अमित शाह बने गृहमन्त्री : गोर्खाहरूबारे यसो भनेका थिए शाहले

कालेबुङ, 31 मई


मोदीको मन्त्रिपरिषदमा गृहमन्त्री  फेरिएका छन् । गृहमन्त्रालयको जिम्मा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पाएका छन् । यसअघि गृहमन्त्री रहेका राजनाथ सिंहलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । अमित शाह चुनावी प्रचारमा कालेबुङ पनि आइसकेका छन्।

उनले कालेबुङको जनसभाबाट मोदी सरकार केन्द्रमा आउनेबितिक्कै भारतका गोर्खाहरूले न्याय पाउने बताएका थिए। ‘सुवास घिसिङदेखि लिएर आजसम्म तपाईंहरूले जुन सङ्घर्ष गर्नुभएको छ, जुन यातना र वेदना सहनु भएको छ। जुन बलिदान दिनुभएको छ, ती सबै यातना, वेदना र सङ्घर्शको अन्त्य २६ मईको दिन हुनेछ’, भाजपाका अध्यक्ष शाहले भनेका थिए, ‘कसैले जति नै किन तपाईंहरूमाथि अत्याचार नगरोस्। सत्यको अघि जित्न सक्दैन। सत्य गोर्खा र दार्जीलिङ पहाडवासीको साथमा छ। यसैले तपाईंहरूको जीत निश्चित छ।’

शाहले मोदी सरकारमा आएलगत्तै जनजातिको मान्यता पाउनबाट छुटेका गोर्खा जातिका ११ जातगोष्ठीलाई भारतीयस्तरमा जनजातिको मान्यता प्रदान गरिने बचन दिएका थिए।

उनले दार्जीलिङ पहाड़ र यहाँका गोर्खाहरूलाई ममता ब्यानर्जीले अन्याय-अत्याचार गरिरहेको पनि बताएका थिए। बङ्ग्लादेशी अनुप्रवेशकारीहरूको खुल्ला संरक्षणमा अघि आउने ममताले दार्जीलिङ पहाड़का रैथाने गोर्खाहरूलाई भने घरबाहिर खेदेको थप बताएका थिए।

‘पछिल्लो गोर्खाल्यान्ड आन्दोलनपछि भूमिगत भएका गोर्खाल्यान्ड आन्दोलनकारी नेता विमल गुरुङलगायत पाँच हजार आन्दोलनकारीलाई दार्जीलिङ फर्काउन भाजपा प्रतिबद्ध छ,’ उनले भनेका थिए, ‘यी पाँच हजार नेताहरूको पक्षमा भाजपा चट्टानजस्तो भएर खड़ा हुनेछ। उनीहरूले पक्कै न्याय पाउनेछन्। म त्यही भन्न यहाँ आएको हुँ।’

करिब 27 मिनटको भाषणमा अमित शाहले धेरजसो समय दार्जीलिङ पहाड़ र गोर्खाहरूसँग सम्बन्धित मुद्दालाई सम्बोधन गर्न खर्चेका थिए।

आफ्नो भाषणमा उनले दार्जीलिङ पहाड़को प्राकृतिक सौन्दर्य र हरियाली चियाबारीको प्रशंसा गरेर दार्जीलिङलाई बङ्गालकी मुख्यमन्त्रीले तहसनहस गरिसकेको भन्दै उनको निन्दा पनि गरेका थिए। साथै बङ्गालबाट ममता ब्यानर्जीको सत्तालाई उखेलेर फ्याँक्नका लागि सबै सङ्कल्पित हुनुपर्ने बताएका थिए।

‘ममता ब्यानर्जीले अहिले एनआरसी (राष्ट्रिय नागरिक पञ्जीकरण) -को डर देखाएर गोर्खाहरूलाई भड़काउँदैछिन्। तर एनआरसीलाई लिएर गोर्खाहरू डराउनु पर्दैन’, उनले भनेका थिए, ‘यदि मभन्दा कोही हिन्दुस्तानी छन् भने उनीहरू गोर्खा हुन्। उनीहरूलाई कसैले देशबाहिर गर्न सक्दैन।’

शाहले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष एवं सन् १९८० को दशकमा गोर्खाल्याण्डको आन्दोलन चर्काउने सुवास घिसिङको नामलाई स्मरण गरेर आफ्नो भाषण शुरु गरेका थिए।

यसका साथै उनले पछिल्लो गोर्खाल्यान्ड आन्दोलनमा शहीद भएका कालेबुङनिवासी वरुण भुजेलका आमा र श्रीमतीलाई मञ्चमा बोलाएर सम्मानसमेत जनाएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया