रिसाउनुस्, त्यो एउटा रङ, प्रेम गर्नुस्, त्यो एउटा रङ, विद्रोह गर्नुस्, त्यो एउटा रङ…

‘सत्ताले मानिसलाई कसरी दमन गर्छ, मैले रङले यति नै बताउन सकेको छु,’ आफूले बनाएको चित्रबारे बोल्दै सामसिङ कमानका आशकुमारले भने, ‘पुँजीवादले संवेदनासमेतलाई कसरी कैदी बनाउँछ, लेखकहरूले शब्दमार्फत भनिररहेका होलान्, म रङमार्फत भन्छु।’  


कालेबुङ, 4 जुन


कालेबुङका प्रशिद्ध पेन्टर एवं कार्टुनिष्ट चुँडामणि लाबर दर्शकहरूलाई चित्रसम्म लैजान गाइड गरिरहेका थिए। चित्र पारखीहरूको आउनु जानु निक्कै थियो। ल्याण्डस्केप, पोट्रेट, पेन्सिल आर्ट, वाटरकलर, एग्रेली, पेस्टल सबै प्रकारका चित्रहरू झुण्डाइएको छ।

‘प्रदर्शनीमा हरेक वर्ष चित्रप्रेमीहरू प्रदर्शनीकक्षसम्म तानिन्छन्,’ लाबरको भनाई छ, ‘हामीलाई यसले धेरै प्रोत्साहित गरेको छ।’

उच्चकन्या उच्चतर माध्यामिक विद्यालयमा बाह्रौंमा पढिरहेकी अभिषिका छेत्री पनि प्रदर्शनीकक्ष पुगेकी थिइन्। उनी प्रदर्शनी कक्षबाट बाहिरिँदै गर्दा प्रशिद्ध हाँस्य कलाकार महेन्द्र बादगासको हातका खाताहरू देखिन्।

अभिषिकालाई खाताका पन्नाहरू पल्टाउँदै देखाउँदै बागदस भनिरहेका थिए, ‘मेरी छोरीले पनि राम्रो पेन्टिङ गर्छे। म उसैलाई लिएर आएको हुँ। यो उसैको पेन्टिङ बुक हो।’

कालेबुङ आर्ट्स एसोसिएसनले रामकृष्ण रङ्गमञ्चमा गरेको चारदिने चित्र प्रदर्शनीकक्षाको आँगनदेखि प्रदर्शनी कक्षसम्म नै यस्तै दृष्यहरू देखिन्थे।

प्रदर्शनी आँगनबाटै शुरु भएर रङ्गमञ्चको दुइवटा कोठाका भित्तासम्म पुगेको थियो। पाँचवटा क्रुर औंलाका कारागारमा निरिह मानिसहरू थुना परेको चित्रअघिल्तिर थिए आशकुमार राई।

‘सत्ताले मानिसलाई कसरी दमन गर्छ, मैले रङले यति नै बताउन सकेको छु,’ आफूले बनाएको चित्रबारे बोल्दै सामसिङ कमानका आशकुमारले भने, ‘पुँजीवादले संवेदनासमेतलाई कसरी कैदी बनाउँछ, लेखकहरूले शब्दमार्फत भनिररहेका होलान्, म रङमार्फत भन्छु।’

एसोसिएसनले निरन्तर प्रदर्शनी गर्दै आइरहेको छ। चित्रकारिताको स्कोप कस्तो छ? एसोसिएसनका सचिव टीका प्रधानले यो प्रश्नको धुमाउरो उत्तर दिए, ‘बर्सेनी प्रदर्शनी हुनु नै उत्तर हो।’

प्रधानले यस्तो उत्तर दिए पनि खरसाङका प्रौड चित्रकार बीबी रसाईलीले दार्जिलिङ, सिक्किमका चित्रकला टाक्सिएको किटान गरे। ‘ढुङ्गामा उम्रिएको विरुवा हुन्छ नि, ठीक त्यस्तै छ यताका चित्रकलाको अवस्था,’ उनले भने, ‘न प्रवर्धनको अभ्यास सरकारमा छ, न चित्रकारहरूसित दह्रिला कला संस्थान नै छ। जति जे छन्, भुइँफुट्टा छन्।’

सिक्किमका चित्रकार हेम खवासको कुरा अर्कै छ, ‘पश्चिम बङ्गालमा केही नहोला तर सिक्किममा त्यस्तो छैन। सिक्किममा ग्यालेरी पनि छ, सरकारी सहयोग पनि छ।’ खवासअनुसार व्यवसायिक हिसाबमा पनि सिक्किमका चित्रकारहरू कोही पनि नोक्सानीमा छैनन्। सिक्किममा वर्षमा 10 दिनभन्दा धेर पर्यटन उत्सव हुन्छ, यहाँ पर्यटकहरूलाई सिक्किम सरकारले राम्रो मूल्यमा पेन्टिङ बेचिदिन्छ। अन्य राज्यतिर चित्रकारहरूलाई पठाउँछ।

यता चित्रकारहरूले व्यक्तिगतरूपमा मात्र दार्जिलिङले चित्रकलाको विरासत धानिरहेको चुँडामणि लाबरको ठहर छ। ‘दार्जिलिङ चित्रकारितामा धनी हो, तर यहाँ हुने निरन्तर आन्दोलनले त्यसलाई धान्ने स्थिति नै बनेन,’ उनले भने, ‘यद्धपि यहीबीचका चित्रकलाले अलग्गै पहिचान भने कायम गरेको छ। कम्तिको पनि अभिव्यक्तिले नयाँ शैली पाएको छ।’

12 जना चित्रकारहरूले शुरु गरेको एसोसिएसनमा अहिले 36 जना सदस्य छन्। हरेकवर्ष हुने प्रदर्शनीले चित्रकारहरूलाई कुनै न कुनै फाइदा दिएकै छ। ‘सिक्किम, बङ्गाल, असमका चित्रकारहरू जोडिन थालेका छन्,’ सचिव टीका प्रधान भन्छन्, ‘नेपाल, भुटान, बङ्गलादेशसित पनि जोडिनेछौं।’

कहिले सिक्किम, कहिले दार्जीलिङ, कहिले सिलगढीतिर हुने प्रदर्शनीमा धाइरहेका जेसन राई सिक्किम होस् वा दार्जिलिङ, यहाँका सांस्कृतिक, लोक र भौगोलिक मूल्य बोकेका चित्रहरू नै विश्वका पाठकहरूले रुचाइरहेको मान्छन्।

‘बिक्रीको हिसाबले पनि स्तरीयताको हिसाबले पनि यताका चित्रहरूको माग धेरै छ। अब व्यवस्थित बन्न मात्र बाँकी छ,’ उनले भने।

सिक्किमका हर्कबहादुर मगरलाई पेन्टिङ संसारकै सुन्दर अभिव्यक्ति मञ्चजस्तो लाग्छ। निक्कै उत्साहित मगरले थपे, ‘मानिसको हरेक भावभङ्गी एउटा रङ हो। रिसाउनुस्, त्यो एउटा रङ। प्रेम गर्नुस्, त्यो एउटा रङ। बिद्रोह गर्नुस्, त्यो एउटा रङ। म त रङबिना संसार कल्पना गर्नै सक्दिन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया