त्यो दिन अनि त्यो रात

कवितीय स्मृति


उमा प्रधान ‘राई’

 

तीन दशक अघिको लड़ाई जाती र माटोको,

थियो त्यत्तिकै भीषण र खतरनाक,

थिए प्रचूर एकताको खाँचो त्यसताक,

एकताको अभावमा जातिभित्रको विछिन्नताले

उब्जाएको आफ्नै ठाउँ र मान्छेको दूर्दशा,

फलस्वरूप पहाड़ले मेल होइन फेल खाए,

इङ्गीत गर्नै सकेन यो माटो गोर्खाको हो भनी,

रगतको खोला बहे, काटिएका टाउको रूखमा झुण्डिए,

गाउँ डढ़ेर उजाड़-उजाड़ भए, यसरी समयले

छोड़ेर आफ्नै इतिहास कोरे!

 

मेरो मुटुभित्र दफ्निएको त्यो युगको

व्यथा र उत्पीड़न अनि वर्तमानमा

भएको दमन, अन्याय र अत्याचारमा

थुनुवा परेको मेरो आत्मामा फेरि

त्यो विभत्स याद,

आलै भएर जन्मिएको यो कविता

 

त्यो दिन अनि त्यो रात।

 

त्यो दिन औसींको कालरात्री भन्दा

कम अन्धकार थिएन,

चुक घोप्टिएको अन्धकार भन्दा

अझ गहिरो थियो त्यो अन्धकार

त्यो दिन वटा बमको प्रहारसँगै

उड़ेको मेरो बाउको जुनिभरको

पसिनाले निर्मित सुन्दर र सुखी महल,

त्यो निर्दयी दिनको पीड़ाले

आफ्नो माटो बचाउन मरि मेट्ने

मेरो बाउलाई हृदयघात भएको

आलो सम्झना, तीतो पीड़ा बनी

दफ्निएको छ यो मुटुमा,

त्यो कठ्याङ्ग्रिएको कालो रात

खाली पेट काम्दै, आँखामा आँसु, मनमा पीड़ा बोकेर,

लुक्न पर्ने चप्लेटी ढङ्गाको चेपमा,

बाध्यताको तीतो क्षण, मानौं त्यो जीवन अन्तको क्षण न हो!

हाम्रै जातिले खेदेर मेरो भाई हराएको

बिछोड़को त्यो दिन र रात

हामी भिखारी भएको हाम्रो माटोको निम्ति

त्यो भयानक दिन

घोर अन्याय र उत्पीड़नको शिकार

एक निर्दोष अल्लरे जेलभित्र सड़िन

परेको दृश्य पूर्वकालको

अझै आलै छ यस विक्षत हृदय र मानसपटमा,

मेरो आमा छात्ती पिटी पिटी

रोएको त्यो दिन र रात

 

त्यस बखत मेरो अल्लरे हृदय

विक्षत भई पागलसरह रोएको त्यो रात!

उफ्! सम्झँदा पनि भक्कानो फुट्छ मेरो,

फलतः मेरो माता-पिता खरानी भइसके,

हामी बुढ़ा-बुढ़ी भयौं

त्यो कलिलो कपाल फुलेर सेताम्मे भइसक्यो

बर्षौ लागे त्यो महल बनाउन

तर भष्म भए एकै क्षणमा

हाम्रो सपना हेर्दा हेर्दै जलेर खाक भए,

बिर्सनै नसकिने त्यो भीषण क्षण

सम्पूर्ण, खरानीमा परिणत भएको क्षण

हाम्रो अतिप्रिय महल, आगोको चपेटमा

गर्लम्म ढल्दा, हाम्रै जातिले थप्पड़ी मार्दै

हाँसेको आवाजले मेरो कान फुट्न खोज्छ अझै पनि,

त्यसबेला त्यो आगोको दनदन

ज्वालाको प्रत्येक झिल्काले

मेरो ‘विश्वास’-को मान्छेप्रतिको मेरो विश्वास,

जलेर खाक खाक भए त्यसदिन,

एक एक हाम्रो माटोको प्रेमले

स्वार्थी मानिसको भीड़मा होमिँदै

बलिदान दिँदै थियो……!

माटोसँगै लिलाम हुनलागेको

अस्तित्वको लड़ाईँ लड़्दा

हाम्रै भनौदा जातिले,

हामीलाई स्वाहा! पारेको दिन्!

हाम्रो खुशी यसरी रोदन क्रदन चित्कारमा

परिणत गरिदिए,

मानवता भित्रको नाता र विश्वासको

घाँटी बली सरह यसरी रेटिए!

त्यो दिन हो त्यो दिन

 

हामी घरविहिन, माग्ने भएका थियौं,

त्यो तेजिलो आँखा धमिलो भइसक्यो

तर माटो र अस्तित्वको लड़ाई

अझ सकिएको छैन…..!

 

भविष्य के हुने हो, अझपनि

टुङ्गो केही छैन,

तर…….तर त्यस्तो भयानक दिन

फेरि अब नदोरियोस् भन्छु म….!

अझ पनि आशा अल्झेकै छ

सपना साकार पार्ने सुनौलो घामको

एक त्यान्द्रो श्वासमा मेरो!!

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया