एकतामा फुट ल्याउनु जातिलाई हानी पुऱ्याउनु हो, शीर्ष नेताहरूले खै गरुन् : विमल गुरुङ (अडियोसहित)

‘पहिले बङ्गालको कालो नीति सफा गरौं, लक्ष्य प्राप्त गरौं, त्यसपछि गरौं न आफ्नो प्रकारको राजनीति,’ गुरुङले भनेका छन्, ‘अहिले त सबै मिलेर लक्ष्य प्राप्तीको लागि लड्नुपर्ने बेला हो। अबको पाँच वर्षभित्रमा सबै दलका प्रतिनिधि दिल्ली जानुपर्छ। टिमवर्क हुनुपर्छ। सबै मिलेर लक्ष्य फत्ते गर्नुपर्छ। यही सिद्धान्तलाई नै लिएर काम गरेका छौं। गरेका हुन्छौं। एकतामा फुट ल्याउने काम गर्नु जातिको लागि कदापि राम्रो होइन।’


सिलगढी, 1 जुन


गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका श्रमिक सङ्गठन नेता जेबी तामाङको भिडियो भाइरल छ। जहाँ विमल समूहले दार्जीलिङ नगरपालिकामा ल्याएको अविश्वासमतको प्रस्तावबारे जमेर आलोचना गरिएको छ। जेबीअनुसार अजय एडवर्डले नगरपालिकाबाट विनय वर्चस्व हट्न उनीहरूले नैतिकताका आधारमा पार्षदहरूले राजिनामा दिनुपर्ने माग गर्ने वित्तिकै गोजमुमो (पहिलो)का नेताहरूले हतारहतार नगरपालिका हडप्न खोजेको हुन्।

उनले गोजमुमो (पहिलो)-ले गोरामुमोको आङमा टेकेर आफ्नो स्वार्थ पूरा गरेकोसमेत बताएका छन्। यति मात्र होइन यसपालिको लोकसभा र विधानसभा चुनाउ गोरामुमोले जिताएको दाबीसमेत गरेर गोरामुमो-गोजमुमोबीचको गठबन्धनलाई लचिलो बनाउने वयान दिएका छन्।

जेबी तामाङको वयानबाट गोरामुमोले आन्तरिकरूपमा कस्तो भावना पालेर काम गरिरहेको छ, त्यो पनि खुलासा भएको छ। स्पष्ट छ, गोरामुमोले गठबन्धनभित्र आफ्नै एजेन्डा लुकाएको छ, जसबारे आन्तरिकरूपले गोरामुमोले आफ्ना समर्थकहरूलाई बताउने काम गरिरहेको छ। जेबी तामाङको हिजोको भिडियो त्यसै एउटा हिस्सा हो भन्ने अनुमान गरिएको छ।

जेबीको भिडियो भाइरल हुने वित्तिकै जनस्तरबाट गोरामुमोप्रति व्यापक आलोचना शुरु भएको छ। सबै मिलेर अघि बढ्नु पर्ने बेला गोरामुमोले भने भोटको श्रेय लिने र यसबाट राजनैतिक फाइदा लिने आन्तरिक चलखेल गरिरहेको जेबीको वयानले स्पष्ट पारिरहेकोजस्ता टिप्पणीहरू आइरहेका छन्।

भिडियो भाइरल भएपछि यसबारे गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले यसबारे प्रतिक्रिया गरेका छन्। गुरुङले प्रतिक्रिया गरे पनि गोरामुमो भने मौन देखिएको छ।

विमल गुरुङअनुसार यसपालिको दुवै चुनाउ नै निश्चित एउटा दलको कारणले जितेको होइन। पहाड, तराई, डुवर्स र विश्वभरिका गोर्खाहरूले आआफ्नो क्षेत्रमा काम गरेर चुनाउ जिताएका हुन्। सबै मिलेर चुनाउ जितेको जगजाहेर हुँदाहुँदै पनि गोरामुमोको श्रमिक सङ्गठनका नेताले गोरामुमोले जिताएको भन्ने वयान दिनु जाति र एकताको सवालमा नितान्तै हानिकारक रहेको गुरुङले जनाएका छन्।

‘चुनाउ सबै दल मिलेर जितेका हौं। कसैले व्यक्तिगतरूपमा मैले गर्दा जितेको भन्नु सही कुरा होइन।  दुइजना मात्र हुने दलले पनि जिताएको हो, हजार जना हुनेले पनि जिताएको हो। यो कुनै एउटा दलले जिताएको होइन। सबैले जिताएको हो। तराईमा 1 लाखभन्दा धेर भोट पाएका छौं। यस्तो बेला हामी ठूलो र तिमी ठूलो भन्नुहुँदैन,’ गुरुङले भोइज विज्ञप्ति जारी गरेर भनेका छन्।

गुरुङले गोरामुमो-गोजमुमो गठन्धनमा आइसकेपछि यस्तो टिप्पणी आउनु सही नरहेको बताएका छन्। ‘मात्थिलोस्तरमा हाम्रो जुन समझदारी छ, तल्लोस्तरमा त्यसरी नबुझेको हुनैसक्छ। तल्लोस्तरमा पनि बुझाउनुपर्छ,’ गुरुङले भनेका छन्, ‘यस्तो घटनाले हामीमा फाटो ल्याउँछ। फाटो ल्याउनु जातिलाई हानी पुऱ्याउनु हो। पार्टीका शीर्ष नेताहरूले उनीहरूलाई सम्झाउनुपर्छ।’

गुरुङको वयान स्पष्ट छ, यसपालिको चुनावी एकता बङ्गालको नीतिको विरोधको कारण सम्भव बनेको हो। आफूले अघिबाटै अब दलहरूबीच विभेद हुनु नहुने र अबको काम सबैको एकताबाटै हुनुपर्ने बताइसकेको पनि बताए।

‘पहिले बङ्गालको कालो नीति सफा गरौं, लक्ष्य प्राप्त गरौं, त्यसपछि गरौं न आफ्नो प्रकारको राजनीति,’ गुरुङले भनेका छन्, ‘अहिले त सबै मिलेर लक्ष्य प्राप्तीको लागि लड्नुपर्ने बेला हो। अबको पाँच वर्षभित्रमा सबै दलका प्रतिनिधि दिल्ली जानुपर्छ। टिमवर्क हुनुपर्छ। सबै मिलेर लक्ष्य फत्ते गर्नुपर्छ। यही सिद्धान्तलाई नै लिएर काम गरेका छौं। गरेका हुन्छौं। एकतामा फुट ल्याउने काम गर्नु जातिको लागि कदापि राम्रो होइन।’

गुरुङअनुसार राजु विष्ट र निरज जिम्बालाई गोरामुमो मात्रले पनि जिताएको होइन, गोजमुमोले मात्रले पनि जिताएको होइन। क्रामाकपा, गोर्खालिग मात्रले पनि जिताएको होइन, सबै जिताएको हो। यद्धपि, दार्जीलिङमा गोजमुमोले नै जिताएका नगरपालिकाहरूमा पार्षदहरू छन्। तर गोजमुमो (पहिलो)को बोर्ड हुन सकेन।

‘मैले नै टिकट दिएर जितेका निर्वाचित पार्षदहरू छन्। उनीहरूलाई सम्झाएर बुझाएर हामीसितै राख्नु, नेतृत्वमा राख्नु हाम्रो कर्तव्य हो,’ गुरुङले भनेका छन्, ‘तपाईँहरू पनि पहल गर्नुहोस्, हामी रिस् गर्दैनौं। सहीरूपले काम गर्नुपर्छ। कसैलाई टिप्पणी गर्न अघि यी कुरा जानेको हुनपर्छ। व्यक्तिगत कुरा गरेर पार्टीमा भाँजो ल्याउनु सही होइन। जबसम्म लक्ष्य प्राप्त हुँदैन, तबसम्म मिलेरै काम गरौं। यो कुरा बुझेर काम गऱ्यौं भने मात्र हामी पार लाग्छौं।’

गुरुङले कसैले पनि अरूलाई होंच्याएर आफूलाई साँचिलो बनाउने काम नगरिदिने अपिल पनि गरेका छन्। ‘यसले कसैलाई फाइदा हुँदैन, बरु जातिलाई हानी हुन्छ। जसले नराम्रो गर्छ उसले दण्ड पाउँछ। सबै दलहरूलाई एकबद्ध बनिदिने अनुरोध गर्छु,’ गुरुङले भनेका छन्, ‘हिजोको घटनामाथि पनि सबैले एकबद्ध आवाज उठाइदिने अनुरोध गर्छु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया