कालेबुङ नगरपालिकामा सत प्रतिशत समर्थन हामीसित छ-रवि प्रधान

कालेबुङ, 31 मई: लोकसभा चुनाउको परिमाणपछि विमल गुरुङ नेतृत्वमा रहेको गोजमुमोको नजर नगरपालिकामा परेको छ। गोजमुमो-गोरामुमो र भाजपाको गठबन्धनले विनय तामाङपक्षको गोजमुमो अनि तृणमूल कङ्ग्रेसलाई चारलाख माथिको व्यवधानले हराएपछि विमल गुरुङ समुहले दार्जीलिङ पहाडका नगरपालिकाहरूलाई आफ्नो पक्षमा बनाउने प्रयास गरिरहेको छ।

हालैमा दार्जीलिङमा यो प्रयास भएको थियो भने कालेबुङ नगरपालिकालाई लिएर पनि विभिन्न अड्कलबाजीहरू भइरहेको छ। यस्तोमा आज कालेबुङ नगरपालिकामा पार्षद्-पार्षदिकाहरूलाई लिएर बोर्ड मिटिङको आयोजना गरेर नराध्यक्ष रवि प्रधानले नगरपालिकाको सत प्रतिशत बहुमत आफ्नै पक्षमा रहेको दावी गरेका छन्।

‘कालेबुङ नगरपालिकामा हामीसित पूर्ण बहुमत छ’-बोर्डको बैठकपछि पत्रकारूलाई सम्बोधन गर्दै नगराध्यक्ष रवि प्रधानले भने, ‘कालेबुङ नगरपालिकामा कसैलाई धम्की दिने, किनबेच गर्ने अनि मिसगाइड गर्ने काम भएको छैन। हामी एकत्रित छौँ, हामीसित सत प्रतिशत समर्थन छ।’

रवि प्रधान अनुसार पूर्व नगरपालिका अध्यक्ष शुभ प्रधानले कुनै पनि बैठकमा उपस्थिति दिएका थिएनन् अनि आज पनि उपस्थित भएनन्। अन्य दुईजना विरामी रहेकोले आउन सकेनन्। रहल सबै 18 जना पार्षद-पार्षदिकाहरूले आजको बैठकमा पनि रवि प्रधानकै पक्षमा समर्थन जनाएको उनले दावी गरे। पत्रकार सम्मेलनअवधि सबैले हात उठाएर प्रधानलाई समर्थन  जनाएका थिए।

‘विनय तामाङ अनि अनीत थापाको नेतृत्वमा सम्पूर्ण पहाडमा नै शान्ति बहाली भएको छ’-प्रधानले भने, ‘सम्पूर्ण ठाउँमा नै धेरै विकासको काम भइरहेको छ, सबैले आ-आफ्नो विचार राख्न पाइरहेका छन्। दार्जीलिङमा नगरपालिकाको बोर्ड परिवर्तन गर्न खोजिएको हो भने कुन विचारले गरिएको हो त्यो पुष्टि छैन। जबकी खरसाङमा केही भएको छैन अनि कालेबुङमा पनि शान्ति छ।’

उनले 1954 मा बनिएको कालेबुङ नगरपालिमा विगतका नगरपालिकाको बोर्डहरूसित तुलना गरेर हेर्दा यसपल्टको बोर्डले के कति काम गर्नसकेको छ त्यो जनतासामु प्रष्ट रहेको उनले बताए।

उनले कालेबुङमा बोर्ड परिवर्तन सम्भव नरहेको भन्दै 2022 को मई महिनासम्म यसै बोर्ड बस्ने दावी गरे।

‘जसले बोर्ड विघटन गर्नुपर्छ भन्दैन् उनीहरूले कुनै नैतिक अधिकार छैन’-प्रधानले भने, ‘जसको नगरपालिकामा भोट दिने अधिकार समेत छैन उनीहरू नबोल्दा पनि हुन्छ।’

उनेल आजको परिस्थितिमा होटल व्यवसायहरू सुचारू रूपमा चल्न सकिरहेको, स्कूलहरू राम्ररी सञ्चालन भइरहेको, पर्यटकहरूको आगमन उत्साहजनक रहेको, विकासमूलक कामहरू भइरहेको दावी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया