गठनबारे थापाको आफ्नै बुझाइ छ। उनलाई लाग्छ, छुट्टै राज्य हुनको लागि पश्चिम बङ्गालको ‘एनओसी’ चाहिन्छ। त्यो ‘एनओसी’ जुझेर होइन मिलेर प्राप्त गर्न अनिवार्य छ। जो जुझ्छ, त्यसलाई दबाइन्छ। मिलेर पूर्ण रणनीतिसित काम गरे असम्भव छैन।

‘हामीले ‘एनओसी’ लिन काम गरिरहेका हौं। हाम्रो चरित्र जुझ्ने होइन मिल्ने हो। तर लक्ष्य एउटै हो,’ थापाले भने, ‘हामी कन्फ्युज हुने कामै छैन।’

चुनाउलाई पनि उनले फरकरूपले व्याख्या गरे। ‘यो चुनाउमा न उनीहरूले (विमलपन्थी) जिते, न हामी हाऱ्यौं, चुनाउ गोर्खाले जितेको हो,’ थापाले थपे, ‘तर दुःखको कुरा के हो भने चुनाउ सक्ने वित्तिकै उनीहरूले युटर्न लिएको छ।’

थापाअनुसार चुनाउपछि जित्ने दलहरूले छुट्टै राज्य गोर्खाल्याण्ड भन्नुपर्थ्यो तर भनिरहेका छन् ‘पर्मनेन्ट सोल्युसन’। पर्मनेन्ट सोल्युसन भनेकै गोर्खाल्याण्ड हो। तर जुन भङ्गीमासित भनिँदैछ, त्यसले गोर्खाल्याण्ड होइन कुनै नयाँ व्यवस्थातिर सङ्केत गरिरहेको छ।

‘पहाडमा दागोपाप, जिटिए छँदैछन्, अब फेरि त्यस्तै व्यवस्थाको कुरा जसले गर्छ, त्यसको विरोधमा सबैभन्दा पहिले म उत्रनेछु,’ थापाले भने, ‘म माग्ने तरिका गलत भयो भनेर पनि विरोध गरिरहेको छु, पुग्ने तरिका गलत भयो भने पनि विरोध गर्नेछु।’

आफूहरूलाई जसले पनि मानसिकताअनुसारको आरोप र लाञ्छना लाउनै सक्ने पनि उनले बताए। ‘गणतन्त्रमा बोल्ने र प्रश्न उठाउने अधिकार सबैलाई छ,’ थापाले भने, ‘तर हामीले हाम्रै चरित्रका आन्दोलन गरेका हौं। हाम्रो आइडियोलजी उनीहरूसित मिल्दैन त्यसैले लाञ्छना लगाउँछन्। तर हामी आफ्नो आइडियोलजीमा स्पष्ट हुनुपर्छ, अरूले लाञ्छना लगाउँदा रिसाउनु हुँदैन।’

अघिल्लो आन्दोलनको तरिका ठिक नभएकैले आफूहरूले विरोध गरेको अनि आफूहरू त्योबाटो भएर लक्ष्यमा पुग्न नसक्ने भएपछि नै आफ्नो बाटो बनाएको पनि बताए। ‘आन्दोलन तरिकाले गर्नुपर्छ जनतालाई भड्खालोमा हाल्नु हुँदैन,’ उनले थपे, ‘अहिले जिटिएलाई विरोध गर्दैछ। तर जिटिए हामीले थापेका होइनौं। जिटिए उनीहरूले नै थापेका हुन्। यो बङ्गाल सरकारको अधिनमा छ, यो बङ्गालकै म्याटर हो। यसलाई कसरी चलाउँछ, त्यो पनि बङ्गालकै सरोकारको कुरा हो। हामीलाई टाउको दुखाउनु छैन।’

अहिले आफ्नैहरूबीच झगडा हुनसक्ने स्थिति बनिरहेको भन्दै उनले सतर्क गराए। ‘हाम्रा दुश्मन कोही छैनन्। गोर्खाहरू हाम्रा दुस्मन होइनन्। हामी झगडा गरेर होइन सरकारलाई बुजाएर लक्ष्यमा पुग्ने कुरामा विश्वास गर्छौं,’ उनले भने, ‘कसैले पनि कसैलाई केही नभन्नु। हिंसातिर नजानु। हामीले हाम्रै रोडम्याप तयार गरेर आन्दोलन गर्नुपर्छ।’

चुनाउ हारे पनि कसैलाई हतास नबन्ने बरु खुशी हुनुपर्ने पनि उनले जनाए। ‘चुनाउ अघि थाहा थिएन हामीसित कति मानिस छन्,’ उनले भने, ‘तर एकलाख दुइहजार हामीसित छन्। यो त हाम्रो उपलब्धी हो।’

उनले कसैले कसैलाई भिक्टिमाइज नगरिदिने, अरू दलका समर्थकहरूलाई नराम्रो नभनिदिने, नगरपालिका र जिटिए दुवैले कसैलाई पोलिटिकल भिक्टिमाइज नगर्ने पनि जनाए।

‘म पोलिटिकल भिक्टिमाइज गर्दिन। नेताहरूले भिक्टिमाइज गर्छु भन्नु पनि हुँदैन। राजनीति सेवा गर्न गरिन्छ, दुःख दिन होइन,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया