हाम्रो छहारी-को पहिलो चरणको भ्रमण सम्पन्न : समाजका सबै तप्काबाट पाएको सहयोगको कारण हाम्रो जाँगर र दायित्व दुवै बढ़ेको छ – शकुन सिँह राई

फुलबारी, सिलगड़ी एक शुभचिन्तक सागर छेत्रीले हाम्रो छहारी-को आश्रम मुम्बईलाई डेढ़ लाख रुपियाँको शुद्ध पेयजलको फिल्टर प्रदान गर्ने वचन दिएको बताउँदै श्रीमती सिँहले कालेबुङको सामाजिक संस्था मणि ट्रस्टका संस्थापक सुवास मणि सिँहले रुपियाँ एक लाखको अर्थ सहयोग गर्ने प्रतिश्रुति दिएको बताइन्।


मुम्बईमा विशेष गरी विभिन्न रोगहरूको उपचारार्थ आउने गरिबगुर्बाहरूलाई बस्ने ओत प्रदान गर्नका लागि एउटा आश्रमरुपी आवास सुरू गर्ने उद्देश्य लिएर स्थापना भएको नेपाली-गोर्खा सेवा समितिअन्तर्गत आरम्भ गरिएको हाम्रो छहारी अभियानको टोलीका संस्थापक सदस्यहरू कमल सिँह, स्वस्तिका छेत्री अनि शकुन सिँह राईले दार्जीलिङ पहाड़लगायत तराई, डुअर्स अनि सिक्किम राज्यको पहिलो चरणको जनजागरण भ्रमण पुरा गरेका छन्।

नेपालीभाषी बहुल इलाकामा भएको यस दौड़ाहाको अवधिमा मुम्बईवासीहरूले पाएको समाजको हरेक तप्काको सहयोगको कारण व्यावहारिक रुपमा मैदानमा उत्रेर काम गर्ने कार्यकर्ताहरूको जाँगर र दायित्व दुवै बढ़ेर गएको यस अभियानकी मूल संयोजक शकुन सिँह राईले बताएकी छिन्।

मुम्बईमा मूलतः रोगोपचारलगायत अन्य कारणहरू जस्तै स्कुलमा भर्ती, बलिउडमा सङ्घर्ष, रियलिटी शोमा सहभागिता, खेलकुद-साहित्य-कला इत्यादि क्षेत्रमा अंशग्रहण, सरकारी सेवामा स्थानान्तरण, सामाजिक गतिविधि, देशाटन, पर्यटन वा तीर्थाटन आदि उद्देश्य लिएर आउने अनि यहाँका रैथाने नेपालीभाषीहरूसित परिचय साटासाट गर्ने, यताको सामाजिक परिस्थितिमा हुर्केर आफ्नो मातृभाषा भुल्नलागेका वा संस्कार-संस्कृतिको ज्ञानबाट विमुख हुनुपरिरहेका युवाहरूका लागि कार्यशाला आयोजना गर्ने, मातृभाषा भुल्न लागेकाहरूलाई नेपालीमा बोल्न-लेख्न र कम्प्युटर चलाउन सिकाउने, आफ्नो जातीय संस्कार-संस्कृतिका विषयहरूमा विचार-विमर्श गराएर एकताको सूत्रमा बाँधिइने, जातीय सरसामानहरू पहिरन सामग्री,खाद्य पदार्थ, क्यालेन्डर, साहित्यिक पत्रपत्रिका, पुस्तक, साङ्गीतिक सामग्री, धार्मिक सरसामान आदिको आवश्यकता पर्दा प्राप्त हुने एउटा बहुउद्देश्यीय केन्द्रको स्थापना गर्ने लक्ष्य लिएर सुरू भएको ‘हाम्रो छहारी’ अभियानको टोलीले आफ्नो भ्रमणावधिमा सहयोग पुऱ्याउनु हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यबाद प्रकट गर्दै कृतज्ञता प्रकट गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

मई महिनाको 4 तारिखदेखि लिएर लगातार तीन सप्ताहसम्मको भ्रमण अवधिमा टोलीले कालेबुङ बजार, चन्द्रलोक, जिल्ला पुस्तकालय, विद्याङ आदि, खरसाङका गोर्खा जनपुस्तकालय अनि नयाँ बस्ती, सिलगड़ीका गुरुङ बस्ती अनि फूलबारी, मिरिक, टिस्टा, पेदोङ, नगरकट्टा, बाख्राकोट, सिङताम, गान्तोक, रानीपुल, रिनाक आदिका स्थानीय सामाजिक संस्था, बौद्धिक जमात अनि सचेत व्यक्तिहरूसित भेटघाट गरी यस अभियानबारे जानकारी साझा गर्दै अन्तर्क्रियाको आयोजना गरेको थियो।

उक्त अवधिमा धेरैजना शुभचिन्तकहरूले हाम्रो छहारी-को उद्देश्यलाई आत्मसात गरेर तुरन्तै यस अभियानसित गाँसिनलाई औपचारिकतापूर्वक सदस्यता ग्रहण गरेका थिए भने कतिपय संस्थाले साङ्गठनिक रुपमै आर्थिक अनि सामग्रीय सहयोग प्रदान गर्ने प्रतिश्रुति दिएको जानकारी अभियानकी मूल संयोजक शकुन सिँह राईले दिएकी छिन्। यस भ्रमण अवधिमा समाजका विभिन्न तप्काका मानिसहरूले धेरै प्रकारका सकारात्मक सुझाउहरू दिएको बताउँदै यस अभियानमा मुम्बईका संस्थापकहरू अधिकतर महिलाहरू रहेको अनि भ्रमणको अवधिमा पनि अधिकाधिक महिलाहरूकै सहभागिता पाइएको जनाउँदै श्रीमती सिँहले यसलाई आधुनिक भारतीय समाजमा नेपालीभाषी गोर्खा नारीहरूको एक अग्रणी अनि परिवर्तित सोचको रुपमा लिनुपर्ने बताइन्।

भ्रमण अवधिमा धेरैजना समाजसचेत व्यक्तिहरूले हाम्रो छहारी अभियानअन्तर्गत आजीवन सदस्यता ग्रहण गरेको जानकारी दिँदै उनले सल्लाहकार तथा साधारण सदस्यका रुपमा पनि धेरैले आफ्नो सहयोग पुऱ्याएको बताइन्। फुलबारी, सिलगड़ी एक शुभचिन्तक सागर छेत्रीले हाम्रो छहारी-को आश्रम मुम्बईलाई डेढ़ लाख रुपियाँको शुद्ध पेयजलको फिल्टर प्रदान गर्ने वचन दिएको बताउँदै श्रीमती सिँहले कालेबुङको सामाजिक संस्था मणि ट्रस्टका संस्थापक सुवास मणि सिँहले रुपियाँ एक लाखको अर्थ सहयोग गर्ने प्रतिश्रुति दिएको बताइन्।

यसरी नै हाम्रो छहारी अभियानबारे समाचार माध्यमहरूबाट जानकारी पाएर स्वयम् अघि बढ़ी सम्पर्क गर्दै धेरैजनाले सभाहरूको आयोजना गरिदिने अनुरोध गरे तापनि समयाभावको कारण सबै ठाउँ पुग्न नपाइएको बताउँदै रिनाकका एक सचेत महानुभाव भीमलाल शर्मा भ्रमण टोलीलाई स्वेच्छापूर्वक सम्पर्क गरेर नगद राशी रुपियाँ 50 हजार व्यक्तिगत रुपमा प्रदान गरेबापत् अभियानको हौसला अझ दोब्बर भएर बढ़ेको उनले दाबी गरिन् अनि यी महानुभावहरूलाई हार्दिकतापूर्वक धन्यबाद प्रकट गरिन्।

अभियानको भ्रमणावधिमा कालेबुङ कृषक कल्याण सङ्गठनका संस्थापक विष्णु छेत्री, वरिष्ठ कानुनविद् प्रभाकर देवान, नागाल्यान्डका भूतपूर्व डीजीपी चन्द्रप्रकाश अधिकारी, सामाजिक कार्यकर्ता सुवास मणि सिँह, रकभेल अकादमीका प्रधानाचार्य कप्तान प्रकाश मणि प्रधान, कालेबुङ टेलिभिजनका प्रबन्ध निर्देशक नरेन्द्र तामाङ, कालेबुङ प्रेस क्लबका सभापति अरुण कुमार रसाइली, दार्जीलिङकी कलाकार मेनुका प्रधान, सिक्किमका कलाकार तथा सामाजिक कार्यकर्ता चुनीलाल घिमिरे, नगरकट्टाकी सामाजिक कार्यकर्ता मञ्जु तामाङ, बाख्राकोटका मूर्तिकार अमिर सुन्दास आदिको सहयोग, सुझाउ र संसर्ग पाएर हाम्रो छहारी-लाई धेरै आत्मविश्वास प्राप्त भएको उनले बताइन्। यसरी नै सिक्किमको राजधानी गान्तोकमा सम्पन्न भेटघाट कार्यक्रममा पूर्व मन्त्रीहरूलगायत विभिन्न ओहोदाका वरिष्ठ व्यक्तिहरूको उपस्थितिले पनि कार्यकर्ताहरूलाई मनोबल पुगेको श्रमती सिँहले जनाइन्।

यति मात्र होइन समाज विकासका विभिन्न विधाहरू साहित्य, कला, सङ्गीत, खेलकुद, पत्रकारिता, स्वास्थ्य, सरकारी सेवा, बेपार-व्यवसाय, नाटक इत्यादि क्षेत्रका मानिसहरूसित भेटघाट गर्न पाउँदा मुम्बईका प्रतिनिधिहरूले हर्षानुभाव गरेको बताउँदै उनले विभिन्न स्थानमा सभाको आयोजना गर्नमा दीर्घ दिनदेखि खटेर योगदान गर्ने सहयोगीहरू गणेश थापा, तारा छेत्री, बिनोद रसाइली, मीना सुब्बा, अनील राई, एस. पाण्डे, अशोक रोका, नवीन लामिछाने, लक्ष्मण शर्मा, राजेन छेत्री, अरुण छेत्री, निर्मल शर्मा, मिलन दाहाल, बिमल राई आदिप्रति पनि हाम्रो छहारीको तर्फबाट धन्यबाद प्रकट गरेकी छिन्।

यस भ्रमणकालमा व्यक्तिगत लगायत संस्थागत रुपमा पनि धेर सहयोग मिलेको जानकारी दिँदै उनले कालेबुङका सन्जु-प्रिया चेरिटेबल ट्रस्ट, कृषक कल्याण सङ्गठन, मणि ट्रस्ट, बसिबियाँलो, चन्द्रलोक जनजागृति परिवार, पेदोङ युवा परिवार, सिक्किम कलाकार सङ्गठन, खरसाङको गोर्खा जनपुस्तकालय, दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन, मिरिकको नारी सेवा समिति, फूलबारीको पतन जनकल्याण समिति, नगरकट्टाको प्रेरणा फाउन्डेसन, टिस्टाका सनातन संरक्षण समिति र सम्बन्ध समाज आदिबाट प्राप्त सहयोगप्रति आन्तरिक कृतज्ञता व्यक्त गरेकी छिन्।

फर्केर मुम्बई पुगेपछि उनले दिएको जानकारीअनुसार समस्त दिशाबाट प्राप्त सहयोग र शुभकामनाको कारण हाम्रो छहारीको माऊ संस्था नेपाली-गोर्खा सेवा समितिले महाराष्ट्र सरकारअधीन सोसाइटी अधिनियम अन्तर्गत आफ्नो पञ्जीकरण पनि प्राप्त भइसकेको छ अनि आगामी केही दिनभित्रै हाम्रो छहारीको आश्रम मुम्बईको कुनै एक सुबिधाजनक स्थानमा विधिवत रुपमा आरम्भ हुनेछ।

आश्रमको उद्घाटको उपलक्ष्यमा हाम्रो छहारी-का शुभचिन्तकहरूलाई पनि निम्त्याइने विचार भइरहेको जानकारी दिँदै यसका लागि मुम्बईमा रहेका कार्यकर्ताहरू विकास दूतराज, हीरा छेत्री, रामसिँह तिरुवा, विक्रम छेत्री आदिले लगातार परिश्रम गरिरहेको उनले बताएकी छिन्। यसरी नै पहिलो चरणको भ्रमणावधि फलप्रद रहेको जानकारी दिँदै उनले दोस्रो चरणको भेटघाट कार्यक्रम आगामी जुलाई महिनामा सम्पन्न हुने अनि यस अवधिमा अघि छुट्टिएका स्थानहरूमा सभाहरूको आयोजनाका लागि मुम्बईबाट अर्को टोलीले पहाड़-तराई-डुअर्स, सिक्किम अनि उत्तर-पूर्वाञ्चलको भ्रमण गर्ने बताएकी छिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया